यसपालिको तीज : पीडामाथि उभिएको पर्व

0
Shares

काठमाडौँ ।

नेपाली हिन्दु महिलाहरूको महान् पर्व हरितालिका तीज यसपालि विगतका वर्षहरू जस्तो उल्लासमय देखिएन । यही भदौ १० गते चीनसँगको सिमाना रसुवा–भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीले एउटा भूगोललाई मात्र होइन, सिंगो नेपाली मनलाई शोकमा डुबाएको छ । त्यसैले यस वर्षको तीजको रौनकमा पनि पीडाको गहिरो छाया देखिएको छ ।

विगतका वर्षहरूमा तीज आउनुअघि नै घरघरमा चहलपहल सुरु हुन्थ्यो । नयाँ नयाँ कपडा, गरगहना किन्ने, दर खाने तयारी हुन्थ्यो । दिदीबहिनी माइती–मावली जाने, आफन्त भेट्ने, सुख–दुःख साट्ने र रमाइलो गर्ने क्रम चल्थ्यो । टोलटोलमा तीजका गीत गुञ्जिन्थे । मन्दिर तथा देवतीर्थ जाने महिलाहरूको भीड लाग्थ्यो । कतिपय ठाउँमा त तीज विशेष कार्यक्रम गरी दरका नाममा महिनौँअघिदेखि तामझाम र जमघट सुरु हुन्थ्यो ।

तर यसपालि अवस्था फरक छ । देशमाथि कालो बादल मडारिएको छ । रसुवा–भोटेकोशीको बाढीले धेरै परिवारका खुसी खोसेको छ । कतिपयका घर छैनन्, बस्ने बास छैन । खाने अन्न छैन । आफन्त कहाँ छन् ? भन्ने थाहा सम्म छैन । परिवारका सदस्य हराएका छन् । कसैको प्रतीक्षा अझै सकिएको छैन । कसैको पीडा व्यक्त गर्ने शब्द नै छैन ।

यस्तो अवस्थामा तीजका गीतहरू कसरी विगतकै जस्तो स्वरमा गुञ्जिऊन् ? तीज केवल नाचगान र रमाइलोको पर्व मात्र होइन । यो नेपाली महिलाले आफ्नो जीवनका भोगाइ, पीडा, आशा, प्रेम र सामाजिक यथार्थलाई गीतमार्फत व्यक्त गर्ने अवसर पनि हो । महादेवको पूजा गर्दै विवाहित महिलाले श्रीमान्को दीर्घायुको कामना गर्छन् । अविवाहित युवतीले सुयोग्य वरको प्रार्थना गर्छन् । आमा, हजुरआमा तथा एकल महिलाहरूले आफ्ना सन्तान र परिवारको सुख, शान्ति, सुस्वास्थ्य तथा दीर्घायुको कामना गर्दै व्रत बस्छन् ।

तर यसपालि ती प्रार्थनामा विपद्मा परेका परिवार पनि जोडिएका छन् । कुनै आमाले आफ्ना हराइरहेका सन्तानको सुरक्षित फिर्ती मागिरहेकी हुन सक्छिन् । कुनै श्रीमतीले बेपत्ता श्रीमान्को खबर पर्खिरहेकी हुन सक्छिन् । कुनै दिदीले भाइको बाटो हेरिरहेकी हुन सक्छिन् । कुनै बालकले आमाबुबा कहिले फर्किएलान् ? भनेर आँखा बिछ्याइरहेको हुन सक्छ ।

कसैको घरमा दरको थाल अगाडि राखेर बसिरहँदा कसैको घरमा चुल्हो नबलेको हुन सक्छ । कतिले माइतीको आँगनमा दिदीबहिनीसँग खुसी साटिरहँदा कसैको माइती नै उजाडिएको हुन सक्छ । कोही मन्दिरमा महादेवको दर्शन गरिरहँदा कसैको परिवार आफ्नो प्रियजनको खोजीमा भौँतारिरहेको हुन सक्छ । त्यसैले यसपालिको तीजमा देखिने रौनकभन्दा महसुस हुने पीडा ठूलो छ ।

तीज आस्था मात्र नभई भावनाको पर्व हो । हरितालिका तीजको धार्मिक पक्ष जति महत्वपूर्ण छ, यसको सामाजिक र सांस्कृतिक पक्ष पनि उत्तिकै गहिरो छ । पौराणिक मान्यताअनुसार पार्वतीले भगवान् शिवलाई पति प्राप्त गर्ने उद्देश्यले कठोर तपस्या गरेको स्मरणमा हरितालिका तीज मनाउने परम्परा परापूर्व कालदेखि चल्दै आएको छ ।

विवाहित महिलाले श्रीमान्को दीर्घायु र पारिवारिक सुख–शान्तिका लागि तथा अविवाहित युवतीले सुयोग्य वरको कामनासहित व्रत बस्ने धार्मिक विश्वास छ । शिव–पार्वतीको पूजा, मन्दिर दर्शन र व्रतसँगै तीज नेपाली महिलाको सामाजिक सम्बन्ध पुनः जोड्ने पर्व पनि हो । विशेषगरी माइती जाने, दिदीबहिनी भेट्ने, बाल्यकाल सम्झने, आमाको माया पाउने र आफ्ना मनका कुरा साट्ने अवसरका रूपमा तीजको विशेष महत्व छ ।

तीजका गीतमा नेपाली महिलाका सुख र दुःख मात्र होइन, समाजका विकृति र विसंगतिसमेत अभिव्यक्त हुँदै आएका छन् । विगतमा महिलाका लागि आफ्नो पीडा सार्वजनिक रूपमा व्यक्त गर्ने अवसर सीमित थियो । त्यस्तो अवस्थामा तीजका गीत उनीहरूको भावनाको आवाज बने । गरिबी, महिला हिंसा, पारिवारिक पीडा, सामाजिक विभेद, माइतीको सम्झना र घरपरिवारका भोगाइदेखि सामाजिक तथा राजनीतिक विषयसम्म तीजका गीतमा समेटिँदै आए । त्यसैले तीज केवल धार्मिक अनुष्ठान होइन, नेपाली महिलाको जीवन र भावनाको ऐना पनि हो ।

माइती जाने पर्व, पीडितलाई सम्झने पर्व, विवाहपछि घरपरिवारको जिम्मेवारीमा बाँधिएका महिलाका लागि तीज माइतीसँग भेट्ने महत्वपूर्ण अवसर हो । माइतीको आँगनमा पुग्दा बाल्यकालका सम्झना फर्किन्छन् । आमाको माया, दिदीबहिनीको साथ र आफन्तको आत्मीयता पुनः अनुभूति हुन्छ । तर यसपालि त्यही आत्मीयताको अर्थ अझ गहिरो बनेको छ । आज कति चेलीले माइतीको आँगनमा बसेर दर खाँदै गर्दा कुनै परिवार आफ्नो घरको भग्नावशेष हेरेर बसिरहेको हुन सक्छ । दिदीबहिनीसँग गीत गाउँदै गर्दा कसैकी दिदी वा बहिनी हराइरहेकी हुन सक्छिन् । मन्दिरमा दीप बाल्दै गर्दा कसैको घरमा चुल्हो नै नबलेको हुन सक्छ ।

यही अनुभूतिले यसपालिको तीजलाई फरक बनाएको छ । मानवता नै सबैभन्दा ठूलो धर्म हो । विपद्का बेला पर्व मनाउनु हुँदैन भन्ने होइन । धर्म, संस्कृति र परम्परा समाजका जीवन्त आधार हुन् । तर पर्वको खुसीमा अरूको पीडाप्रति संवेदनहीन हुनु हुँदैन । यसपालिको तीजले आम नेपाली हिन्दु धर्मालम्बी महिलाहरूलाई यही मानवीय भावना सिकाउन सक्छ । दरको एउटा हिस्सा विपद्मा परेका परिवारका लागि छुट्याउन सिकायो । अनावश्यक तामझाम घटाएर राहतमा सहयोग गर्न सिकायो । बेपत्ता आफन्तको खोजीमा रहेका परिवारप्रति सहानुभूति व्यक्त गर्न सिकायो । घरबारविहीन बालबालिका, महिला, वृद्धवृद्धा तथा संकटमा परेका परिवारको संरक्षणमा हातेमालो गर्न सिकाओस् ।

किनभने धर्मको सार केवल पूजा र व्रतमा छैन, मानिसप्रतिको करुणा र सेवामा पनि छ । यतिबेला शिवलाई प्रसन्न पार्न मन्दिरमा जल चढाउने नेपाली समाजले संकटमा परेको मानिसलाई एक गिलास पानी दिन सक्यो भने त्यो पनि उत्तिकै ठूलो पुण्य हुन सक्छ । पछिल्ला वर्षहरूमा तीजको स्वरूपमा पनि ठूलो परिवर्तन आएको छ । धार्मिक तथा पारिवारिक पर्वका रूपमा सीमित रहेको तीज सामाजिक जमघट, सांस्कृतिक कार्यक्रम र मनोरञ्जनको ठूलो अवसर बनेको छ । यसले महिलालाई सार्वजनिक जीवनमा अभिव्यक्त हुने अवसर दिएको छ भने कतिपय अवस्थामा अनावश्यक तामझाम र खर्चको प्रतिस्पर्धा पनि बढाएको छ ।

यसपालिको विपद्ले भने हामीलाई फेरि सोच्न बाध्य बनाएको छ— पर्व खुसी देखाउने माध्यम हो कि खुसी बाँड्ने अवसर ? आफ्नो घरमा दर पाक्दा अर्को घरको चुल्हो सम्झन सकियो भने, आफ्नो शरीरमा नयाँ पहिरन सजाउँदा घरबारविहीन परिवार सम्झन सकियो भने, मन्दिरमा पूजा गर्दा विपद्मा परेका मानिसको जीवनरक्षाका लागि प्रार्थना गर्न सकियो भने तीजको अर्थ अझ फराकिलो बन्न सक्छ ।

तीज हरेक वर्ष नयाँ रौनक लिएर आउँछ । तर यसपालिको तीजले नेपाली समाजलाई एउटा गम्भीर पाठ सिकाएको छ—मानिसको जीवनभन्दा ठूलो कुनै पर्व, कुनै उत्सव र कुनै खुसी हुँदैन । पीडामा रहेका परिवारको आँसु पुछ्न सकियो भने, हराइरहेका आफन्तको खोजीमा साथ दिन सकियो भने, भोकालाई खाना र घरबारविहीनलाई आश्रय दिन सकियो भने सायद यसपालिको तीजको सबैभन्दा ठूलो पूजा त्यही हुनेछ ।

यसपालिको तीजमा महादेवसँग गरिने प्रार्थना केवल आफ्ना परिवारका लागि सीमित नहोस् । ‘हे महादेव, विपद्मा परेका सबै नेपालीलाई धैर्य देऊ । हराएका आफन्तको खोजीमा सफलता देऊ । पीडित परिवारलाई बाँच्ने साहस देऊ । घरबारविहीनलाई सुरक्षित बास देऊ । शोकमा डुबेकालाई सहने शक्ति देऊ र हाम्रो देशलाई फेरि उज्यालो बनाइदेऊ ।’ सायद यसपालिको तीजको सबैभन्दा ठूलो अर्थ यही हो । दरभन्दा ठूलो दया, व्रतभन्दा ठूलो मानवता र उत्सवभन्दा ठूलो एकता—यसपालिको तीजले यही सन्देश देओस् ।

केही समय यता मानिसमा मानवता नै हराएको त हैन भन्ने देखाइरहेको छ । विपद्ले नेपाली समाजलाई दुःख दिएको छ, तर यही दुःखले मानवता पनि जगाओस् । एकको आँसु अर्कोको आँखा बन्न सकोस् । एकको पीडा सबैको पीडा बन्न सकोस् । यही पीडामाथिबाट आशा, सहकार्य र एकताको नयाँ उज्यालो जन्मियोस् ।