नेतृत्वको आलोचना गरे सिधै कारबाही गर्ने एमालेको चेतावनी


काठमाडौँ।

नेकपा एमालेले पार्टी नेतृत्वको सार्वजनिक आलोचना गर्ने कार्यकर्तालाई सिधै कारबाही गर्ने चेतावनी दिएको छ ।

एमाले पार्टीले अन्तरपार्टी निर्देशन जारी गर्दै नेतृत्वको विरोध गर्न पूर्ण रूपमा निषेध गरेको हो । यसअघि यस्ता आलोचनामा केही छुट दिइए पनि अब भने कुनै स्पष्टीकरण बिना सिधै कारबाही प्रक्रिया अगाडि बढाइने चेतावनी दिइएको छ ।

पार्टीभित्र अनुशासन कायम राख्न भन्दै एमालेले कारबाहीको सम्पूर्ण जिम्मेवारी संगठन विभाग र अनुशासन आयोगलाई सुम्पेको छ ।

जारी निर्देशनमा एमालेले युवा पुस्तान्तरण र पार्टी जागरण अभियानमा केन्द्रित हुन मातहतका कमिटीहरूलाई निर्देशन दिएको छ । यसैगरी, नेकपा एमालेले वर्तमान सरकारको कार्यशैलीप्रति पनि गम्भीर आपत्ति जनाएको छ ।

आम नागरिकका दैनिक जनजीविकाका मुद्दाहरू ओझेलमा परेको उल्लेख गर्दै एमालेले अब सडक र संसद् दुवै मोर्चाबाट सशक्त प्रतिपक्षको भूमिका निर्वाह गर्ने बताएको छ ।