काठमाडौं ।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जाल (एसपीसीएसएन) ले सामाजिक सुरक्षाका सवाललाई खोज पत्रकारितामार्फत उजागर गर्दै सम्बन्धित निकायलाई जवाफदेही बनाउन योगदान पुर्याएको भन्दै पत्रकार सुमित्रा लुईटेललाई ‘सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट खोज पत्रकारिता सम्मान–२०८३’ प्रदान गरेको छ।
काठमाडौंको नयाँ बानेश्वरस्थित अल्फा हाउसमा आयोजित सञ्जालको आर्थिक वर्ष २०८२/८३ को सामाजिक लेखापरीक्षण तथा छैटौं वार्षिक साधारण सभाका अवसरमा लुईटेललाई महिलातर्फको सम्मान प्रदान गरिएको हो। सम्मानसँगै उनलाई नगद १० हजार रुपैयाँ र सम्मानपत्र प्रदान गरिएको छ।
सञ्जालले प्रदान गरेको सम्मानपत्रमा महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति, लैङ्गिक तथा यौनिक अल्पसंख्यक, मानव बेचबिखनबाट प्रभावित व्यक्ति तथा समुदायका सवाललाई खोज पत्रकारितामार्फत उजागर गर्दै सामाजिक सुरक्षाको क्षेत्रमा सम्बन्धित निकायलाई जवाफदेही बनाउन पुर्याएको योगदानको उच्च मूल्यांकन गरिएको उल्लेख छ।

यस वर्षदेखि सुरु गरिएको ‘सामाजिक सुरक्षासम्बन्धी उत्कृष्ट खोज पत्रकारिता सम्मान’ अन्तर्गत पुरुषतर्फ केशरबहादुर रोका र महिलातर्फ सुमित्रा लुईटेललाई सम्मान गरिएको हो। त्यस्तै, सामाजिक सुरक्षा क्षेत्रमा लामो समयदेखि योगदान पुर्याएको भन्दै वरिष्ठ पत्रकार विजय पौडेललाई प्रशंसापत्र प्रदान गरिएको छ।
कार्यक्रममा सञ्जालले आर्थिक वर्ष २०८२/८३ मा गरेका काम, उपलब्धि, चुनौती र आगामी दिनमा सुधार गर्नुपर्ने क्षेत्रबारे सामाजिक लेखापरीक्षणमार्फत समीक्षा गरेको थियो। कार्यक्रममा सरकारी प्रतिनिधि, विकास साझेदार, नागरिक समाजका संस्था, सञ्जालका सदस्य संस्था, सञ्चारकर्मी तथा सचिवालयका प्रतिनिधिको सहभागिता थियो।
सामाजिक सुरक्षा नागरिक समाज सञ्जालले सामाजिक सुरक्षा, सामाजिक न्याय तथा नागरिकका अधिकारका विषयमा नागरिक समाज, सरकार र अन्य सरोकारवालाबीच सहकार्य र संवाद गर्दै आएको छ। कार्यक्रममा सामाजिक सुरक्षाका सवाललाई थप प्रभावकारी रूपमा सार्वजनिक बहसमा ल्याउन सञ्चारमाध्यमको भूमिकामाथि समेत जोड दिइएको थियो।











प्रतिक्रिया