अन्तिम दाउ : घाइते पात्र, रहस्यमयी हाँसो


घाइते अनुहार, शरीरभरि रगत अनि रहस्यमयी मुस्कान। नयाँ नेपाली फिल्म अन्तिम दाउको फस्र्टलुक पोस्टरले यसको कथाभित्रको द्वन्द्व र रहस्यलाई लिएर कौतुहल बढाएको छ। फ्रेम इन मोसन पिक्चर्सको प्रस्तुतिमा बन्न लागेको फिल्मका दुई फरक फस्र्टलुक पोस्टर सार्वजनिक गर्दै निर्माण पक्षले फिल्म निर्माणको औपचारिक घोषणा गरेको हो। बिजु पार्कीको निर्देशनमा बन्न लागेको फिल्म एक्सन तथा थ्रिलर जनरमा आधारित रहने पोस्टरले संकेत गरेको छ। यो फिल्ममार्फत पार्कीले निर्देशनमा डेब्यु गर्दैछन्।

पहिलो पोस्टरमा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान र पेमा दावा लामालाई एउटै लाइनमा प्रस्तुत गरिएको छ। घना जंगल र पहाडको पृष्ठभूमिमा देखिएका उनीहरू सबैको अनुहारमा चोट र रगत देखिन्छ। पात्रहरूको आक्रामक तथा गम्भीर भावले फिल्ममा हुने ठूलो द्वन्द्वको संकेत गर्छ। पोस्टरका दुई किनारामा रहेका कविता नेपाली र निश्चल प्रधानको रहस्यमयी मुस्कानले भने उनीहरूको पात्रलाई लिएर थप प्रश्न जन्माएको छ। अन्य पात्रहरू तनाव र पीडामा देखिँदा उनीहरूलाई फरक भावमा प्रस्तुत गरिनुले फिल्ममा उनीहरूको भूमिका विशेष हुनसक्ने संकेत गरेको छ।

दोस्रो फस्र्टलुकले भने फिल्मको कथालाई अझ रहस्यमय बनाएको छ। रातो ठाडो पट्टीमा २०२७ लेखिएको पोस्टरमा कविता नेपाली र निश्चल प्रधानलाई प्रस्तुत गरिएको छ। उनीहरूको हाफ लुक्स बडी देखाइएको छ भने दुवैको अनुहारमा जबरजस्त हाँसो छ। तलको भागमा विजय लामा, अर्पण थापा, शुशांक मैनाली र पेमा दावा लामालाई घाइते अवस्थामा प्रस्तुत गरिएको छ।
फिल्ममा विजय लामा, अर्पण थापा, कविता नेपाली, शुशांक मैनाली, निश्चल प्रधान, पेमा दावा लामा, बिमल पुरीलगायतको मुख्य अभिनय रहनेछ। निर्माण पक्षका अनुसार फिल्मको छायाँकन छिट्टै सुरु हुनेछ।