विदेशको प्रेम, नेपाली गाउँको सम्झना माया बस्छ कि के हो


विदेशको सुन्दर परिवेशमा हुर्किएको प्रेम, नेपाली गाउँको सम्झना र सम्बन्धमा आउने मतभेदलाई समेटिएको फिल्म माया बस्छ कि के होको ट्रेलर सार्वजनिक गरिएको छ।

साइराम पिक्चर्सको युट्युव च्यानलबाट सार्वजनिक गरिएको ३ मिनेटको ट्रेलरमा डेब्यु अभिनेता सोनाल लामा र कस्मता निरौलाको प्रेमसम्बन्ध प्रस्तुत गरिएको छ। ट्रेलरमा अध्ययन र रोजगारीका लागि विदेशिएका नेपाली युवा–युवतीको जीवन र उनीहरूबीचको प्रेमलाई फिल्मको कथाले पछ्याएको छ। प्रेमसंगै सम्बन्धमा देखिने उतारचढाव, आपसी मतभेद र संघर्षलाई ट्रेलरका दृश्यले प्रस्तुत गरेका छन्। ट्रेलरमा युरोपका आकर्षक शहरसंगै नेपाली गाउँको परिवेशलाई पनि जोडिएको छ।

फिल्मका अधिकांश दृश्य बेल्जियम, स्वीजरल्याण्ड र नेदरल्याण्डलगायत युरोपेली देशमा खिचिएका छन्। विदेशी भूमिमा सुरु भएको प्रेमकथालाई नेपाली सामाजिक तथा पारिवारिक परिवेशस“ग जोडेर प्रस्तुत गरिएको फिल्मको ट्रेलरले यसको कथाको दायरा विदेशमा रहेका नेपाली युवापुस्ताको सम्बन्धसम्म विस्तार गरेको संकेत गर्छ।

राजु अधिकारीको निर्देशनमा बनेको फिल्म असोज २ गते रिलीजमा आउनेछ। जनपुकार मिडिया हाउसको ब्यानरमा शरद अधिकारी र बहादुर सिंह तामाङको निर्माणमा बनको फिल्ममा कथा आरती अधिकारी, पटकथा र संवाद मौनता श्रेष्ठ, संगीत अर्जुन पोखरेल, कोरियोग्राफी कमल राई र रामजी लामिछाने, छायांकन रवीन्द्र बराल र सम्पादन रामप्रसाद चौधरीको रहेको छ।

सोनाल लामा र कस्मता निरौलासंगै नरेन्द्र थापा, उपेन्द्र थापा, बेनी ढुंगाना, सब्बु पौडेल, तारा शर्मा, हरिकृष्ण कार्की, तेजेन्द्र क“डेल, ऋचा थापा, खिन्नबहादुर भण्डारी (भोला), जेपी पाण्डे, रामजी राउत, करुणा थापा, बिकुलाल बासु, सुकचन्द्र थापालगायतले अभिनय गरेको फिल्म नेशनल सिने ग्रुपले वितरण गर्दैछ।