६ वर्षपछि स्टेजमा फर्किइन् सेलिन डियोन


पेरिस —

चर्चित क्यानडेली गायिका सेलिन डियोन करिब छ वर्षपछि पुनः स्टेजमा फर्किएकी छन्। स्वास्थ्य समस्याका कारण लामो समय सांगीतिक कार्यक्रमबाट टाढा रहेकी डियोनले शनिबार पेरिसस्थित प्लेनिट्युड एरिनामा प्रस्तुति दिँदै स्टेजमा पुनरागमन गरेकी हुन्।

स्टेजमा फर्किँदा डियोन भावुक बनेकी थिइन्। दर्शकले उनको पुनरागमनलाई उत्साहपूर्वक स्वागत गरेका थिए। उनले आफ्नो प्रस्तुति ‘अन ने चेन्ज पास’ गीतबाट सुरु गरेकी थिइन्।

डियोनले कार्यक्रममा ‘माइ हार्ट विल गो अन’ र ‘अल बाई माइसेल्फ’ लगायत आफ्ना चर्चित गीतहरू प्रस्तुत गरेकी थिइन्।

डियोनलाई सन् २०२२ मा ‘स्टिफ पर्सन सिन्ड्रोम’ नामक दुर्लभ स्नायु प्रणालीसम्बन्धी रोग भएको सार्वजनिक भएको थियो। स्वास्थ्य समस्याका कारण उनले आफ्ना विभिन्न कार्यक्रम रद्द गर्दै लामो समय स्टेजबाट टाढा रहनुपरेको थियो।

लामो स्वास्थ्य संघर्षपछि भएको उनको पुनरागमनलाई विश्व संगीत क्षेत्रमा महत्वपूर्ण र भावुक क्षणका रूपमा हेरिएको छ।

स्रोत: रोयटर्स