नेपाल एसीसी प्रिमियर कपको फाइनलमा


काठमाडौं, (नेस) ।

नेपाल एसीसी प्रिमियर कपको फाइनलमा पुगेको छ । बिहीबार ओमानलाई सेमिफाइनलमा ८७ रनले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । योसँगैं नेपालको लागि बंगलादेशमा हुने एसिया कपमा पुग्न एक जितको आवश्यक रहेको छ । फाइनल जित्ने टोलीले मात्रै एसिया कप खेल्ने प्रावधान रहेको छ ।

नेपालले १ सय ४८ रनको सामान्य लक्ष्य दिएको थियो । जसलाई ओमानले प्राप्त गर्न नसक्दा नेपालको फाइनल पक्का भएको थियो । ओमान २८.१ ओभरमा अलआउट हुँदैं ६० रनमा समेटिएको थियो ।

नेपालको जितमा बलिङको मुख्य भुमिका रह्यो । कप्तान सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरीले समान ३ विकेट लिए भने ललित राजवंशी र रोहित पौडेलले २ विकेट लिएका थिए । ओमानका लागि जतिन्दर सिंहले सर्वाधिक २५ रनको योगदान दिएका थिए ।

यसअघि मलेसियाको वायुमास क्रिकेट ओभल स्टेडियममा पहिले ब्याटिङ गरेको नेपालले ४५.४ ओभरमा सबै विकेट गुमाएर १ सय ४७ रन बनाएको थियो । टोलीका लागि दीपेन्द्रले सर्वाधिक ५१ रन बनाए भने बसिर अहमदले ४७ रन जोडेका थिए ।

नेपालले फाइनलमा यूएईसँग खेल्नेछ । यूएईले हङकङलाई ७ विकेटले हराएर फाइनलको यात्रा तय गरेको हो । यस्तै, नेपाल र यूएई लगातार तेस्रोपटक फाइनलमा पुगेका छन् । यसअघिको संस्करणमा नेपाल पराजित भएको थियो । योभन्दाअघिको संस्करणमा भने नेपालले फाइनल जितेर एसिया कप खेल्न पाएको थियो ।