नुवाकोट–धादिङ जोड्ने एक्रो ब्रिज सञ्चालनमा

बाढीपछि आवागमन सहज : नुवाकोट–धादिङ जोड्ने एक्रो ब्रिज सञ्चालनमा, नेपाली सेनाले बनायो अस्थायी ‘लाइफलाइन’ ।


नुवाकोट ।

नुवाकोट र धादिङ जोड्ने गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत एक्रो ब्रिज सञ्चालनमा आएको छ । यही भदौ १० गते बिहान आएको विनाशकारी बाढीले देवघाटस्थित पुल बगाएपछि अवरुद्ध आवागमन सहज बनाउन नेपाली सेनाले एक्रो ब्रिज जडान गरेको हो ।

नेपाली सेनाका अपरेसन कमान्डर उपरथी रञ्जित थापासहितका सैनिक अधिकारी, विदुर नगरपालिकाका मेयर राजन श्रेष्ठ, प्रमुख जिल्ला अधिकारी शम्भुप्रसाद रेग्मी तथा स्थानीय जनप्रतिनिधिको उपस्थितिमा ब्रिज सञ्चालनमा ल्याइएको हो ।

विपद्का बेला छोटो समयमा जडान गरी यातायात सञ्चालन गर्न सकिने पूर्वनिर्मित तथा मोड्युलर संरचनाको एक्रो ब्रिज नेपाली सेनाले विपद् व्यवस्थापनका लागि यसअघि नै खरिद गरेको थियो । ब्रिज सञ्चालनमा आएपछि नुवाकोट–धादिङबीचको आवागमन सहज हुने भएको छ । स्थानीयले पुल सञ्चालनमा ल्याएकोमा नेपाली सेनाप्रति आभार व्यक्त गरेका छन् ।