सोहेल खान र डेलबर आर्याको केमेस्ट्री अंकमालदेखि सँगै डान्ससम्म


बलिउड अभिनेता सोहेल खान र अभिनेत्री डेलबर आर्याका केही भिडियोहरू पछिल्लो समय सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। भिडियोमा दुवै निकै नजिक देखिएपछि उनीहरूको केमेस्ट्रीले इन्टरनेटमा चर्चा पाएको छ। तर, यही कारण सोहेल खान ट्रोलसमेत भइरहेका छन्।

सोहेल खान केही समयअघि ‘अलायंस’ शोमा सहभागी भएका थिए। शोपछि उनले आफ्नो घरमा यसको सफलताको पार्टी आयोजना गरेका थिए। हालै ‘अलायंस’सँग सम्बन्धित अर्को पार्टी आयोजना गरिएको थियो, जहाँ शोका सहभागीहरू पनि उपस्थित थिए। यही क्रममा सोहेल खान डेलबर आर्यासँग देखिएका हुन्।

भाइरल भिडियोमा सोहेल र डेलबरले हात समातेर पार्टीमा प्रवेश गरेको देखिन्छ। उनीहरूले एकअर्कालाई आत्मीयताका साथ अँगालो हालेका छन् भने सँगै नाचेको पनि देखिन्छ। दुवैबीच निकै राम्रो बन्डिङ देखिएपछि उनीहरूको सम्बन्धलाई लिएर सामाजिक सञ्जालमा विभिन्न चर्चा सुरु भएको छ।

डेलबरले ‘अलायंस’मा आफ्नो यात्रालाई सेलिब्रेट गर्न उक्त पार्टी आयोजना गरेकी थिइन्। पार्टीमा सोहेल र डेलबरले सँगै फोटोसमेत खिचाएका थिए। सार्वजनिक भएको एउटा भिडियोमा सोहेलले डेलबरको कम्मरमा हात राखेर पोज दिएको देखिन्छ। यही दृश्यलाई लिएर केही सामाजिक सञ्जाल प्रयोगकर्ताले सोहेलको आलोचना गरेका छन्।

अर्को भिडियोमा डेलबर सेतो ब्याकलेस गाउनमा निकै ग्ल्यामरस देखिएकी छन् भने सोहेल डेनिम जिन्स र टी–सर्टमा देखिएका छन्। उनीहरूबीचको आत्मीयता र सहज व्यवहारका कारण भिडियोले सामाजिक सञ्जालमा ध्यान तानेको हो।