माफ बास्केटबलमा ४४ टोली


काठमाडौं, (नेस) ।

म्युचुएल एकेडेमिक एक्टिभिटिज फोरम (माफ) को आयोजनामा आठौं माफ अन्तरविद्यालय बास्केटबल प्रतियोगिता शुक्रबारदेखि हुने भएको छ ।

प्रतियोगितामा ३ विधामा ४४ टोलीको सहभागिता रहने माफका सदस्य एवं गोल्डेनपिक हाइ स्कुलका प्राचार्य छत्रमणि राईले बुधबार आयोजित पत्रकार सम्मेलनमा जानकारी गराए ।

सिनियर ब्वाइजमा १५, गल्र्समा १६ र जुनियर ब्वाइजमा १३ टिमले प्रतिस्पर्धा गर्ने छन् । तीनै विधाका सहभागी टिमलाई ४ समूहमा विभाजन गरी लिग कम नकआउट आधारमा खेल खेलाइने छ । समूहमा शीर्ष २ स्थानमा रहने टोली क्वाटरफाइनलमा पुग्ने छन् ।

गोल्डेनपिकको संयोजन तथा व्यवस्थापनमा हुन लागेको प्रतियोगितामा माफमा आबद्ध विद्यालयका टिमको मात्र सहभागिता रहने छ । माफमा १६ विद्यालय आबद्ध छन् । खेलहरु काठमाडौंको सरस्वतीनगरस्थित गोल्डेनपिककै कोर्टमा खेलाइने छ ।