भोटेकोशी बाढीले प्रभावित नागरिकका लागि राहत जुटाउ“दै नेपाल चलचित्र कलाकार संघले ३८ औ स्थापना दिवस मनाएको छ। स्थापना दिवसलाई औपचारिक समारोहमा मात्र सीमित नगरी संघले रक्तदान तथा राहत संकलन कार्यक्रम आयोजना गर्दै विपद्मा परेका नागरिकप्रतिको सामाजिक उत्तरदायित्व प्रस्तुत गरेको हो।
मंगलवार राजधानीको चावहिलस्थित चलचित्र विकास बोर्डको परिसरमा आयोजित कार्यक्रममा ८६ जनाले रक्तदान गरेका छन्। बाढीपीडितको सहयोगार्थ आयोजित राहत संकलनबाट करिब ४ लाख रुपैया“ संकलन भएको संघका अध्यक्ष उत्तम केसीले जानकारी गराएका छन्। राहत संकलनमा हर्के हल्दार टिमले एक लाख ३३ हजार ३ सय ३३ रुपैया“ तथा संघका कार्यसमिति सदस्य नवीन श्रेष्ठले एक लाख एक हजार रुपैया सहयोग गरेका थिए। अन्य सहयोगसमेत जोडेर संकलित रकम करिब ४ लाख रुपैया पुगेको संघले जनाएको छ। उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिने अध्यक्ष केसीले बताए।
भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनामा सहयोग पु¥याउनुका साथै अस्पतालमा हुने रगतको अभावलाई केही हदसम्म पूर्ति गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको संघले जनाएको छ।
कार्यक्रमकी प्रमुख अतिथि प्रथम नेपाली अभिनेत्री तथा संघकी पूर्वसंरक्षक भुवन चन्दले संघका संस्थापक प्रथम अध्यक्ष शान्ति मास्केको तस्बीरमा माल्यार्पण तथा पुष्पगुच्छा अर्पण गर्दै कार्यक्रमको शुभारम्भ गरेकी थिइन्। त्यसपछि उनले संघका वरिष्ठ उपाध्यक्ष शिवहरि नेपाल ‘बैरागी’ लाई रक्तथैली हस्तान्तरण गर्दै रक्तदान कार्यक्रमको सुरुवात गरिएको थियो। चन्दले कलाकारहरू मनोरञ्जनको क्षेत्रमा मात्र सीमित नभई विपद्का समयमा समाजस“गै उभिनुपर्ने बताइन्। कार्यक्रममा संघका सल्लाहकार तथा पूर्वअध्यक्ष कृष्ण मल्लले संस्थापक अध्यक्ष शान्ति मास्केसहित कलाकार संघको स्थापना, उद्देश्य र नेपाली फिल्म क्षेत्रमा संघले पु¥याउदै आएको योगदानबारे चर्चा गरे।
महासचिव सुनिल कटुवालले कलाकारको हकहित, सामाजिक उत्तरदायित्व र फिल्म क्षेत्रको विकासमा संघले निर्वाह गर्दै आएको भूमिकाबारे चर्चा गरेका थिए। निवर्तमान अध्यक्ष मोहन निरौलाले विपद्मा परेका नागरिकलाई सहयोग गर्ने सामूहिक पहल सराहनीय रहेको बताए। कार्यक्रममा रक्तदाताहरुलाई संघका तर्फबाट प्रशंसापत्र प्रदान गरिएको थियो। अध्यक्ष केसीले स्थापना दिवसलाई औपचारिक उत्सवमा मात्र सीमित नगरी सामाजिक, मानवीय तथा जनचेतनामूलक गतिविधिसँग जोड्दै लैजाने संघको नीति रहेको बताए।












प्रतिक्रिया