‘मेरो मन नेपाल र तिब्बतका जनतासँग छ’, भोटेकोशी बाढीपछि रिचर्ड गेरेको सन्देश


काठमाडौं ।

नेपाल–तिब्बत सीमावर्ती क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोप्रति हलिउड अभिनेता तथा मानवअधिकार अभियन्ता रिचर्ड गेरेले दुःख व्यक्त गरेका छन्। उनले नेपाल र तिब्बतका बाढी प्रभावित जनताप्रति ऐक्यबद्धता जनाउँदै आफूहरूको मन पीडितहरूसँग रहेको बताएका छन्।

गेरेले सामाजिक सञ्जालमा सन्देश लेख्दै भनेका छन्, ‘आज मेरो मन नेपाल र तिब्बतका जनतासँग छ।’ उनले हिमालय क्षेत्रसँग आफ्नो लामो समयदेखिको भावनात्मक सम्बन्ध रहेको उल्लेख गरेका छन्।

उनले हिमालय, त्यहाँका मानिस, आध्यात्मिकता र प्राकृतिक सौन्दर्य आफ्नो जीवनको महत्वपूर्ण हिस्सा बनेको बताएका छन्। नेपालदेखि तिब्बतको ग्यिरोङ तथा सिगात्सेसम्म बाढीले पुर्‍याएको विनाश देख्दा आफू निकै मर्माहत भएको उनको भनाइ छ। उनले विपत्तिको समयमा आशा र करुणा कायम राख्नुपर्ने सन्देशसमेत दिएका छन्।

गेरेको नेपाल र तिब्बतसँगको सम्बन्ध नयाँ भने होइन। उनी सन् १९७८ मा पहिलोपटक नेपाल आएका थिए। त्यस क्रममा तिब्बती भिक्षु तथा लामाहरूसँग उनको भेट भएको र त्यसपछि उनी तिब्बती बौद्ध धर्म तथा तिब्बती समुदायको विषयमा लामो समयदेखि सक्रिय हुँदै आएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले उल्लेख गरेका छन्।

तिब्बती समुदायको मानवअधिकार र संस्कृति संरक्षणका विषयमा गेरेले दशकौँदेखि आवाज उठाउँदै आएका छन्। उनी अन्तर्राष्ट्रिय अभियान तथा मानवीय कार्यमा पनि संलग्न छन्।

नेपालमा अगस्ट २६ मा आएको विनाशकारी बाढीले भोटेकोशी–त्रिशूली नदी आसपासका क्षेत्रमा ठूलो क्षति पुर्‍याएको छ। बाढी तथा पहिरोका कारण ठूलो संख्यामा मानिसको मृत्यु भएको छ भने हजारौँ मानिस अझै बेपत्ता छन्। जलविद्युत् आयोजनाहरू, सडक, पुल, बस्ती तथा सीमा क्षेत्रमा रहेको पूर्वाधारमा समेत ठूलो क्षति पुगेको छ।

विपत्तिपछि नेपालमा उद्धार तथा खोजी कार्य जारी छ। जलविद्युत् आयोजनाका सुरुङमा फसेका कामदारको खोजीका लागि नेपालसँगै चीन, भारत, दक्षिण कोरिया र अमेरिकालगायतका टोली परिचालन भएका छन्। केही दिनअघि सुरुङबाट नेपाली तथा चिनियाँ कामदारलाई जीवितै उद्धारसमेत गरिएको थियो।

रिचर्ड गेरेको पछिल्लो सन्देशले नेपालमा आएको विपत्तिले अन्तर्राष्ट्रिय स्तरमा समेत ध्यान खिचिरहेको देखाएको छ। नेपाल र तिब्बतसँग आफ्नो दशकौँ पुरानो सम्बन्धका कारण उनले यस विपत्तिलाई व्यक्तिगत रूपमा समेत नजिकबाट महसुस गरेको बताएका छन्।