रश्मिकाको बेबी बम्प देखिएको तस्वीर भाइरल


बलिउडकी चर्चित अभिनेत्री रश्मिका मन्दाना फेरि एकपटक सामाजिक सञ्जालमा चर्चाको केन्द्रमा छिन्। उनले हालै सार्वजनिक गरेका केही क्यान्डिड तस्वीरमध्ये एउटा तस्वीरमा देखिएको बेबी बम्पले उनका फ्यानलाई झस्काएको छ। तस्वीर सार्वजनिक भएसँगै सामाजिक सञ्जालमा रश्मिका गर्भवती भएको हो कि भन्ने गसिपसमेत सुरु भएको छ।

रश्मिकाले डिस्पोजेबल क्यामेराबाट खिचिएका आफ्ना केही विशेष क्षणका तस्वीर सामाजिक सञ्जालमा साझा गरेकी हुन्। उनले यी तस्वीर आफूलाई निकै विशेष लागेको बताएकी छन्। सामान्यतया तस्वीर खिचेपछि तुरुन्तै हेर्न र मन नपरे मेटाउन सकिने भए पनि डिस्पोजेबल क्यामेराका तस्वीरमा त्यस्तो सुविधा नहुने भएकाले ती झन् प्राकृतिक र वास्तविक महसुस भएको उनको भनाइ छ।

तर तस्वीरमा देखिएको बेबी बम्प भने रश्मिकाको होइन। उक्त तस्वीरमा उनकी टोलीकी एक सदस्य गर्भवती अवस्थामा देखिएकी हुन्। यही तस्वीरलाई लिएर रश्मिकाको गर्भावस्थासम्बन्धी चर्चा सुरु भएको हो।रश्मिकाले भने आफ्नो गर्भावस्थाबारे कुनै घोषणा गरेकी छैनन्।

रश्मिकाले सार्वजनिक गरेका यी तस्वीरमा उनको टिमसँगको रमाइलो माहोल, यात्राका क्षण र पर्दापछाडिका केही प्राकृतिक दृश्य देखिन्छन्। ग्ल्यामरस फोटोसुटभन्दा फरक यी तस्वीरले अभिनेत्रीको व्यक्तिगत र अनफिल्टर्ड पक्ष देखाएको भन्दै उनका फ्यानहरूले समेत प्रतिक्रिया दिएका छन्।