बसाइँ सराइले पहाडी गाउँपालिकाहरु रित्तिने चिन्ता

0
Shares

उदयपुर । उदयपुर जिल्लाका १२ वटा गाउँपालिका÷नगरपालिकामध्ये रहेकोमा पहाडी भेगमा पर्ने ४ गाउँपालिका बसाइँ सराइ गरेर जानेका कारण रितिँदै गएको छ । नगरपालिका क्षेत्रमा भने बसाइँ सरी आउनेको संख्या बढिरहेको छ । उदयपुरका पहाडी पालिकाहरुमा खास गरी खेतबारीमा उब्जाबाली राम्रो नहुने, सिंचाइको असुविधा, पाखोबारी, पहिरोका भय, यातायातको असुविधा भएको छ । एकातिर शिक्षा, स्वास्थ्य, खानेपानीको समस्या छ, अर्कोतिर पुरुषहरु वैदेशिक रोजगारमा जाने र महिलाहरु छोराछोरी पढाउनका लागि शहरबजार तथा सुविधायुक्त ठाउँमा बस्ने क्रम बढेको छ । वैदेशिक रोजगारबाट फर्किएपछि पनि गाउँ नगई शहरबजारमै जग्गा किनेर घर बनाई बस्ने गरेकाले गाउँ रित्तिँदै गएको बताइन्छ ।

यस विषयमा उदयपुरगढी गाउँपालिकाका अध्यक्ष मानबहादुर केप्छाकी मगरले बसाइँ सराइ जानेका कारण जनसंख्या घटेको र विविध कारणले बसाइँ सराइ गरी जानेको संख्या बढेको बताए । वि.सं. २०६८ को जनगणनाअनुसार उदयपुरगढीको जनसंख्या ३२ हजार रहेकोमा २०७८ सालको जनगणना अनुसार २८ हजार ५ सय रहेको उनले बताए । अध्यक्ष मगरका अनुसार पहाडी क्षेत्रमा उब्जाबाली नहुने, सिंचाइको असुविधा, बाटोघाटोका समस्या, पैसा हातमा भएर पनि किनेर खान नपाइने अवस्था छ । स्तरीय शिक्षाको अभाव, बिरामीलाई उपचारको समस्यालगायतका विविध समस्याका कारण उदयपुरगढी गाउँपालिकाबाट बसाइँ सराइ गर्नेको संख्या बढेको हो । गत आर्थिक वर्ष २०८२।०८३ मा उदयपुरगढीबाट बसाइँ सरी जानेको संख्या १ सय ४१ घरधुरीका ४ सय ५५ जना रहेको र बसाइँ सरी आउनेको संख्या भने ७१ घरधुरीका १ सय ९८ जना रहेको अध्यक्ष मगरले बताए ।

यसै गरी लिम्चुङ्बुङ गाउँपालिकाका कार्यबाहक अध्यक्ष पुष्पलाल राईले स्थानीय सरकारले बसाइँ सराइ रोक्नका लागि सक्दो प्रयास गरिरहेको छ तर नेपाल सरकारले नीति निर्माण गर्दा नेपालको हिमाली पहाडी क्षेत्रको भूगोल गाउँघरको अवस्थालाई मध्यनजर गरेर नीति नबनाउँदा बसाइँ सराइले गाउँ रित्तिँदै गएको बताए । अध्यक्ष राईले बसाइँ सराइका कारण बहुआयामिक रहेको जानकारी दिँदै बाँदर आतङ्क, यातायातको असुविधा, उब्जा कम हुनेलगायतका कारण रहेको र यसलाई रोक्न केन्द्रीय सरकारले पनि भूगोलअनुसार नीति निर्माणमा ध्यान दिनुपर्ने बताए । राज्यले दिने सेवासुविधामा कमी भएपछि र नीति नै जनताका हितमा नभएकोले बसाइँ सराइ बढेको उनले बताए । लिम्चुङबुङ गाउँपालिकाबाट आ.व. २०८२।०८३ मा १ सय १४ घरका २ सय ९९ जना बसाइँ सरी गएको र आउनेमा ८ घरधुरीका १५ जना रहेको सो पालिकाको पञ्जीकरण शाखाले जनाएको छ ।

यसै गरी रौतामाई गाउँपालिकाका अध्यक्ष वीरेन्द्रबहादुर मगरले कतिपय धेरै दुःख पाएर त कतिपय धेरै सुख पाएर अनि कतिपयले धेरै कमाएर बसाइँ सर्ने गरेको जानकारी दिँदै लोकतन्त्रमा एकठाउँबाट अर्को ठाउँमा बसाइँ सर्ने र जान पाइने बताए । रौतामाई गाउँपालिकाको पञ्जीकरण शाखाले दिएको विवरणअनुसार यस पालिकाबाट आ.व. २०८२।०८३ मा १ सय ५४ घरधुरीका ४ सय ४९ जना बसाइँ सरी अन्यत्र गएको र ३० घरधुरीका ९५ जना अन्यत्रबाट बसाइँ सरी आएका छन् ।

यस विषयमा ताप्ली गाउँपालिकाका अध्यक्ष ढुंगराज विश्वकर्मासँग जिज्ञासा राख्दा शिक्षा स्वास्थ्यका कारण करिब ६० घरपरिवार काडमाडौंतिर बसाइँ सरेर गएको भए पनि उहाँहरुको जग्गाजमिन अझै ताप्ली गाउँपालिकामा रहेकाले बसाइँ सरेकालाई गाउँमै फर्काउने वातावरण बनाउने काम पालिकाले गरिरहेको उनले बताए । उनका अनुसार ताप्ली गाउँपालिकामा प्रतिष्ठित पोखरेल परिवार, ढुंगाना परिवारको जग्गाजमिन अझै रहेकाले उनीहरु फर्कने सोचमा रहेका छन् । विगतको तुलनामा गाउँमा बाटोघाटो, शिक्षा, स्वास्थ्यमा सुधार हुँदै गएकोले बसाइँ सरेर अन्यत्र गएका घरपरिवार फर्कने सोचमा रहेको अध्यक्ष विश्वकर्माले बताए । ताप्ली गाउँपालिकाको पञ्जीकरण शाखाले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०८२।०८३ मा बसाइँ सरी जाने घरधुरीको संख्या ३ सय ५६ रहेको छ भने बसाइँ सरी आउने घरधुरी ३९ रहेको छ ।

यसै गरी त्रियुगा नगरपालिकामा बसाइँ सरी आउनेको संख्या ६५९ घरधुरीका २०१३ जना रहेका छन् भने जानेको संख्या ३२१ घरधुरीका ९६७ जना रहेको पञ्जीकरण शाखाका शिरोमणि खतिवडाले बताए । उदयपुरबाट बसाइँ सरी जानेहरु मोरङको.विराटनगर, काठमाडांै, सुनसरीलगायतका शिक्षा, स्वास्थ्य तथा अन्य सेवासुविधा सम्पन्न जिल्लामा गएका छन् । त्रियुगामा बसाइँ सरी आउनेहरु भने खोटाङ, ओखलढुंगा, भोजपुर र उदयपुरकै विकट पहाडी भेग जस्तै– लिम्चुङबुङ, ताप्ली, उदयपुरगढी, रौतालगायतका पालिकाहरुका रहेका छन् ।

कटारी नपामा बाहिरबाट बसाइँ सरी आउने १ सय ६७ घरधुरीका ५ सय ३५ परिवार रहेका छन् भने बसाइँ सरेर बाहिर जाने १ सय ५४ घरधुरीका ४ सय ६७ जना रहेका छन् । कटारीमा पनि खोटाङ, ओखलढुंगा, सोलुखुम्बु, सिन्धुली जिल्लाबाट बसाइँ सरी आएको पञ्जीकरण शाखाले जनाएको छ । बसाइँ सरी जानेहरु काठमाडांै, विराटनगरलगायतका शहरमा गएका छन् । यस्तै चौदण्डीगढी नपाबाट बसाइँ सरी जाने १ सय ५४ घरधुरीका ४ सय ४२ जना रहेका छन् भने बसाइँ सरी आउनेहरु २ सय १ घरधुरीका ५ सय ७४ जना रहेका छन् । चौदण्डीगढीमा पनि खोटाङ, भोजपुरलगायतका जिल्लाबाट बसाइँ सरी आउनेहरु रहेका छन् ।

यसै गरी बेलका नगरपालिकामा बसाइँ सरी आउनेको संख्या २ सय ४७ घरधुरीका ६ सय ९३ जना रहेका छन् भने बेलकाबाट अन्यत्र बसाइँ सरी जानेको संख्या २ सय घरधुरीका ५ सय ६० जना रहेका छन् । बेलकामा बढी भोजपुर, खोटाङबाट बसाइँ सरी आएका छन् भने जानेमा सुनसरी, मोरङ जिल्लामा बढी रहेका छन् । जिल्लामा १ हजार ५ सय ९९ घरधुरीका ४ हजार ७ सय २० जना बसाइँ सरी जानेको संख्या छ भने बसाइँ सरी आउनेको संख्या १ हजार ४ सय २२ घरधुरीका ४ हजार २ सय ८४ जना रहेका छन् । पहाडी ४ गाउँपालिकाबाट बाटो, खानेपानी, शिक्षा, स्वास्थ्योपचारको अभाव तथा बाँदर आतंकका तथा अन्य असुविधाका कारण बसाइँ सरी जाने ७ सय ७० घरधुरीका २ हजार २ सय ८४ जना रहेका छन् भने शहरी तथा बजार क्षेत्रका ४ नगरपालिकाबाट बसाइँ सरी जानेको संख्या ८ सय २९ घर धुरीका २ हजार ४ सय ६६ जना रहेका छन् ।

पहाडी ४ गाउँपालिकामा बसाइँ सरी आउने घरधुरी १ सय ४८ का ४ सय ९ जना छन् भने शहरी तथा बजार क्षेत्रमा बसाइँ सरी आउने १ हजार २ सय ७४ घरधुरीका ३ हजार ८ सय १५ जना रहेका छन् । पहाडी गाउँपालिकाबाट विविध असुविधाका कारण बसाइँ सरेको देखिन्छ भने शहरी तथा बजार क्षेत्रबाट चाहिँ उच्चस्तरको शिक्षा, स्वास्थ्य तथा भौतिक सेवासुविधा लिन अनि सम्पन्न परिवारहरु सुखभोगका कारण बसाइँ सर्नेहरु रहेका छन् ।

नगर र गाउँपालिकामा जिल्लामा सबैभन्दा बढी ताप्लीबाट ३ सय ५६ घरका १०८१ जना बसाइँ सरी गएका छन् । नगरपालिकामा त्रियुगा नगरपालिकाबाट ३ सय २१ घरधुरीका ९ सय ६७ जना बसाइँ सरेर अन्यत्र गएको देखिन्छ । जिल्लाको सबैभन्दा सुविधायुक्त मानिएको र सदरमुकाम रहेको नगरपालिकाबाट नै बसाइँ सरी जानेको संख्या निकै रहेको देखिन्छ । नगरपालिका तथा गाउँपालिकाले जनतालाई दिनुपर्ने सेवासुविधा दिन नसक्दा र बाटोघाटोको असुविधा, बाँदरको समस्या, खानेपानी, शिक्षा, स्वास्थ्य, सिंचाइको असुविधा, उब्जाबाली नहुने पाखोबारी, बाढी, पहिरोलगायतका समस्याले गर्दा मानिस बसाइँ सरी जान बाध्य हुनुपरेको लिम्चुङ्बुङ गाउँपालिकाका समाजसेवी राजकुमार राईले बताए ।

लिम्चुङ्बुङ गाउँपालिका वडा नं. १ का वडाध्यक्ष जनदीप थापा मगरका अनुसार १ नं. वडाबाट आर्थिक वर्ष २०८२।०८३ मा १८ घरपरिवारका ६० जना बसाइँ सराइ गरेर अन्यत्र गएको र पालिकाबाट सेवासुविधा उपलब्ध गराउँदा पनि बस्न नमानेको अवस्था छ । विगतको तुलनामा पालिकाले स्थानीयलाई सेवासुविधा बढाएको र वैदेशिक रोजगारमा जानेहरु नै बढी सुविधायुक्त ठाउँमा बसाइँ जाने गरेको उनले बताए । सो पालिकाको २ नं. वडाबाट ०५७।०५८ देखि बसाइँ सरी जानेक्रम बढेको जानकारी दिँदै २ नं. वडा सचिव हेमन्त राईले २ नं. वडामा पहिले ४ हजार जनसंख्या रहेकोमा अहिले घटेर २ हजार ५ सय मात्र रहेको जानकारी दिए ।

उनले २०८२।०८३ मा २६ घरका ७३ जना बसाइँ सरी गएको बताए । उनले आ.व. ०८१।०८२ मा २ नं. वडाबाट ३१ घरका १०५ जना बसाइँ सरी अन्यत्र गएको बताए । यसरी बसाइँ सराइ गर्नुको कारणमा सचिव राईले भौगोलिक अवस्था, भौतिक सुविधा नहुनु, पाखो बारी, सिचाइको असुविधा, उब्जाबाली नहुनु, शिक्षा, स्वास्थ्य, खानेपानी, सडक यातायात नहुनु आदि कारण रहेको बताए । यस्तै ३ नं. वडाका सचिव गौतम दाहालले आ.व. २०८२।०८३ मा २७ घरका ४५ जना बसाइँ सरेको बताए । यसरी नै ४ नं. वडाबाट ३२ घरका ८८ जना बसाइँ गएको वडाध्यक्ष छत्रबहादुर राईले बताए । ५ नं. वडाबाट ५ घरका २७ जना बसाइँ सरेर अन्यत्र गएको वडाध्यक्ष कविचन्द्र राईले बताए ।