आगामी असोज २ गते रिलिजमा आउने फिल्म झिंगे दाउ २ ले तीजको माहोललाई लक्षित गर्दै केकी अधिकारी र आँचल शर्माको जेठानी–देउरानी भिडन्तलाई पर्दामा उतारेको छ। फिल्मको ७ मिनेट लामो तीज गीत जेठानी भर्सेस देउरानी सार्वजनिक गरिएको छ।
ओएसआर डिजिटलबाट सार्वजनिक गीतको भिडियोमा केकी र आँचलबीचको झगडा प्रस्तुत गरिएको छ। फिल्ममा केकी जेठानी र आँचल देउरानीको भूमिकामा छन्। घरायसी सम्बन्धमा देखिने नोकझोक, आरोप–प्रत्यारोप र दुई पात्रबीचको टकरावलाई गीतमार्फत मनोरञ्जनात्मक शैलीमा प्रस्तुत गरिएको छ।
बाबुल गिरीको शब्द तथा संगीत रहेको गीतमा एलिना चौहान र रचना रिमालको स्वर छ। गीतमा प्रयोग गरिएका संवाद तथा लाइनहरू तीजको परिवेशसँगै सामाजिक सञ्जालमा चर्चामा आउने खालका छन्। केकी र आँचलले पनि गीतले दर्शकबाट राम्रो प्रतिक्रिया पाउने विश्वास व्यक्त गरेका छन्। गीतको भिडियोमा रामजी लामिछानेको कोरियोग्राफी छ।
कपनगढी सिनेमा प्रालि र फिल्म क्रिउ नेपाल प्रालिको ब्यानरमा सुलभ प्रतीक देउजा र समीक्षा देउजाद्धारा निर्मित फिल्म ज्ञानेन्द्र देउजाले निर्देशन गरेका हुन्। झिँगे दाउ सुपरहिट भएपछि उनले झिँगे दाउ २ निर्देशन गरेका हुन्। रोशनी अधिकारी देउजा र नीतु श्रेष्ठ देउजा सह–निर्माता रहेको फिल्ममा परिच्छेद सेनको पटकथा र संवाद, गोविन्द फुयाँल र शिशिर चालिसेको लेखन, अर्जुन पोखरेलको संगीत, रोशन श्रेष्ठको एक्सन निर्देशन, विष्णु घिमिरे ‘कल्पित’ को डीओपी र मित्र डी गुरुङको सम्पादन रहेको छ।
केकी र आँचलसँगै महेश त्रिपाठी, कुशल बिष्ट, आर्यन सिग्देल, हिउ“वाला गौतम, सरोज खनाल, वसुन्धरा भुसाल, चैत्यदेवी सिंह, संगम भण्डारी, विजय देउजा, अंशु महर्जन, अभयराज बराल, उत्तम केसी, आशा भुसाललगायतका कलाकारले अभिनय गरेको फिल्मले झि“गे दाउपछि अर्को रेकर्ड बनाउने अपेक्षा गरिएको छ।












प्रतिक्रिया