गृहमन्त्री गुरुङले ४५ सहिदको सालिक अनावरण गर्दै

0
Shares

–सुरुमा ४२ थियो तीन प्रहरीको सालिक थपेर ४५ सहिदको सालिक तयार

ललितपुर ।

जेन–जी आन्दोलनमा सहिद भएका तीन प्रहरीसहित ४५ जनाको सालिक आज बुधवार अनावरण हुँदै छ । सातदोबाटोस्थित खेलकुद कम्प्लेक्स परिषद्भित्र निर्माण भएको पार्कमा सालिक राखिएको छ । गृहमन्त्री सुधन गुरुङले बिहान साढे ८ बजे अर्धकदका सालिकसहितको जेन–जी सहिद पार्क उद्घाटन गर्ने कार्यक्रम छ ।

आन्दोलनमा ३ जना प्रहरीसहित ४५ जना सहिद भएका थिए । यसअघि ३ प्रहरीबाहेक सबै सहिदको सालिक राख्ने तयारी थियो । जेन–जी आन्दोलनको क्रममा सहिद भएका तीन प्रहरीको पनि सालिक बनाउने निर्देशन भएपछि सबैको एकैठाउँमा राखिएको हो । जेन–जी सहिद पार्कमा अब ४५ सहिदका सालिक रहनेछन् ।

‘आइतवार प्रधानमन्त्री कार्यालयबाट जेन–जी आन्दोलनमा मृत्यु भएका तीन प्रहरीको सालिक बनाउने निर्देशन भएपछि मूर्तिकारले सालिक तयार पारेका हुन् । तीन प्रहरीको सालिक सोमवार राखिएको हो । आइतवार निर्णय भएको थियो, मंगलवार तयार भएर सबैसँग राखिएको छ ।
कास्की रुपा–५ का ३१ वर्षीय सहायक हवल्दार अमृत गुरुङ, सिन्धुली दुधौली–८ का प्रहरी सहायक निरीक्षक (असई) २० वर्षीय मिलन राय र दार्चुला लेकाम–२ का प्रहरी जवान ३२ वर्षीय उत्तम थापाको जेन–जी आन्दोलनमा मृत्यु भएको थियो । हवल्दार गुरुङ प्रहरी प्रभाग कोटेश्वरमा कार्यरत हुनुहुन्थ्यो । असई राय र जवान थापा प्रहरी वृत्त महाराजगञ्जमा कार्यरत थिए ।

अब प्रहरी र नागरिक सबैको सालिक एकै स्थानमा राखिएको छ । प्रहरीको पनि जेन–जी आन्दोलनमा आन्दोलनकारीको कुटाइबाट मृत्यु भएको थियो । आन्दोलनमै निधन भएकाले सबैको सालिक एकै स्थानमा राख्नुपर्ने सल्लाहअनुसार सबैको सालिक तयार भएको हो ।
जेन–जी आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको भोलिपल्ट भदौ २४ गते सालिक अनावरण हुन लागेको हो । पाटनका प्रस्तरकलामा निपुर्ण युवा मूर्तिकारद्वय सुजित श्रेष्ठ र मनीष श्रेष्ठको प्रयास र वरिष्ठ कलाकार रवि शाक्य (टम एन्ड जेरी) को डिजाइनमा सालिक तयार भएको हो । कलाकार श्रेष्ठद्वयले करिब करिब ६ महिनाको मिहिनेतमा सालिक तयार भएको बताउनुभयो । सबै सहिदको फोटोको आधारमा सालिक तयार गर्न सफल भएको उहाँहरूको भनाइ छ ।

कलाकारद्वयले नेपाल समाचारपत्रसँग भने– ‘जेन–जी आन्दोलनका सहिदको सालिक निर्माण गर्न पाएकामा गर्व लागेको छ ।’ सालिकका डिजाइनर शाक्यले तीनै जनाको मिहिनेतबाट सालिक तयार भएको बताउनुभयो । उहाँले भन्नुभयो–‘जेन–जी आन्दोलनको वर्ष दिनमा सालिक तयार गरी पार्कमा राख्न पाएकामा सरकारप्रति धन्यवाद दिन चाहन्छौ ।’

जेन–जी आन्दोलनमा भदौ २३ गते २०, २४ गते १६, २५ र २७ गते घाइते भएका र उपचारका क्रममा मुत्यु भएका ३–३ जना गरी ४५ जनाको सालिक तयार भएको हो । आन्दोलनमा ७६ जनाले ज्यान गुमाएका भए पनि ४५ जनालाई मात्र सहिद घोषणा गरिएको थियो ।
‘जेन–जी आन्दोलनका सबै सहिदको सालिक निर्माण प्रक्रिया कार्तिकबाट सुरु भएको हो । मुख्य काम ६ महिनामा सकिएको छ’ –मूर्तिकार शाक्यले भन्नुभयो । सबै सालिक ढुंगाको हो । परिवारबाट प्राप्त भएका तस्बीरलाई जस्ताको तस्तै सालिकमा उतारिएको छ । सालिक तयार गर्न निकै कठिन र मिहेनत गर्नुपरेको मूर्तिकारले बताएका छन् । ‘धेरै पटक डमी बनाउँदै हेर्दै ग¥यौँ । धेरै पटक माटोबाट तयार ग¥यौँ, ठ्याक्कै आकृति आएपछि ढुंगामा तयार ग¥यौँ’ –डिजाइनर शाक्य र मूर्तिकार श्रेष्ठद्वयले भन्नुभयो ।

शाक्यले उहाँले सालिक तयार गर्न खर्चभन्दा पनि मिहिनेतलाई तुलना गर्न नसकिने बताउनुभयो । सरकारले करिब ५० लाख रुपैयाँ खर्चेर सालिकसहितको पार्क तयार गरेको हो । पार्कमा दुबो र फूल रोपिएको छ । हतारमा अनावरण गर्नुपरेकाले पार्क पूर्णरूपमा तयारी भइसकेको छैन । पार्कको बीच भागमा नेपालको अग्लो झण्डा राखिनेछ ।

सालिक तयार गर्न प्रधानमन्त्री बालेन्द्र शाह, प्रधानमन्त्रीका मुख्य सल्लाहकार कुमार वेन, गृहमन्त्री सुधन गुरुङलगायत निकायका व्यक्तिहरूको मुख्य भूमिका रहेको शाक्यको भनाइ छ । प्रधानमन्त्री शाहले प्रधानमन्त्रीको पदभार ग्रहण गर्नुअघि नै सहिदप्रति सम्मान गर्दै सहिदपार्क बनाउने र त्यहाँ जेन–जी आन्दोलनका सहिदको सालिक राख्ने घोषणा गर्नुभएको थियो । प्रमको निदेशनअनुसार जेन–जी सहिदपार्क तयार भएको छ । सालिक अनावरण गर्न प्रधानमन्त्री आउने कार्यक्रम थियो । भोटेकोशी बाढीपहिरोको कारण प्रधानमन्त्रीको कार्यक्रम रद्द गरेर गृहमन्त्रीबाट उद्घाटन हुन लागेको हो ।

गतवर्षको भदौ २३ र २४ गते गरिएको प्रदर्शनका क्रममा मृत्यु भएकालाई २०८२ साल कात्तिक १७ गतेको मन्त्रिपरिषद्को बैठकले सहिद घोषणा गरेको थियो । लगत्तै राजपत्रमा प्रकाशित गरेर सहिदको सूचीमा नाम राखेको थियो । ज्यान गुमाएको साढे २ महिनापछि सरकारले ४५ जनालाई सहिद घोषणा गरेको हो ।

सालिकमा देखिएका ४५ सहिद
१ बुद्धिबहादुर तामाङ
२ सन्तोष विश्वकर्मा
३ सुलभराज श्रेष्ठ
४ श्रीयम चौलागाईं
५ ईश्वतबहादुर अधिकारी
६ आयुष थापा
७ गौरव जोशी
८ योगबहादुर श्रेष्ठ
९ माधव सारु मगर
१० विमलबाबु भट्ट
११ असहाव आलम ठकुराई
१२ सौरनकिशोर श्रेष्ठ
१३ सुभाषकुमार बोहरा
१४ रसिक खतिवडा खत्री

१५ विनोद महर्जन
१६ दिलनारायण तामाङ
१७ योगेन्द्र न्यौपाने
१८ अभिषेक श्रेष्ठ
१९ मोहन सरदार
२० छत्रमान कुथुमी
२१ ओझन बुढा
२२ साजन राई
२३ अनिश पराजुली
२४ सारकुमार राई
२५ अर्जुन भट्ट
२६ धीरज श्रेष्ठ
२७ देवकुमार सुवेदी
२८ उमेश महत
२९ प्रवीण कुलुङ
३० निखिता गौतम
३१ अभिषेक चौलागाईं
३२ विजय चौधरी
३३ भीमराज धामी

३४ निरज पन्त
३५ दीपक सिंह साउद
३६ शुभराज बलामी श्रेष्ठ
३७ ज्ञानिन्द्र सेढाईं
३८ दिनेश राजवंशी
३९ कमल भण्डारी
४० दीपेश सुनुवार
४१ महेश बुढाथोकी
४२ लच्छुमान राई
४३ मिलन राय (प्रहरी)
४४ अमृत गुरुङ (प्रहरी)
४५ उत्तम थापा (प्रहरी)