त्रसित महिला र बालबालिकामा बढ्दो मानसिक समस्या

बालबालिकासँग अन्तर्वार्ता तथा फोटो–भिडियो खिच्न रोक

282
Shares

काठमाडौँ ।

भोटेकोशी बाढीले घर, सम्पत्ति र आफन्त गुमाएका रसुवा र नुवाकोटका महिला तथा बालबालिकामा बाढीपछिको मानसिक असर गहिरिँदै गएको छ ।

उद्धार र राहतको तत्कालीन संकट केही कम हुँदै गए पनि बाढीको भयावह दृश्य प्रत्यक्ष देखेका, आफन्त गुमाएका तथा अझै बेपत्ताको खबर कुरिरहेका बालबालिका र महिलामा डर, त्रास, अनिद्रा, बारम्बार झस्किने, रुने तथा असामान्य व्यवहार देखिन थालेको हो ।

मानसिक स्वास्थ्य विज्ञहरूका अनुसार यस्ता लक्षणलाई सामान्य दुःख वा डरका रूपमा मात्र लिन नहुने र समयमै मनोसामाजिक सहयोग तथा आवश्यक परे विशेषज्ञ उपचार उपलब्ध गराउनुपर्ने अवस्था देखिएको छ । बाढीबाट प्रभावित क्षेत्रमा खटिएका मनोसामाजिक परामर्शदाताहरूले बालबालिकामा बाढी फेरि आउने डर, राति निदाउन नसक्ने, नराम्रो सपना देख्ने, अचानक रुने तथा सानो आवाजमा समेत झस्किने समस्या देखिएको बताएका छन् ।

मनोवैज्ञानिक गोपाल बोहराका अनुसार नुवाकोटको विदुरमा काम गरिरहेको मनोसामाजिक टोलीले यस्ता लक्षण भएका बालबालिका भेटेको छ । उहाँका अनुसार केही बालबालिका राति पटक–पटक ब्युँझिएर ‘बाढी आयो’ भन्दै कराउने गरेका छन् ।

बाढीले भौतिक क्षति मात्र गरेको छैन, प्रभावित समुदायमा गहिरो मनोवैज्ञानिक संकट सिर्जना गरेको विश्व स्वास्थ्य संगठनले जनाएको छ । घरबारविहीनता, परिवारबाट छुट्टिनु, आफन्तको मृत्यु वा बेपत्ता हुनु, राहत केन्द्रमा भीडभाड र स्वास्थ्य सेवा अवरुद्ध हुनुका कारण मानसिक स्वास्थ्य तथा मनोसामाजिक आवश्यकता बढिरहेको डब्लुएचओको आँकलन छ ।

रसुवाको उत्तरगया गाउँपालिकाले यही संवेदनशील अवस्थालाई ध्यानमा राख्दै बाढीपीडित बालबालिकासँग सञ्चारमाध्यमलाई जथाभावी कुराकानी, फोटो तथा भिडियो बनाउन रोक लगाएको छ । गाउँपालिका अध्यक्ष माधवप्रसाद अर्यालका अनुसार बाढीपछि कतिपय बालबालिका डराउने, कराउने र छिनभरमै असामान्य व्यवहार देखाउने अवस्थामा पुगेका छन् ।

यस्तो अवस्थामा विभिन्न सञ्चारमाध्यमबाट एउटै घटनाबारे पटक–पटक प्रश्न सोध्दा उनीहरूको मानसिक अवस्था झन् प्रभावित हुने देखिएपछि बालबालिकासँग अन्तर्वार्ता तथा फोटो–भिडियोमा रोक लगाइएको हो । ‘उनीहरू आफैँले देखेको घटना सम्झेर त्रसित छन् । फेरि–फेरि त्यही घटना कसरी भयो ? , परिवारका को–को परे ? भनेर सोध्दा पुरानो त्रास दोहोरिन्छ’ –गाउँपालिका अध्यक्ष अर्यालको भनाइ छ ।
मनोचिकित्सक डा. कुशल खरेलका अनुसार ठूलो विपत्तिपछि मानिसमा तत्कालै देखिने डर, आत्तिने, निद्रा बिग्रने, घटना बारम्बार सम्झिने र भविष्यप्रति असुरक्षित महसुस हुने अवस्था देखिन सक्छ ।

यस्तो अवस्थामा पीडितलाई घटनाको विवरण पटक–पटक सुनाउन बाध्य पार्नुको सट्टा सुरक्षित वातावरण, परिवारको साथ, नियमित दिनचर्या र आवश्यकताअनुसार मनोचिकित्सकीय परामर्श उपलब्ध गराउनुपर्ने हुन्छ ।

बाढीपछि प्रभावित क्षेत्रमा मनोसामाजिक सहयोगका लागि नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा विभिन्न सरकारी तथा गैरसरकारी संस्थाका स्वास्थ्य टोली परिचालित छन् । तर भौगोलिक विकटता, सडक तथा सञ्चार सञ्जालमा आएको क्षति र बाढीले गाउँहरूलाई अलग–अलग बनाएका कारण सबै प्रभावितसम्म विशेषज्ञ सेवा पु¥याउन कठिन भइरहेको छ ।

नेपाल प्रहरीका प्रवक्ता प्रहरी नायब महानिरीक्षक अविनारायण काफ्लेका अनुसार होल्डिङ सेन्टरमा रहेका महिला तथा बालबालिकाको अवस्थाबारे महिला प्रहरीमार्फत निरन्तर निगरानी भइरहेको छ । तर होल्डिङ सेन्टरभन्दा बाहिर रहेका र बाढीलाई नजिकबाट प्रत्यक्ष देखेका व्यक्तिसम्म नियमित मनोसामाजिक सेवा पु¥याउन चुनौती रहेको प्रहरीको भनाइ छ ।

यही कारण सडक सुविधा भएका कतिपय प्रभावित परिवार अहिले काठमाडौँ आउन थालेका छन् । मानसिक स्वास्थ्य सेवाका लागि पाटन मानसिक अस्पताल, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, मेडिसिटी तथा अन्नपूर्ण न्युरो अस्पताललगायतका स्वास्थ्य संस्थामा बाढी प्रभावितहरू पुग्न थालेका छन् । तर बाढीबाट मानसिक रूपमा प्रभावित भएका व्यक्तिको यकिन संख्या भने अहिलेसम्म सार्वजनिक भएको छैन । उपलब्ध तथ्यांकले संकटको आकार भने ठूलो रहेको देखाउँछ । नेपाल प्रहरीका अनुसार बाढीमा १ हजार ३ सय ९० जनाको मृत्यु भएको र ४ हजार ९ सय ९८ जना अझै बेपत्ता रहेको तथ्यांक सार्वजनिक भएको छ । मृतकमध्ये ३२ जना बालबालिका र २ सय ५० जना महिला रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै, युनिसेफका अनुसार भोटेकोशी–त्रिशूली बाढीबाट कम्तीमा २२ हजार बालबालिकालाई सुरक्षित खानेपानी, सरसफाइ तथा स्वच्छताको तत्काल आवश्यकता परेको छ । विस्थापित परिवार अस्थायी आश्रयस्थल र होल्डिङ सेन्टरमा बस्नुपर्दा बालबालिकामा संक्रमणको जोखिमसँगै मनोसामाजिक समस्या पनि बढिरहेको छ । सेभ द चिल्ड्रेनले पनि नुवाकोटमा बाढी प्रत्यक्ष देखेका बालबालिकामा डर र चिन्ताका लक्षण देखिएको जनाएको छ । घर, विद्यालय र साथीहरू बाढीले बगाएको दृश्य देखेका बालबालिकामा भविष्यप्रति असुरक्षा बढेको संस्थाको निष्कर्ष छ ।

संयुक्त राष्ट्रसंघीय जनसंख्या कोषले पनि बाढीबाट प्रभावित महिलामध्ये करिब ९८ हजार ५ सय ६० प्रजनन उमेरका महिला रहेको र करिब ५ हजार ३० गर्भवती महिला प्रभावित भएको जनाएको छ । अस्थायी शिविरमा भीडभाड, गोपनीयताको अभाव र पारिवारिक तथा सामाजिक संरचना भत्किँदा महिला र किशोरीको मनोसामाजिक जोखिम थप बढेको प्रतिवेदनमा उल्लेख छ ।

मनोवैज्ञानिक बोहराका अनुसार अहिलेको प्राथमिकता पीडितलाई ‘के भयो ?’ भनेर पटक–पटक सम्झाउनुभन्दा उनीहरूलाई सुरक्षित महसुस गराउनु हो । तत्काल सबैलाई रोगको लेबल लगाउनेभन्दा उनीहरूको कुरा सुन्ने, परिवारसँग पुनर्मिलन गराउने, नियमित खाना र निद्राको वातावरण बनाउने तथा असामान्य लक्षण लामो समय कायम रहे विशेषज्ञ कहाँ पठाउने व्यवस्था आवश्यक छ ।

युनिसेफले पनि विपत्तिपछि मनोसामाजिक सहयोग तत्कालको राहतमा सीमित गर्न नहुने बताएको छ । विदुर नगरपालिकाकी मनोसामाजिक परामर्शदाता सुशीला पनेरुले बाढीपीडित परिवारसँगको परामर्शले उनीहरूलाई आफू एक्लो नभएको अनुभूति गराउने र पुनःस्थापनाको क्षमता बढाउने बताउनुभयो । विशेषज्ञहरूका अनुसार बाढीको पानी घटेपछि मानसिक संकट अझ प्रस्ट देखिन सक्छ । तत्कालीन उद्धारको व्यस्ततामा दबिएका पीडा परिवारका सदस्य हराएको पुष्टि हुन थालेपछि, घर फर्कने अवस्था नहुँदा वा जीविकोपार्जनको आधार गुमेको महसुस भएपछि बाहिर आउन सक्छन् । त्यसैले राहतसँगै मानसिक स्वास्थ्य सेवालाई पनि पुनःस्थापनाको अनिवार्य अंग बनाउनुपर्ने आवश्यकता छ ।

अहिलेको चुनौती बाढीबाट बाँचेका मानिसलाई केवल सुरक्षित स्थानमा राख्नु मात्र होइन, उनीहरूलाई डरबाट सामान्य जीवनतर्फ फर्काउनु पनि हो । त्यसका लागि प्रभावित गाउँदेखि होल्डिङ सेन्टर र काठमाडौँसम्म मनोसामाजिक सेवा जोड्ने, बालबालिकाका लागि सुरक्षित स्थानमा खेल तथा सिकाइ गतिविधि सञ्चालन गर्ने, परिवारसँग पुनर्मिलन गराउने र गम्भीर समस्या देखिएकालाई तत्काल विशेषज्ञ उपचारमा पठाउने संयन्त्र आवश्यक देखिएको छ ।

भौतिक संरचना पुनर्निर्माण गर्न समय लाग्न सक्छ । तर बाढीले बालबालिकाको मनमा छोडेको डर र परिवारले भोगेको शोक समयसँगै आफैँ हराउँछ भन्ने ग्यारेन्टी छैन । त्यसैले भोटेकोशी बाढीपछिको पुनःस्थापनामा मानसिक स्वास्थ्यलाई दोस्रो प्राथमिकताको विषय बनाइयो भने विपत्तिको अर्को असर वर्षौँसम्म समाजले बोक्नुपर्ने जोखिम छ ।