सुन्तलाको टोकरीदेखि ‘पद्म श्री’ सम्मको अभूतपूर्व क्रान्ति

धूलोबाट शिक्षाको मन्दिर ठडाएका हरेकला हजब्बा


कर्नाटकको मंगलुरु सहरको एउटा धुलाम्य बस बिसौनीमा सन् १९७० को दशकतिर जीवन र जीविकाको दैनिक संघर्ष चलिरहेको थियो । त्यही भीडभाडको बीचमा शिरमा सुन्तलाको टोकरी बोकेर जीवन धान्नका लागि भौँतारिने हरेकला हजब्बाको संसार निकै साँघुरो र नितान्त साधारण थियो । दिनभरि घामपानी नभनी कडा परिश्रम गर्दा पनि उनको हातमा मुस्किलले १५० रुपियाँमात्र पथ्र्यो । जसले उनको पेटको भोक मेट्नसम्म धौ–धौ पथ्र्यो । अक्षर नचिनेका, कहिल्यै विद्यालयको दैलो नटेकेका हजब्बाका लागि संसारको भाषा र ज्ञानका ढोकाहरू सधैँका लागि बन्द झैँ थिए । तर, सन् १९७८ को एउटा अतुलनीय र स्तब्ध पार्ने क्षणले उनको नियतिका पानाहरूलाई ह्वात्तै पल्टाइदियो ।

एक विदेशी पर्यटकले उनलाई अंग्रेजी भाषामा सुन्तलाको मोल सोधे । तर, अशिक्षाको गहिरो अन्धकारमा बाँचिरहेका हजब्बाले न त त्यो प्रश्न बुझ्न सके, न त कुनै उत्तर नै दिन सके । त्यो क्षणमा पर्यटक चुपचाप अघि बढे पनि हजब्बाको छातीभित्र भने अपमान, लज्जा र हीनताबोधको एउटा प्रचण्ड भुइँचालो गयो । आफू अशिक्षित हुनुको गहिरो पीडा र असहायपनले उनको आत्मालाई यसरी बिझायो कि उनले त्यही बस बिसौनीको धूलोमा उभिएर आफ्नै भाग्यविरुद्ध एउटा कठोर प्रतिज्ञा गरे । उनले आफू अनपढ र अज्ञानी भए पनि आफ्नो गाउँको कुनै पनि बालबालिकाले शिक्षाको अभावमा कहिल्यै लज्जित र अपमानित हुन नदिने मनमनै संकल्प गरे ।

त्यो एउटा पवित्र र अटुट संकल्पलाई मूर्तरूप दिन हजब्बाले सुरु गरेको यात्रा सागरमाथा चढ्नु भन्दा कम साहसिक र कठिक थिएन । गरिबीको कठोर पञ्जाभित्र थिचिएका एक सुन्तला बेच्ने मानिसका लागि विद्यालय खोल्ने सपना देख्नु नै आकाशको तारा छुने चेष्टा गर्नु सरह थियो । तैपनि, उनले आफ्नो दैनिक कमाइबाट एक–एक रुपियाँ बचाउन थाले । घरमा चुल्हो बल्न धौ–धौ पर्ने अवस्थामा पनि, पेट आधा खाली राखेर भए पनि उनले विद्यालयका लागि पैसा छुट्याउन कहिल्यै छाडेनन् । सुरुका दिनहरूमा गाउँलेहरूले उनको गरिबी र सपनाको खिल्ली उढाउँदै उनलाई बौलाहा र पागलको संज्ञा दिए । तर, आलोचकहरूको व्यंग्य र जीवनको चरम अभावले हजब्बाको दृढ इच्छाशक्तिलाई झनै मजबुत बनायो । आफ्ना दुवै हातमा सुन्तला र मनमा शिक्षाको दियो बोकेर उनी एकातिर पैसा जम्मा गर्दै थिए भने अर्कातिर सरकारी अड्डा र अधिकारीहरूका ढोकामा विद्यालयको स्वीकृति माग्दै वर्षौंसम्म धाइरहे । अन्ततः झन्डै दुई दशकको अथक, एकाग्र र साधानापूर्ण संघर्षपछि सन् १९९९ मा उनले एउटा स्थानीय मदरसाको सानो, ओसिलो कोठामा २८ जना बालबालिकालाई भेला पारेर प्राथमिक विद्यालयको जग बसाले ।

हजब्बाको यो असीम त्याग, निस्वार्थ समर्पण र मानवीय भावना देखेर बिस्तारै कठोर सरकारी संयन्त्र र अन्य मनकारी दाताहरू पनि पग्लिन बाध्य भए । एउटा सुन्तलाको टोकरी र केही रुपियाँको बचतबाट सुरु भएको प्रयासले बिस्तारै एउटा विशाल वटवृक्षको रूप लिँदै गयो । आज उनको गाउँ हरेकलामा १० कक्षासम्म पढाइ हुने, सुविधायुक्त आधुनिक पूर्वाधारसहितको विद्यालय खडा छ । जहाँ हजारौँ ग्रामीण बालबालिकाहरूले आफ्नो उज्ज्वल भविष्यको सपना बुनिरहेका छन् । हजब्बाको त्यो अभूतपूर्व र असाधारण कार्यको सुवास कर्नाटकका डाँडाकाँडा काट्दै सम्पूर्ण भारतभर फैलियो । सन् २०२० मा भारत सरकारले उनलाई देशको चौथो सर्वोच्च नागरिक सम्मान ‘पद्मश्री’ बाट विभूषित गर्ने घोषणा ग¥यो । तर, उनी कतिसम्म निष्कलंक र सादा जीवन बिताउँथे भने, राष्ट्रपतिबाट सर्वोच्च पदक पाउने खबर पाउँदा पनि उनी आफ्नो परिवारका लागि खाद्यान्न लिन रासन कार्डको सर्वसाधारण लाइनमा धैर्यपूर्वक उभिरहेका थिए ।

राष्ट्रपति भवनमा आयोजित भव्य र तडकभडकपूर्ण समारोहमा पदक ग्रहण गर्न पुग्दा हजब्बाको सादगीले उपस्थित सबै दिग्गजहरूको मन जित्यो र सबैका आँखा रसाए । उनी कुनै महँगा लुगा वा जुत्तामा होइन, आफ्ना नाङ्गा गोडा र अत्यन्तै साधारण सेतो पहिरनमा देशका राष्ट्रपतिअघि उभिएका थिए । देशको प्रतिष्ठित सम्मान हातमा पर्दा पनि उनका आँखामा कुनै अहंकार वा व्यक्तिगत स्वार्थको भावना थिएन । पदक थापिसकेपछि उनले राष्ट्रपति र प्रधानमन्त्रीका अगाडि हात जोडेर आफ्ना लागि कुनै सुख–सुविधा मागेनन् । बरु आफ्ना गाउँका गरिब बालबालिकाहरूका लागि एउटा कलेज स्थापना गरिदिन विनम्र याचना गरे । उनको यो निस्वार्थ प्रार्थनाले हलमा उपस्थित सबैको हृदय स्पर्श ग¥यो ।

आज कर्नाटकभरि हरेकला हजब्बालाई सम्मानपूर्वक ‘अक्षर सन्त’ अर्थात् ‘अक्षरका देवता’ भनेर पुकारिन्छ । बस बिसौनीमा सुन्तला बेच्ने एउटा अशिक्षित व्यक्ति, जसले एक दिन अंग्रेजीको एउटा सामान्य प्रश्नको उत्तर दिन सकेका थिएनन्, आज तिनै महान् आत्माको प्रेरक जीवनी भारतका प्रमुख विश्वविद्यालयहरूका पाठ्यक्रममा भावी पुस्तालाई पढाउन समावेश गरिएको छ । हजब्बाको यो अमर र कारुणिक जीवनगाथाले हामीलाई यो सनातन सत्यको बोध गराउँछ कि समाजमा ठूलो परिवर्तन र क्रान्ति ल्याउन कुनै ठूलो धनसम्पत्ति, शक्ति वा पदवी चाहिँदैन, केवल एउटा पवित्र इच्छाशक्ति, अटल संकल्प र निस्वार्थ मानवीय संवेदना भए पुग्छ । आफ्नो जीवनको व्यक्तिगत अपमान र गहिरो पीडालाई नै समाज परिवर्तनको महाशक्तिमा बदलेर हजारौँ बालबालिकाको अन्धकारमय जीवनमा शिक्षाको उज्यालो ज्योति बाल्ने यी अमर ‘अक्षर सन्त’ हरेकला हजब्बाको महान् व्यक्तित्वप्रति निष्ठापूर्ण सलाम ।