बडिमालिका : आस्थाको धरोहरलाई विश्व पर्यटनको गन्तव्य बनाऔँ

0
Shares

बाजुरा । हरिया पहाडको काख । माथि हेर्दा टाढासम्म फैलिएको उकालो । साँघुरो बाटोमा यात्रुहरूको लाम । कसैको काँधमा झोला छ, कसैको हातमा लौरो । कोही थकित छन्, कोही उत्साहित । तर सबैको गन्तव्य एउटै– बडिमालिका । यो दृश्य हेर्दा लाग्छ, मानिसहरू केवल एउटा मन्दिरतर्फ हिँडिरहेका छैनन् । उनीहरू आफ्नो आस्था, विश्वास र मनोकामना बोकेर हिमालको काखतर्फ उक्लिरहेका छन् ।
बाजुराको सदरमुकाम मार्तडीबाट शुरु हुने बडिमालिका यात्रा सामान्य पदयात्रा होइन । यो आस्था, साहस, प्रकृति र संस्कृतिको संगम हो । मार्तडीबाट फूल चढाउनेतर्फ अघि बढ्दै गर्दा भेटिन्छ– टोपी खस्ने उकालो । नामजस्तै कठिन । शरीरले पसिना माग्छ, खुट्टाले विश्राम खोज्छ । तर यात्रुको मन भने गन्तव्यतर्फ दौडिरहेको हुन्छ । फूल चढाउनेबाट सोता, वारिपाटन हुँदै घोडापाटन । घोडापाटनको उकालो पार गरेपछि दोगाडेतर्फको ओरालो । फेरि भित्रीचिन्ना स्टेटको ठाडो उकालो, लौणी विनायक र बूढीमाईका थान हुँदै त्रिवेणी धाम ।

यो बाटोमा हरेक उकालो एउटा परीक्षा हो र हरेक मोड एउटा नयाँ दृश्य । उकालो जति कठिन, दृश्य उति सुन्दर । कहिलेकाहीँ बाटो यति साँघुरो हुन्छ कि अगाडि जाने यात्रुको पाइला पछ्याउनुको विकल्प हुँदैन । कतै फलामका रेलिङ छन्, कतै प्राकृतिक चट्टान समातेर उक्लिनुपर्छ । तर जब पछाडि फर्केर हेरिन्छ, देखिन्छ– हरियो पहाड, बादलसँग लुकामारी खेलिरहेका डाँडाहरू र तल कतै हराइरहेको बाटो । यही दृश्यले थाकेको शरीरलाई फेरि हिँड्न प्रेरित गर्छ ।

बूढीमाईको थानबाट ओरालो लागेपछि पुगिन्छ त्रिवेणी धाम । बडिमालिका यात्रामा त्रिवेणी केवल एउटा बाटोको विश्रामस्थल होइन, यसको आफ्नै धार्मिक महत्व छ । यहाँ स्नान, ध्यान र पूजाआजा गरेर यात्रुहरू बडिमालिकातर्फ अघि बढ्छन् । त्रिवेणीमा पुगेपछि शरीरको थकान केही कम हुन्छ । मनमा भने अर्को उत्साह थपिन्छ– अब बडिमालिका धेरै टाढा छैन । त्रिवेणी पुगेकै दिन खेतीबेतीको दृश्य अवलोकनले दुई दिनको उकालो पाउडण्डीबाटोको थकान क्षेणभरमै मेटिन्छ । त्रिवेणीबाट भेडीठोटा हँुदै उकालो शुरु हुन्छ । वर माग्नेबाट टुपीडाँडा, त्यसपछि बडिमालिका धर्मशाला, बासुधारा हुँदै बडिमालिका स्टेटतर्फ यात्रा अघि बढ्छ ।

पाटनमा भेटिन्छ प्रकृतिको अर्को संसार
बडिमालिका पुग्दै गर्दा भूगोल फेरिन्छ । घर–बस्ती हराउँदै जान्छन् । अग्ला रुखहरू कम हुँदै जान्छन् । चारैतिर हरिया पाटन देखिन थाल्छन् । बाइस पाटन । नामजस्तै अनगिन्ती हरियालीले भरिएका विशाल मैदानहरू । आँखाले भ्याएसम्म फैलिएको घाँसे मैदान । कतै फूलैफूल । कतै जडीबुटी । कतै बादलले छोएका डाँडा । यहाँ पुगेपछि मानिस केही समयका लागि बोल्न बिर्सन्छ । प्रकृतिले नै भनिरहेको हुन्छ– ‘मलाई हेर, मलाई महसुस गर तर मलाई नबिगार ।’

बडिमालिकाको धार्मिक महत्व जति ठूलो छ, यसको प्राकृतिक महत्व पनि त्यत्तिकै गहिरो छ । उच्च हिमाली भूभागका यी पाटनमा पाइने वनस्पति, फूल तथा जडीबुटीले बडिमालिकालाई जैविक विविधताको महत्वपूर्ण क्षेत्र बनाएका छन् । वनस्पतिविद्, अनुसन्धानकर्ता, प्रकृतिप्रेमी, फोटोग्राफर र साहसिक पर्यटकका लागि बडिमालिका एउटा खुला प्रयोगशाला बन्न सक्छ । तर पर्यटन विकाससँगै एउटा कुरा कहिल्यै बिर्सनुहुँदैन– पर्यटक बढाउने नाममा प्रकृति नष्ट गर्नुहुँदैन ।

बडिमालिकालाई चिनाउने सबैभन्दा ठूलो सम्पत्ति यही प्रकृति हो । उकालोमा हजारौँ पाइला, एउटै गन्तव्य । यी पाइला केवल पर्यटकका पाइला होइनन् । यी पाइला आस्थाका पाइला हुन् । कोही भाकल बोकेर आएको छ । कोही परिवारको सुख–शान्तिका लागि प्रार्थना गर्न आएको छ । कोही पहिलोपटक बडिमालिका देख्न आएको छ । कोही वर्षौंदेखि चलिआएको परम्परालाई निरन्तरता दिन आएको छ । उकालोमा कसैलाई गाह्रो पर्दा अर्को यात्रुले हात दिन्छ । अपरिचितहरूबीच पनि आत्मीयता देखिन्छ । यही हो बडिमालिका यात्राको अर्को सुन्दर पक्ष– यहाँ मानिसहरू गन्तव्यभन्दा अघि मानवताको यात्रा गर्छन् ।

बडिमालिका, जहाँ पुग्दा थकान हराउँछ
बडिमालिका स्टेट पार गर्दै जब मन्दिरको क्षेत्र देखिन्छ, यात्रुको अनुहारमा अचानक परिवर्तन आउँछ । घण्टौँको थकान, पसिना, चिसो, कठिन उकालो– सबै केही क्षणका लागि बिर्सिन्छ । अगाडि देखिन्छ, बडिमालिका । धार्मिक आस्थाको केन्द्र । बाजुराको गौरव । नेपालको हिमाली सम्पदाको एउटा अनुपम चिनारी । बडिमालिका मन्दिर आस्था र श्रद्धाको महासंगम हो । मन्दिर परिसरमा पुग्दा कसैले पूजा गरिरहेको छ । कसैले हात जोडेको छ । कसैले मोबाइलमा तस्वीर खिचिरहेको छ । कसैले परिवारसँग खुशी साटिरहेको छ । कसैका आँखामा आँसु छन्, कसैको अनुहारमा सन्तुष्टि । गन्तव्य एउटै भए पनि हरेक यात्रुको कथा फरक छ । यिनै विविध कथाहरूले बडिमालिकालाई एउटा जीवन्त तीर्थयात्रा बनाएका छन् ।

हरेक वर्ष भाद्र शुक्ल चतुर्दशीका अवसरमा बडिमालिकामा ठूलो धार्मिक मेला लाग्छ । देशका विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु यहाँ पुग्छन् । करिब ४३ जिल्लाबाट तीर्थालु आउने र ५० हजारभन्दा बढी यात्रु बडिमालिका पुग्ने अवस्थाले यसको राष्ट्रिय महत्व देखाउँछ । वर माग्ने डाँडामा पुगेर मागेको भाकल पूरा हुने जनविश्वास छ । त्रिवेणीमा स्नान र ध्यान गरेपछि शुद्ध मनले बडिमालिकाको दर्शन गर्ने धार्मिक परम्पराले यस यात्रालाई अझ विशेष बनाएको छ । त्यसैले बडिमालिका केवल मन्दिर होइन, विश्वासको एउटा लामो यात्रा हो ।
बडिमालिका यात्रामा महिला, ज्येष्ठ नागरिकदेखि बालबालिकासम्म देखिन्छन् । डोटी केदारस्यै गाउँपालिकाकी ८१ वर्षीया वृद्धा आमादेखि १०÷११ बर्से बालक बडिमालिका चुचुरामा पगेको देख्दा लाग्छ, बडिमालिका माता सबैको पहुँचमा छिन् । कठिन उकालो । चिसो मौसम । कहिलेकाहीँ वर्षा । चिप्लो बाटो । तर उनीहरूको पाइला रोकिँदैन । यी तस्वीरहरूले एउटा महत्वपूर्ण सन्देश दिन्छन्– आस्था उमेर, लिंग र भूगोलले रोक्दैन ।

अब प्रश्न विकासको
बडिमालिका पुग्ने यात्रु बढिरहेका छन् । पदमार्गमा रेलिङ चाहिन्छ । जोखिमपूर्ण स्थानमा सिँढी चाहिन्छ । बाटोमा सूचना बोर्ड, विश्रामस्थल र धर्मशाला आवश्यक छन् । खानेपानी, शौचालय, प्राथमिक उपचार र आपतकालीन उद्धारको व्यवस्था हुनुपर्छ । मार्तडीदेखि सोता पाटनसम्म पक्की सडकको माग पनि उठिरहेको छ । सडक खनिएको छ तर यात्रा पाउडण्डीमै सीमित छ । सडक आवश्यक हुनसक्छ तर प्रश्न छ– सडक बनाउँदा बडिमालिकाको प्रकृति जोगिन्छ कि नष्ट हुन्छ ?

उच्च हिमाली क्षेत्रमा विकासको अर्थ डोजर चलाउनु मात्र होइन । जहाँ सडक आवश्यक छ, त्यहाँ वातावरणमैत्री सडक । जहाँ पदयात्राको महत्व छ, त्यहाँ व्यवस्थित पदमार्ग । यही सन्तुलन बडिमालिकाको भविष्य हो । रेलिङ बलियो बनाऔँ, यात्रुलाई सुरक्षित बनाऔँ तस्वीरमा देखिएका यी रेलिङ केवल फलामका संरचना होइनन् । यी हजारौँ यात्रुको सुरक्षाका सहारा हुन् । तर कतिपय स्थानमा रेलिङ कमजोर छन् । कतै बाटो साँघुरो छ । कतै वर्षाले बाटो बिगारेको छ ।

अब बडिमालिका पदमार्गको वैज्ञानिक सर्वेक्षण र जोखिम नक्सांकन आवश्यक छ । जोखिमयुक्त स्थान पहिचान गरेर स्थायी रेलिङ, सिँढी, पदमार्ग र सूचना संकेत निर्माण गर्नुपर्छ ।

बडिमालिका क्षेत्रमा गतवर्ष करिब तीन करोड रुपैयाँको लागतमा नाली निर्माणका लागि बजेट विनियोजन भए पनि अपेक्षित काम हुन नसकेको विषयमा प्रश्न उठेको छ । यदि बजेट विनियोजन भएको हो भने, काम कहाँ भयो ? कति खर्च भयो ? कसले ठेक्का पायो ? गुणस्तर कस्तो छ ? काम सम्पन्न भयो कि भएन ?यी प्रश्नको जवाफ जनताले पाउनुपर्छ । प्रदेशसभा सदस्य बाजुरा ‘क’का पदमबहादुर शाहीले समेत यस विषयमा प्रश्न उठाउनुभएको छ ।

गुठी र पर्यटनको बहस
बडिमालिकामा प्राप्त हुने चन्दा, दान, भेटी तथा धार्मिक स्रोतको पारदर्शी व्यवस्थापन अब बहसको विषय बन्नुपर्छ । ‘बडिमालिका गुठी’ वा उपयुक्त संस्थागत संरचना बनाएर प्राप्त आम्दानीको व्यवस्थित अभिलेख राख्न सकिन्छ । कति चन्दा आयो ? कति भेटी उठ्यो ? कहाँ खर्च भयो ? हरेक वर्ष सार्वजनिक परीक्षण गरियो कि गरिएन ? यी प्रश्नको जवाफ सार्वजनिक हुनुपर्छ ।

यता अनियन्त्रित चरिचरन, फोहोर, अव्यवस्थित निर्माण र मानवीय दबाब बढ्दै गएमा उच्च हिमाली जैविक प्रणालीमा गम्भीर असर पर्न सक्छ । बडिमालिकाको जडीबुटी, फूल, घाँसे मैदान र दुर्लभ वनस्पति संरक्षण गर्नुपर्छ । आज संरक्षण गर्न सकेनौँ भने भोलि बडिमालिका हामीसँग तस्वीरमा मात्र बाँकी रहन सक्छ । मार्तडीदेखि बडिमालिका हुँदै मना द्वारी र नाटेश्वरीसम्मको सम्पूर्ण क्षेत्रलाई जोडेर ‘मालिका सर्किट’ विकास गर्न सकिन्छ ।

यसमा धार्मिक पर्यटनसँगै पदयात्रा, प्रकृति अवलोकन, जडीबुटी अध्ययन, जैविक विविधता, अनुसन्धान, स्थानीय संस्कृति, लोककला, स्थानीय खानपान, होमस्टे, साहसिक पर्यटनलाई जोड्न सकिन्छ । खुशीको कुरा, यस वर्षदेखि बडिमालिका क्षेत्रमा सञ्चारको पहुँच पुगेको छ । नेपाल टेलिकमले वर माग्ने डाँडामा हालै टेलिफोन टावर निर्माण गरेसँगै हजारौँ तिर्थालु पर्यटकले खुशी साटेका छन् ।

बडिमालिका गन्तव्यले बाजुराका युवालाई रोजगारी सिर्जना गर्न सकिन्छ । स्थानीय उत्पादनको बजार विस्तार गर्न सकिन्छ । होटल, होमस्टे, यातायात, गाइड, भरिया, कृषि र हस्तकलामा नयाँ आर्थिक गतिविधि सिर्जना गर्न सकिन्छ । बडिमालिका बाजुराको धार्मिक सम्पदा मात्र होइन, समृद्धिको ढोका पनि बन्न सक्छ । अब बडिमालिकालाई केवल सहज बनाउने मात्र होइन, सुरक्षित, व्यवस्थित र दिगो बनाउने समय आएको छ । रेलिङ चाहिन्छ । धर्मशाला चाहिन्छ । खानेपानी चाहिन्छ । स्वास्थ्य सेवा चाहिन्छ । स्वयंसेवक चाहिन्छ । सूचना केन्द्र चाहिन्छ । सडक आवश्यक ठाउँमा चाहिन्छ । तर यी सबैभन्दा माथि– बडिमालिकाको प्रकृति बचाउनुपर्छ, आस्था बचाउनुपर्छ, मौलिकता बचाउनुपर्छ ।

बडिमालिका केवल एउटा डाँडो होइन, केवल मन्दिर होइन, केवल तीर्थस्थल होइन, बडिमालिका बाजुराको आस्थाको धरोहर हो । नेपालको प्राकृतिक सम्पदा हो र भविष्यको पर्यटन अर्थतन्त्रको सम्भावना हो । अबको संकल्प एउटै हुनुपर्छ– ‘बडिमालिका पदमार्गलाई व्यवस्थित बनाऔँ, बडिमालिकाको प्रकृति जोगाऔँ र आस्थाको यो धरोहरलाई विश्व पर्यटनको गन्तव्य बनाऔँ ।’