लमजुङ।
लमजुङका तीन प्रहरी कार्यालयलाई विपद् व्यवस्थापन तथा उद्धारका लागि आवश्यक सामग्री सहयोग गरिएको छ । ग्रामीण सामुदायिक विकास केन्द्र (आरसिडिसी) नेपाल र वल्र्ड भिजन इन्टरनेशनल नेपालको साझेदारीमा सञ्चालित एकीकृत परियोजना अन्तर्गत बेसीशहर ३ स्थिती सशस्त्र प्रहरी बल रानीकुवा, सुन्दरबजार ८ स्थित इलाका प्रहरी कार्यालय भोटेवडार र दीर्दी स्थित इलाका प्रहरी कार्यालय मञ्ज्याङलाई विपद् व्यवस्थापन सामग्री हस्तान्तरण गरिएको हो ।
प्रत्येक कार्यालयलाई तीन थान त्रिपाल, छ थान गमबुट, छ सेट पञ्जा, तीन थान गल, दुई थान बेल्चा, दुई थान गैँती, दुई थान डोरी, छ थान हेलमेट, एक थान फायर एक्टेचर, दुई थान बाल्टी, चार थान लाइफ ज्याकेट र एक थान काठ काट्ने मेसिन प्रदान गरिएको आरसिडिसीका बजार संयोजक दुर्गाप्रसाद ढुङ्गानले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रत्येक कार्यालयलाई ९८ हजार ८ सय ३० रुपैयाँ बराबरको सामग्री उपलब्ध गराइएको छ । तीनवटै कार्यालयका लागि कुल २ लाख ९६ हजार ४ सय ९० रुपैयाँ बराबरको सामग्री हस्तान्तरण गरिएको हो ।
बाढी, पहिरो, आगलागी लगायतका विपद्का घटनामा तत्काल उद्धार तथा खोज कार्यमा खटिने सुरक्षाकर्मीलाई आवश्यक पर्ने सामग्री उपलब्ध गराइएको संयोजक ढुङ्गानले जनाकारी दिनुभयो । विपद्का बेला आवश्यक पर्ने उपकरण तथा सामग्रीको उपलब्धताले उद्धार र प्रतिकार्यलाई थप प्रभावकारी बनाउन सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
स्थानीयस्तरमा विपद्को जोखिम न्यूनीकरण तथा विपद् प्रतिकार्य क्षमता अभिवृद्धि गर्ने उद्देश्यले परियोजना अन्तर्गत विभिन्न सरोकारवाला निकायसँगको समन्वयमा यस्ता कार्यक्रम सञ्चालन हुँदै आएको आरसिडिसीले जनाएको छ ।











प्रतिक्रिया