हिलो र आँसुबीच जीवन बचाउने क्याप्टेन प्रियाको कथा

सौन्दर्यको मञ्चदेखि मृत्युको खोंचसम्म

0
Shares

जब प्रकृतिका अट्टहासले पहाडका छातीहरू चिरेर बग्छन्, जब उर्लंदो भोटेकोशी र टिमुरेका भयानक पहिरोले सिंगो बस्तीलाई निलिदिन्छन्, अनि जब मृत्युको चित्कार र जीवनको याचनाबीचको रेखा मसिनो बन्न पुग्छ, ठिक त्यही घडीमा नीलो आकाशको छाती चिर्दै आशाको एउटा पंखा गुञ्जिन्छ । त्यो केवल प्राविधिक फलामको पंखामात्र होइन, जीवन र मृत्युको दोसाँधमा छटपटाइरहेका अनगिन्ती आत्माहरूका लागि साक्षात ईश्वरको स्पर्श हो । र, त्यस जटिल यान्त्रिकलाई साहस, संवेदना र अद्वितीय कुशलताका साथ जीवनको दिशामा मोड्ने औँलाहरू हुन् नेपालकी पहिलो महिला हेलिकप्टर क्याप्टेन प्रिया अधिकारी । सन् २००८ मा आमाको सपना पूरा गर्न मिस नेपालको सुसज्जित मञ्चमा सुन्दरता र सौम्यताको परिचय दिएकी प्रिया, आज देशको सबैभन्दा भयावह प्राकृतिक विपद्को अग्रपंक्तिमा उभिएर साहसिकताको नयाँ परिभाषा लेखिरहेकी छन् । सौन्दर्यको रंगीन दुनियाँबाट सुरु भएको उनको यात्रा आज ६,२०० मिटरको ठिहि¥याउने उचाइ र मृत्युले पछ्याइ रहने भयानक खोंचहरूमा जीवन जोगाउने महाअभियानमा बदलिएको छ । यो रूपान्तरण केवल एउटा पेसागत परिवर्तनमात्र होइन, दृढ इच्छाशक्ति, कठोर साधना र मातृभूमिको पीडामा आफ्नै धड्कन मिसाउने एउटा जीवन्त आख्यान पनि हो ।

विनाशकारी बाढी र पहिरोले रसुवाको टिमुरेलगायत नेपाल–तिब्बत सीमावर्ती क्षेत्रलाई तहसनहस बनाउँदा, जहाँ सडकका नाममा केवल हिलाम्य बगर र पहाडका नाममा खसिरहेका चट्टानहरूमात्र बाँकी छन, त्यहाँ क्याप्टेन प्रियाले ६ सात दिनको छोटो अवधिमै १ सयभन्दा बढी जोखिमपूर्ण उद्धार उडानहरू भरिन् । तर, यो कुनै नियमित हवाइ यात्रा वा रोमाञ्चक उडान मात्रै थिएन । अग्ला, नग्न र रूखो पहाडका साँघुरा उपत्यका, जहाँ वायुको चापसँगै पाइलटको धड्कन पनि अनियन्त्रित बन्न खोज्छ, त्यहाँ हेलिकोप्टर नियन्त्रण गर्नु आफैँमा एउटा महापरीक्षा पनि हो । जमिनमा पाइला टेक्न पाउनु त परै जाओस्, अवतरणस्थलमा यति बाक्लो र अस्थिर हिलो थियो कि हेलिकप्टरको पांग्रा छुनेबित्तिकै भासिने खतरा रहन्थ्यो । कतिपय अवस्थामा त इन्जिन बन्द गर्ने छुटसमेत प्रियालाई थिएन । चालु इन्जिनकै पंखाको हुरीबीच, मृत्युको मुखबाट भागेर आएका आत्तिएका मानिसहरूलाई सहारा दिँदै उडान भर्नुपथ्र्यो । एउटै साँघुरो खोंचमा पाँच–छ वटा हेलिकप्टरहरू एकैपटक अवतरणका लागि स्थान खोजिरहँदा, अलिकतिमात्र ध्यान विचलित हुनु वा निरन्तरको रेडियो सञ्चारमा सानो प्राविधिक त्रुटि हुनुको अर्थ हुन्थ्यो अर्को एउटा कहालीलाग्दो दुर्घटना । त्यस्तो भयावह वातावरणमा पनि क्याप्टेन प्रियाको हातले हेलिकप्टरको कमान्ड छाडेन, न त उनको मनोबल नै डगमगायो ।

उक्त साहसिक उडानको पृष्ठभूमि भने लोभलाग्दो र प्रेरणादायी छ । वातावरण विज्ञानको अध्ययन सकेर सुरुमा केबिन क्रुका रूपमा हवाइ सेवामा पाइला टेकेकी प्रियालाई हेलिकप्टरको एउटा ‘जोयराइड’ ले उड्डयनको दुनियाँप्रति यति साह्रै मोहित बनाइदियो कि उनले आफ्नो करिअरको बाटो नै मोडिन् । फिलिपिन्सको कठिन पाइलट तालिम, अहोरात्रको मिहिनेत र कठोर अनुशासनको जगमा उभिएर सन् २०१० मा एयर डाइनेस्टीबाट उडान सुरु गरेकी उनले सन् २०१७ मा नेपालको पहिलो महिला हेलिकप्टर क्याप्टेन बनेर इतिहास रचिसकेकी थिइन् । त्यसपछिका वर्षहरूमा हिमाली खोज तथा उद्धारका अनेकौँ जोखिमपूर्ण मिसनहरूमा आफूलाई तिखारेकी प्रियाको त्यही वर्षौंको अनुभव आज रसुवाको महाविपद्मा मानव सभ्यताको रक्षाका लागि ब्रह्मास्त्र सावित भइरहेको छ । यद्यपि, मेसिन चलाउने पाइलटको शरीरभित्र एउटा असाध्यै कोमल र संवेदनशील मानवीय हृदय पनि धड्किन्छ । सीएनएनका एन्डरसन कूपरसँगको कुराकानीमा उनले स्वीकार गरेकी छन् कि निरन्तरको उडानले उनको शरीरलाई चरम थकानले गलायो । तर, थकानभन्दा ठूलो कर्तव्यको बोध थियो, अनि निद्राभन्दा बढी महत्वपूर्ण ती आँखाहरू थिए, जो आकाशतिर हेरेर सहयोगको याचना गरिरहेका थिए ।

विनाशको त्यो दृश्य कुनै पनि कठोर हृदयलाई पगाल्न काफी थियो । आकाशबाट हेर्दा हिजोसम्म हाँसिरहेका बस्तीहरू आज बगरमा परिणत भएका थिए । जलविद्युत् आयोजनाहरू नामेट भइसकेका थिए र भोटेकोशीको धमिलो हिलोयुक्त बहावमा जीवनहरू तिनका सपनाहरूसँगै बगिसकेका थिए । टिमुरेका गल्ली र बगरहरूमा ठाउँ–ठाउँमा छरिएका निर्जीव शवहरू देख्दा क्याप्टेन प्रियाको मुटु गाँठो पथ्र्यो । उनका अनुसार, यो क्षतिको भयावहता सन् २०१५ को महाभूकम्पको स्मृतिभन्दा पनि अझ बढी पीडादायी र भावनात्मक रूपमा क्षतविक्षत बनाउने खालको छ । तर, त्यही महाविनाशको बीचबाट जब बाढीमा पिसिएका, हिलोले लतपतिएका र आश मारिसकेका जीवित मानिसहरूले हेलिकप्टरको आवाज सुनेर आशाका साथ हात हल्लाउँथे, तब प्रियाको सम्पूर्ण थकान क्षणभरमै गायब हुन्थ्यो । उद्धार गरेर सुरक्षित अवतरण गराएपछि जब उनी ती टोलाएका आँखाहरूमा हेरेर भन्थिन्,“वाह, तपाईं बाँच्नुभयो !”, तब त्यो एउटा वाक्यमा एउटा सिंगो संसार पुनः ब्युँतिएको आभास हुन्थ्यो । ती नागरिकका लागि त्यो हेलिकप्टर केवल एउटा सवारी साधनमात्र थिएन, पुनर्जन्मको ढोका थियो, र प्रिया त्यस ढोकाकी रक्षक थिइन् ।

आकाशमा मृत्युसँग जुधिरहेकी क्याप्टेन प्रियाको पछाडि अर्को एउटा अदृश्य तर महाशक्तिशाली हात छ । ती हुन उनकी ममतामयी आमा । हरेक उडानअघि छोरीको सुरक्षाका लागि भगवान्सँग प्रार्थना गर्ने आमाको त्यो अगाध स्नेह र आस्था नै प्रियाको सबैभन्दा ठूलो सुरक्षा कवच हो । उडान सकिएपछि आमालाई “म सुरक्षित छु” भन्नु उनको दिनचर्याको सबैभन्दा पवित्र हिस्सा बनेको छ । भौतिक विज्ञान र प्रविधिको उच्च शिखरमा रहेर हेलिकप्टर उडाउने एउटी आधुनिक युगकी क्याप्टेन र भगवानलाई सम्झेर छोरीको दीर्घायु खोज्ने एउटी परम्परागत नेपाली आमाबीचको यो सम्बन्धले पूर्वीय दर्शन र आधुनिक साहसको अद्भुत संगमलाई झल्काउँछ । आमाको आशीर्वाद र स्वयंको अदम्य साहसको बलमा प्रियाले आज हजारौँ आमाहरूका काख रित्तिनबाट जोगाएकी छन् ।

अन्ततः, क्याप्टेन प्रिया अधिकारीको यो वास्तविकता केवल एउटा सफल पाइलटको व्यावसायिक विवरणमात्र होइन । संकटको घडीमा कसरी एउटी नारी सम्पूर्ण चुनौतीहरूलाई पन्छाउँदै देश र जनताका लागि रक्षा कवच बनेर उभिन सक्छिन् भन्ने कुराको ज्वलन्त र ऐतिहासिक प्रमाण हो । जब परिस्थितिहरू प्रतिकूल हुन्छन्, जब भूगोलले धोका दिन्छ र जब प्रकृतिले आफ्नो उग्र रूप देखाउँछ, तब प्रियाजस्ता नायकहरूले नै मानव जातिको अदम्य जिजीविषालाई जीवन्त राख्छन् । मिस नेपालको मञ्चमा पाएको क्राउनभन्दा हजारौँ गुणा बढी चम्किलो र मूल्यवान् ताज आज उनले नेपाली जनताको हृदयमा पहिरिएकी छन् । आकाशको नीलो क्यानभासमा साहस, करुणा र समर्पणको जुन चित्र अहिले क्याप्टेन प्रियाले कोरेकी छन्, त्यसले आउने अनेकौँ पुस्तालाई आँट र आत्मीयता छ भने आँधीबेहरीलाई चिरेर पनि जीवनका लागि आशाको नयाँ बिहानी ल्याउन सकिन्छ भन्ने सन्देश दिइरहनेछ ।