जब धनुषको ताँदो तानिन्छ र वायुमण्डल चीर्दै एउटा बाण ७० मिटर टाढाको पहेँलो सेन्टर ‘टेन’ तर्फ अघि बढ्छ, त्यसले केवल कार्बन र आल्मुनियमको सानो टुक्रा मात्र बोकेको हुँदैन । त्यस बाणमा अडिएको हुन्छ एउटा सिंगो राष्ट्रको स्वाभिमान, अनगिन्ती अभावका कथाहरू र महादेशीय खेलकुद मञ्चमा आफूलाई साबित गर्ने तीन दशक लामो सपना । सन् २०१० को चीनस्थित ग्वाङ्झाउ एसियाली खेलकुदबाट सुरु भएको नेपाली तीरअन्दाजी (आर्चरी) को यात्रा आज हाङझाउ हुँदै जापानमा आयोजना हुने २०औँ आइची–नागोया एसियाडको संघारसम्म आइपुग्दा एक ऐतिहासिक मोडमा उभिएको छ । स्रोत र साधनले सुसज्जित प्रतिस्पर्धीहरूको माझमा हाम्रा धनुर्धरहरू केवल खेल मैदानमा ओर्लन मात्रै जाँदै छैनन्, उनीहरू त सीमित स्रोतका बाबजुद नेपाली खेलकुदको अदम्य साहस र आत्मबललाई नयाँ उचाइमा पु¥याउन संघर्षरत छन् ।
नेपाली आर्चरीको यो गौरवमय उपस्थितिका पछाडि एउटा कारुणिक तर असाधारण समर्पणको कथा लुकेको छ । २०औं एसियाड खेल्ने आर्चरी टोली हालैका दिनसम्म नेपाल प्रहरीको महाराजगञ्जस्थित मैदानमा अभ्यास गरिरहेको राष्ट्रिय टोली अन्तिम समयमा आएर हावाको दिशा र खुला स्थानको अनुभव लिन लगनखेलस्थित नेपाली सेनाको राजदल गणको मैदानमा सरेको छ । जहाँ विश्वका शीर्ष टोलीहरू अत्याधुनिक प्रविधि, स्पोट्र्स साइन्स र करोडौँको बजेटमा इन्डोर तथा आउटडोर सुटिङ रेन्जमा वर्षौँ अभ्यास गर्छन्, त्यहाँ हाम्रा खेलाडीहरू आफ्नै निजी धनुष (बो) र सीमित बाण (एरो) को भरमा संघर्ष गरिरहेका छन् । प्रशिक्षक प्रेमप्रसाद पुनको मार्गदर्शनमा भइरहेको यो दैनिकी सामान्य लाग्न सक्छ, तर आफ्नै छातीको ढुकढुकी र सासमा एकाग्रता कायम राख्दै लक्ष्यमा बाण हान्ने यी धनुर्धरहरूको धैर्यता कुनै ठूलो तपस्याभन्दा कम छैन ।
अभाव कतिसम्म गहिरो छ भन्ने कुरा खेलाडीहरूले प्रयोग गर्ने उपकरणबाटै स्पष्ट हुन्छ । एसियन गेम्सजस्तो प्रतिष्ठित प्रतियोगिता नजिकिसक्दा पनि राष्ट्रिय खेलकुद परिषद् र सम्बन्धित निकायबाट नयाँ र अन्तर्राष्ट्रिय स्तरका उपकरण उपलब्ध हुन सकेका छैनन् । अन्तर्राष्ट्रिय खेलाडी ज्ञानु अवाले र तिलक पुन मगरले सन् २०२० को टोकियो ओलम्पिक स्कलरशिप पाउँदा प्राप्त गरेको ‘राइजर’ र धनुषकै भरमा आजसम्म अभ्यास गरिरहेका छन् । अन्तर्राष्ट्रिय प्रतियोगितामा प्रतिस्पर्धीहरूले एउटा धनुष बिग्रिएमा तत्काल अर्को प्रयोग गर्नका लागि कम्तीमा दुईवटा धनुष (स्पेयर बो) बोकेर आउँछन् । तर, नेपाली टोलीसँग प्रत्येक खेलाडीका लागि एउटा मात्र धनुष उपलब्ध छ, जुन अभ्यास वा प्रतिस्पर्धाका क्रममा भाँचिएमा वा बिग्रिएमा प्रतियोगिता नै समाप्त हुने जोखिम रहन्छ ।
धनुष मात्र होइन, बाणको संकट झनै चिन्ताजनक छ । आर्चरीको नियमानुसार एक पटकमा ६ वटा बाण हान्नुपर्ने हुन्छ र सामान्यतया एउटा खेलाडीसँग कम्तीमा दुई दर्जन (२४ वटा) बाण हुनु आवश्यक मानिन्छ । तर, हाल महिला खेलाडी ज्ञानु अवालेसँग मात्र ८ देखि १० वटा पुराना बाण बाँकी छन्, जुन उनले २०१८ को इन्डोनेसिया एसियाडका क्रममा प्राप्त गरेकी थिइन् । अभ्यासका क्रममा अर्काको बाण ठोक्किएर वा निशानामा लाग्दा बाण फुट्ने वा भाँचिने सम्भावना अत्यधिक हुन्छ । तिलक पुन मगर पनि अघिल्लो हाङझाउ एसियाडका बाँकी बाणबाटै अभ्यास चलाइरहेका छन् । बिग्रिएका उपकरणको साटो नयाँ सामग्री माग्दा संघ र सरकारबाट ‘बजेट छैन’ भन्ने एउटै जवाफ आउने गरेपछि खेलाडीहरू उपलब्ध थोरै बाणलाई जतन गर्दै अभ्यास जारी राख्न बाध्य छन् ।
यी सबै सास्ती र भौतिक कमीकमजोरीका बावजुद खेलाडीहरूको आत्मबल र प्राविधिक सुधार भने लोभलाग्दो छ । दैनिक चार घण्टाको निरन्तर र एकाग्र अभ्यासका कारण तिलक पुन मगरले हालैका प्रशिक्षणहरूमा ६६० देखि ६७० सम्मको उच्च स्कोर मेन्टेन गरिरहेका छन्। यो स्कोर उनको व्यक्तिगत करियरकै उत्कृष्ट मात्र होइन, अन्तर्राष्ट्रिय प्रतियोगितामा दोहो¥याउन सकिए नयाँ राष्ट्रिय कीर्तिमान कायम हुने स्कोर पनि हो । त्यसैगरी दोस्रोपटक एसियाडमा सहभागिता जनाउन लागेकी ज्ञानु अवालेले पनि आफ्नो पोस्चर, ब्यालेन्स र टाइमिङमा उल्लेख्य सुधार ल्याएकी छन् । रिकर्भ (ओलम्पिक स्टाइल) इभेन्टअन्तर्गत पुरुष र महिलातर्फ व्यक्तिगत तथा मिक्स टिम स्पर्धामा उत्रन लागेका यी खेलाडीहरू आफ्नो लयलाई बिग्रन नदिई उच्च मनोबलका साथ तयारीमा जुटेका छन् ।
तर, घरेलु मैदानको उच्च स्कोर र अन्तर्राष्ट्रिय प्रतियोगिताको वास्तविक प्रतिस्पर्धाबीच एउटा ठूलो अदृश्य पर्खाल छ, त्यो हो वैदेशिक एक्सपोजर र पूर्वाधारको अभाव । विगतमा इन्च्योन एसियाडअघि कोरियामै गएर वैदेशिक प्रशिक्षण गर्ने अवसर पाएको नेपाली टोली यसपटक भने त्यसबाट पूर्ण रूपमा वञ्चित भयो । अन्तर्राष्ट्रिय प्रतियोगिताहरूमा लामो समयको अन्तरालमा सहभागी हुनुपर्दा नेपाली खेलाडीहरूले पोडियममा उभिँदा ठूलो मानसिक दबाब र नर्भसनेस महसुस गर्ने गरेका छन् । केही समयअघि बंगलादेशमा आयोजित प्रतियोगितामा टोली आफ्नै व्यक्तिगत खर्चमा हवाई टिकट काटेर सहभागी भएको थियो । तर, त्यहाँ मेडल म्याचका क्रममा अगाडि क्यामेरा, टिभी स्क्रिन, दर्शक र पोडियमको भिन्न वातावरण देख्दा एकाग्रता कायम राख्न धेरै कठिन भएको अनुभव तिलक पुन मगर साट्छन् । नेपालमा यस्तो पोडियम र अन्तर्राष्ट्रिय स्तरको वातावरणमा अभ्यास गर्ने सुविधा नहुनु नै खेलाडीका लागि ठूलो बाधक बनेको छ ।
एसियन गेम्समा दक्षिण कोरिया, जापान र चीनजस्ता आर्चरीका विश्व च्याम्पियन राष्ट्रहरूसँग प्रतिस्पर्धा गर्नु आफैँमा ओलम्पिक खेलेसरह कठिन मानिन्छ । विश्वका शीर्ष ८–९ वटा शक्तिशाली देशहरू एसियामै रहेकाले तत्कालै पदकको दाबी गर्नुभन्दा आफ्नो स्कोरमा सुधार ल्याउनु र राष्ट्रिय कीर्तिमान रच्नु नै नेपाली टोलीको पहिलो यथार्थपरक लक्ष्य हो । सीमित स्रोत, पुराना उपकरण र सरकारी उदासीनताका बीच उब्जिएको नेपाली आर्चरीको यो कथा केवल एउटा खेलको तथ्याङ्क मात्र होइन, खेलाडीहरूको पसिना, त्याग र आशाको जीवन्त गाथा हो । राज्यले उचित पूर्वाधार, पर्याप्त लगानी र आधुनिक उपकरणको ग्यारेन्टी गर्न सके यी बाणहरूले केवल लक्ष्य मात्र भेद्ने छैनन्, महादेशीय खेलकुदको मञ्चमा नेपाली झण्डालाई गर्वका साथ फहराउनेछन् । जबसम्म धनुषको ताँदो तान्ने हातहरू थाक्दैनन्, तबसम्म एसियाडमा पदकको सपना कहिल्यै मर्दैन ।












प्रतिक्रिया