आज देशभर वर्षाको सम्भावना, कोसी र सुदूरपश्चिममा भारी वर्षाको चेतावनी


काठमाडौं । देशभर मनसुनी वायुको प्रभाव कायम रहँदा आज सोमबार अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ अर्थात् नेपालनजिक रहेको छ। साथै, उत्तर प्रदेश आसपास बनेको न्यूनचापीय क्षेत्रको प्रभावसमेत नेपालमा परिरहेको छ। यी प्रणालीका कारण आज वर्षाको सम्भावना बढेको मौसमविद्हरूले बताएका छन्।

सोमबार बिहान ८ बजेको विवरणअनुसार कोसी र सुदूरपश्चिम प्रदेशमा अधिकांश भूभागमा बादल लागेको छ भने मधेस, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा सामान्यतया बादल लागेको छ। कोसी, मधेस, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा बागमती प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशभर सामान्यतया बदली रहनेछ। हिमाली भूभागका केही तथा पहाडी भूभागका धेरै स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा तथा हिमपातको सम्भावना रहेको छ।

त्यस्तै, कोसी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईका केही स्थान तथा मधेस, बागमती र गण्डकी प्रदेशका तराईका थोरै स्थानमा समेत मेघगर्जन र चट्याङसहित मध्यम वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

महाशाखाका अनुसार कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भूभाग र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ।

आज रातिसमेत देशभर सामान्यतया बदली रहनेछ। कोसी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभागका केही स्थान तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा तथा हिमपातको सम्भावना छ।

यस्तै, पहाडी तथा तराई भूभागका केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। कोसी र सुदूरपश्चिम प्रदेशका पहाडी तथा तराई भूभागका एक–दुई स्थानमा राति पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।

भारी वर्षाको सम्भावना रहेका क्षेत्रमा बाढी, पहिरो तथा डुबानको जोखिम हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन मौसमविद्हरूले आग्रह गरेका छन्।