बाढीपछिको बाध्यता– तत्कालका लागि तुइन

0
Shares

हेटौंडा ।

भोटेकोशीको बाढीले नेपाललाई पुनः तुइन युगतर्फ नै फर्काएको छ । तत्कालको समस्या समाधानमा केही सहजता हुने आशासहित तुइन निर्माण प्राथमिकतामा पारिएको हो । पुलहरु बगाएर आवागमन प्रभावित भएपछि बागमती प्रदेश सरकारले नुवाकोटका पाँच स्थानमा तुइन जडान गर्न थालेको छ । तत्काल उद्धार तथा स्थानीयको आवतजावत सहज बनाउन प्रदेश सरकारले वेत्रावती, भैंसे, ढुंग्रे, सिमलचौर र देवीघाटमा तुइन जडान गर्न लागेको हो । त्रिशुली नदीको त्रिशुलीबजारमा सोमबार तुइन जडान गरिएको छ ।

बुधबार आएको बाढीले भोटेकोशी र त्रिशुली नदी क्षेत्रका विभिन्न पुलमा क्षति पु¥याएपछि कतिपय क्षेत्रमा सडक सम्पर्क प्रभावित भएको छ । पुलबाट हुने नियमित आवतजावत रोकिएपछि प्रभावित क्षेत्रमा राहत तथा अत्यावश्यक सामग्री पु¥याउनसमेत कठिनाइ भएको छ । प्रदेश सरकारले बाढीप्रभावित क्षेत्रमा पहिलो चरणमा तत्काल आवतजावत कायम गर्न तुइन जडान र वैकल्पिक सडक सञ्चालनलाई प्राथमिकता दिएको छ । पुल तथा सडक तत्काल पुरानै अवस्थामा फर्काउन समय लाग्ने भएकाले अस्थायी संरचनामार्फत आवागमन सहज बनाउने काम भइरहेको हो ।

प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले पाँचवटामध्ये ढुंग्रे र देवीघाटमा तुइन तयार भइसकेको जानकारी दिएको छ । बाँकी वेत्रावती, भैंसे र सिमलचौरमा क्रमशः तुइन जडानको काम अगाडि बढिरहेको छ । मन्त्रालयका अनुसार विभिन्न स्थानमा जडान गरिने तुइन करिब २ सयदेखि ३ सय मिटरसम्म लम्बाइका छन् । भौगोलिक अवस्था र आवश्यक संरचनाअनुसार लागत केही फरक पर्न सक्ने भए पनि एउटा तुइन निर्माणमा करिब १५ लाख खर्च हुने अनुमान गरिएको छ ।

तुइन निर्माणका लागि आवश्यक सम्पूर्ण आर्थिक व्यवस्थापन प्रदेश सरकारले गरेको छ । संघीय सरकारअन्तर्गत स्थानीय पूर्वाधार विभाग (डोलिडार) र नेपाली सेनाले भने प्राविधिक सहयोग गरिरहेको छ । यी तुइन दीर्घकालीन संरचना होइनन् तर तत्काल उद्धार र आवतजावतका लागि बनाइएको हो । पुल तथा सडक सम्पर्क टुटेको अवस्थामा तत्काल वारपार गर्ने व्यवस्था मिलाउन तुइन जडान गरिएको जानकारी दिइएको छ । तुइनपछि क्षतिग्रस्त पुलको विकल्पमा बेलीब्रिज जडान गर्ने तयारीसमेत प्रदेश सरकारले थालेको छ । प्रदेश सरकारसँग उपलब्ध बेलीब्रिजमध्ये कुन–कुन स्थानमा जडान गर्न सकिन्छ भन्ने विषयमा प्राविधिक अध्ययन भइरहेको छ ।

बाढीबाट सडक तथा पुलमा पुगेको क्षतिका कारण सम्पर्क प्रभावित भएका क्षेत्रमा प्रदेश सरकारले वैकल्पिक सडकको खोजी र मर्मतको कामसमेत अगाडि बढाएको छ । स्थायी पुल तथा सडक संरचना पुनस्र्थापना नहुँदासम्म प्रभावित क्षेत्रमा आवागमन कायम राख्न अस्थायी तथा वैकल्पिक संरचनालाई प्राथमिकता दिइएको प्रदेश सरकारले जनाएको छ ।