नेपालका नदी प्रणाली र तटीय क्षेत्रको अवस्था

0
Shares

मुगु ।
विश्वमा तापमान वृद्विका कारण बर्खायाममा नेपालले ठूलो जनधनको क्षति भोग्न बाध्य हनुको अवस्था छ । हालै भदौ १० गते भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले रसुवा, नुवाकोट, धादिङ, चितवनलगायतका क्षेत्रमा पु¥याएको क्षति यसकै निरन्तरता हो । त्यसै गरी, उच्च हिमाली क्षेत्रमा परेको अविरल वर्षा र हिमताल आसपास खसेका पहिरोका कारण सुदूरपश्चिमको अपी हिमाल क्षेत्रबाट उत्पत्ति हुने चमेलिया नदी र देशकै लामो कर्णाली नदीको बहाव त्रासदीपूर्ण ढंगले बढेको छ ।

नेपालका धेरैजसो ठूला र तीव्र बहाव भएका नदीहरूको उद्गमस्थल छिमेकी चीनको तिब्बत स्वायत्त क्षेत्र हो । जलजलवायु परिवर्तनको तीव्र असर, तापक्रम वृद्धि र हिमाली भूगोलको कमजोर बनावटका कारण तिब्बत तथा नेपालका उच्च हिमाली क्षेत्रमा रहेका हिमताल विस्फोटन र हिमपहिरोको जोखिम दिनप्रतिदिन बढ्दो छ । नेपालका नदीतटीय क्षेत्रमा विद्यमान यिनै जोखिमहरू, यसका बहुआयामिक असर र दीर्घकालीन समाधानका उपायहरूबारे विश्लेषण गरिएको छ ।
भोटेकोशीमा आएको बाढीले नदीतटीय बस्ती, सडक सञ्जाल र स्थानीय पूर्वाधारमा ठूलो क्षति पु¥यायो । भोटेकोशीको तीव्र बहावले मध्यपहाडी तथा तराईका जिल्लाहरू– रसुवा, नुवाकोट, धादिङ हुँदै चितवनसम्मका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउनुपर्ने स्थिति सिर्जना ग¥यो । त्यस्तै, अपी हिमाल क्षेत्रमा खसेको पहिरोका कारण चमेलिया नदीको बहाव एक्कासि बढेको छ भने महाकाली र कर्णाली नदी प्रणालीमा जलस्तर खतराको तहभन्दा माथि पुग्ने जोखिम कायम छ । हिमाली भूगोलमा मनसुनी वर्षासँगै हिमपहिरो जाने र त्यसले साना–ठूला नदीहरू थुनेर एक्कासि फुट्ने परिघटनाहरू दोहोरिरहेका छन् ।

नेपालका मुख्य तीन नदी प्रणाली (कोशी, गण्डकी र कर्णाली) तथा तिनका सहायक नदीहरू जस्तै– भोटेकोशी, तामाकोशी, अरुण, सनकोशी, त्रिशूली र तमोरको उद्गमस्थल तिब्बती पठार हो । यी नदीहरूमा जोखिम बढ्नुको मुख्य कारणमा हिमताल विस्फोटनको खतरा हो । तिब्बत र नेपालको सीमावर्ती हिमाली क्षेत्रमा हजारौँको संख्यामा हिमतालहरू रहेका छन् । तापक्रम वृद्धिका कारण हिउँ पग्लिने क्रम तीव्र छ, जसले गर्दा तालहरूको आकार बढ्दै गएको छ र कमजोर माटो÷ढुंगाको बाँध भुइँचालो वा पहिरोका कारण फुटेर जलप्रलय ल्याउने जोखिम सधैँ रहन्छ ।

अन्तरदेशीय सीमापार जोखिम नेपालभित्रको मौसम सामान्य देखिए तापनि तिब्बत क्षेत्रमा भारी वर्षा वा हिमपहिरो जाँदा नेपालतर्फ पूर्वसूचनाविना नै भीषण बाढी आउने गर्छ । नवीनतम हिमाली पहाडहरू कमजोर माटो र चट्टानले बनेका छन् । उच्च वेगमा बहने नदीहरूले कटान गर्दा तटीय क्षेत्रमा ठूला–ठूला पहिरो जाने र नदी थुनिने खतरा रहन्छ । नदीको जलस्तर अप्रत्याशित रूपमा बढ्दा रसुवादेखि चितवनसम्म र सुदूरपश्चिमका चमेलिया÷कर्णाली तटीय क्षेत्रमा नदीकिनारका बस्तीहरू डुबानमा पर्ने, घरखेत बग्ने र नागरिकहरू विस्थापित हुनुपर्ने स्थिति बनेको छ ।

जलविद्युत् आयोजनाहरू, पक्की तथा झोलुंगे पुलहरू, राजमार्ग र सिँचाइका नहरहरू बाढीको पहिलो निशाना बन्ने गरेका छन् । यसले देशको अर्थतन्त्रमा करोडौँको नोक्सानी पु¥याउँछ, तटीय क्षेत्रका उर्वर कृषियोग्य जमिन कटान हुनुका साथै नदीक्षेत्रको पारिस्थितिक प्रणालीमा गम्भीर असर परेको छ । नदीतटीय जोखिम न्यूनीकरणका क्षेत्रमा नेपालले अझै धेरै चुनौतीको सामना गरिरहेको छ । चीनको तिब्बत क्षेत्रमा हुने जलवैज्ञानिक र मौसमी परिवर्तनका तथ्यांकहरू वास्तविक समयमा प्राप्त गर्ने संयन्त्र अझै पूर्ण र प्रभावकारी हुन सकेको छैन । नदीको प्राकृतिक बहाव क्षेत्रमा अव्यवस्थित बस्ती विकास, बालुवा–गिटीको दोहन र निर्माण कार्य रोक्न सकिएको छैन । धेरैजसो साना र हिमाली नदीहरूमा अझै पनि स्वचालित बाढी मापन र पूर्वसूचना संयन्त्र स्थापना हुन सकेको छैन ।
चोटेकोशी, चमेलिया, कर्णालीजस्ता नदीहरूमा दोहोरिने यस्ता विपद्बाट बचावट गर्न र तटीय क्षेत्रलाई सुरक्षित बनाउन कदमहरू तत्काल र दीर्घकालीन रूपमा चाल्नु आवश्यक छ । नेपाल र चीन सरकारबीच जलवैज्ञानिक तथ्यांक आदानप्रदानसम्बन्धी सम्झौतालाई अझ सुदृढ र प्रविधिमैत्री बनाउनुपर्छ, ताकि तिब्बतमा कुनै ताल फुट्दा वा पहिरो जाँदा नेपालका तटीय क्षेत्रले पूर्वसूचना पाऊन् ।

अपी, भोटेकोशी, कर्णालीलगायतका जोखिमयुक्त नदीक्षेत्रमा सेन्सरमा आधारित स्वचालित पूर्वसूचना प्रणाली जडान गरी स्थानीय तहका विपद् व्यवस्थापन समितिसँग जोड्नुपर्छ । नदीको बहाव क्षेत्र र कटानको जोखिम भएका स्थानहरूमा भवन निर्माण तथा स्थायी बसोबास पूर्णरूपमा प्रतिबन्धित गरिनुपर्छ । त्यस्तै जोखिममा रहेका बस्तीहरूलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्ने एकीकृत योजना बनाउनुपर्छ ।

केवल कङ्क्रीटको तटबन्धनमा भर पर्नुको साटो जैविक इन्जिनियरिङ वृक्षारोपण र नदीको प्राकृतिक बहावलाई नछेकिने गरी पूर्वाधार निर्माण गरिनुपर्छ । प्रकृतिसँगको द्वन्द्वमा मानव समुदाय सधैँ पराजित हुन्छ । मनसुनी अतिवृष्टि, हिमताल विस्फोटन र हिमाली पहिरोजस्ता प्राकृतिक परिघटनाहरूलाई रोक्न नसकिए तापनि तिनबाट हुने क्षतिलाई पूर्वतयारी र प्रविधिको सही प्रयोगबाट न्यूनतम तहमा झार्न सकिन्छ । भोटेकोशी र चमेलियामा देखिएको हालैको संकटले हामीलाई फेरि एकपटक झस्काएको छ । तीनै तहका सरकार, कूटनीतिक निकाय र स्थानीय समुदाय मिलेर एकीकृत विपद् जोखिम न्यूनीकरण रणनीति नलगाएसम्म नेपालका नदीतटीय क्षेत्रहरू सधैँ त्रासमा बाँच्न बाध्य भइरहने छन् ।