सन्दर्भ निजामती दिवस: विधिको शासनमा भदौ बाइस

0
Shares

वर्षमा एकपल्ट मनाइने निजामती सेवा दिवस भाद्र २२ आइपुगेको छ । गतवर्षको भाद्र २३, २४ ले क्षतविक्षत भएको नेपाली मनलाई अहिले रसुवागढीको बाढीले मर्माहतै पारेको छ । तैपनि औपचारिक धेरै कर्म नहुँदै यसपालिको कर्मचारी दिवस सकिएला नै, किनकि धेरै कर्मचारीहरु गएको साता बाढीमा होमिएका छन्, हेलिएका छन् । कर्मचारी मात्रै होइन, अरु पनि धेरै छन् । यो विपद्को भुमरीमा अहिले धेरैले भड्किलो तीजको कार्यक्रम रद्द गरेर उद्धार कर्ममा हात पैmलाएका छन् । सहयोगी मनहरु, स्वदेश–विदेशबाट सामग्री र धनको ओइरो लागिरहेको छ ।

उडेको बाजले भुइँको परेवा देख्छ, गिद्धले सिनो देख्छ, कागले जुठोपुरो देख्छ, भँगेरा, चराचुरुँगीले बिस्कुन देख्छन्, सर्पले भ्यागुतो देख्छ । यस्तै अस्पतालले बिरामी देख्छ, व्यापारीले उपभोक्ता देख्छ, चिकित्सकले बिरामी देख्छ, विद्यालयले विद्यार्थी देख्छ र विद्याभन्दा बढी वस्तु बेच्छ । नक्कली भेषधारी पण्डाहरुले यजमान देख्छन् । यसै मेसोमा सबैलाई खाने काल हो, अर्थात् समय । संस्कृतमा एक भनाइ छ– काल व्याल मुख ग्रास त्रास निर्णास हेतवे । भनौँ, मान्छेलाई कालले सताइरहेको हुन्छ, भयरुपी कालले सूचना नगरी मान्छे खान्छ, यो उसको धर्म हो, उसले धर्म छोडेको छैन, धर्म छोडेको मान्छेले हो, खर्बौं खर्ब लगाएर संविधान बनायो, सुशासन र विधिको शासन, पारदर्शिता, उपभोक्ता हकहितदेखि ठूला मानवअधिकार र मौलिक हकहरुको पुस्तकालय प्रयोग ग¥यो, उपलब्धि भनेको हातमा आयो शून्य छ ।

दशकैपिच्छे ठूला र वर्षैपिच्छे अरु साना–ठूला चोट सहिरहेको छ देशले मात्रै होइन, देशवासीले पनि । घरी–घरी बाकसमा घाट फर्कने नेपाली अहिले बाकस पनि नपाएर लहरै एकै चिहानमा गाडिएका छन्, आधिकारिक संयन्त्रले नै गाडेको छ । मुटुमाथि ढुंगा राखेर हेर्नेले हेरिरहेका छन्, गर्नेलाई असहज छैन, देख्नेलाई असहज भइरहेको छ । यसो भनौँ, जुन राहत कार्यमा संलग्न जनशक्ति छ, त्यसको मूल कानुन परिवर्तित सरकारले पनि निजामती सेवा ऐन ल्याएन, ल्याउन चाहेन, महँगीको विकराल मुखमा १० प्रतिशत तलव बढ्दा एक महिनाको तलव लिन नपाउँदै कर कलेक्सनदेखि अन्य सरकारी सेवामा लागेका कर्मचारी हराएका छन्, मरेका छन्, घाइते छन् । कर्मचारी पनि चोखा त होइनन्, समुद्रमा बस्ने माझीले जाल हालेर पनि माछा समात्न खप्पिस हुन्छ, यसै असारमा पनि धेरै थरीका कर्मचारी अख्तियारको थुनुवा कक्षमा हाउसपूmल भइदिए ।

अहिले सेना, प्रहरी, निजामती, संस्थानदेखि हरक्षेत्रको जनशक्ति उद्धार र राहतमा लागेको छ । यो धार्मिक र मानवीय सेवामा लामो हात गर्न थाले भने राज्यको कानुनले त नदेख्ला, दैवको सीसी क्यामेराले देख्छ । जुन दैवी पीडा परेको छ नेपालीलाई, हिमालय क्षेत्र ग्लेसियर पग्लिएर र जलवायु परिवर्तन भएर भनिए पनि शिवजी रिसाएका हुन्, त्यो क्षेत्र शिव निवास हो, सजिलोका लागि शिव पशुपतिमा आइदिएका मात्र हुन्, राष्ट्रदेव हुन् ती । पशुपतिमा नमागेको क्वीन्टल सुन चढाएर राज्यको ढुकुटीमा सुनकै आप्mनो नाम लेखाउनेहरु अहिले सत्ताबाहिर उछिट्ट्एिका छन् । यही क्रम भए भोलि यो नयाँ सत्ता पनि उछिट्टियो भने कर्मको फल नै भन्नुपर्ला, किनकि धर्मप्रतिको द्वेष अहिले पनि घटेको छैन, बढेको छ र पहिलो गाँसमै ढुंगा लागेर धनीमानी सरकारका मन्त्रीहरुले एक महिनाको तलव त गुमाउनै परेको छ । कर्मचारीको पनि ओहोदाअनुसारको काट्ने सर्कुलर भइसकेको छ ।

यसो भनौँ, जताबाट पनि मार पर्ने कर्मचारी नै हुन् । अरुलाई पनि महँगीको उपहार, बिजुलीको भ्याटको उपहार, विद्यालय करदेखि स्वास्थ्यकर असुलेको छ सरकारले । सरकार भन्नु स्थायी निजामती नै हो, तिनको नीचमति गराउने अरु कोही होइनन्, राजनीतिक नेतृत्व, तिनका भ्रातृ संगठन, ट्रेड युनियनहरु हुन्, जसले समुद्रका माछा मार्न सिकाए, बल्छी हाल्न सिकाए, माउहरुलाई बाउ माने, घरघर धाए, उर्बर स्थानमा सरुवा मिलाए, पहुँचका आधारमा मालदार कार्यालय पुगे, सात पुस्ताको जोहो गरे, दलमा नलाग्ने र झोला नभिर्नेहरु छायामा परे । बढेको पेन्सनको मार पनि तिनैलाई परेको छ । सरकारले बाठो भएर महँगी र प्रोत्साहन भत्ता भन्यो । चालु कर्मचारीलाई दियो, बेचालु कर्मचारीलाई दिएन । औषधि र बिमा सुविधा कटायो । भान्छामा भ्याट लगायो । ग्यास सिलिन्डरको जुलुस चलायो । शहीद थप्यो । अहिले अनायासै उसलाई वज्रपात भएको छ । रसुवागढीतिर भएभरको जनशक्ति प्रयोग गरिरहेको छ । अतः यसपालि पनि पूँजीगत खर्च हुनेछैन, जसबाट रोजगारी सिर्जना, पूर्वाधारको विकास र उत्पादन वृद्धि होस् । यसो भनौँ, अरु विदेशी कहाँ पुगे ? हामी पछिल्तिर धकेलिँदै सधैँको राहत र विदेशी दानबाट भीक्षार्थी कहलिएर विप्रेषणको अब्बल देश भएका छौँ । न ईयुको आकाश हामीलाई खुला छ, न खैरो सूचीबाटै हामीले त्राण पाएका छौँ । विदेशी सहयोग र ऋणले पालिएको लोकतन्त्रको ढर्रा बढी संयन्त्रको धेरै सरकार र कम जनसंख्याको देशले चिनिएर जीवन बडो मुस्किलका साथ चलाइरहेका छौँ ।

सेवा गर्दा कसैको केही नखाई गर्नुपर्छ । निजामती सेवा दिवस संयोगले एकादशीमा परेको छ । यसको सन्देश के हो भने, एकादशीमा भोकै रहनुपर्छ । यसले शरीरको मेटाबोलिजम दरो हुन्छ र शरीर छिटो डिटक्सिटाइट हुन्छ । एकदिन दुई हप्तामा भोको बस्दा शरीर बढी स्वस्थकर हुन्छ । त्यो दिनको अन्न बचत भई अरुलाई हुन्छ र आयातमा केही कम भई व्यापारघाटा पनि कम हुन्छ । वर्षमा २४ एकादशी, यो वर्ष त २६ वटा परेको छ । २६ एकादशीमा सबैले एकछाक वा एकदिन अन्न छोडे कति बचत हुन्छ त ? अर्को कुरा, एकादशीमा प्राण भएका खानेकुरा नखानु भनिएको छ । बोक्रासहित वस्तुमा प्राण हुन्छ, रोपे धेरै फल्छ । बोक्रा झिकेको धान चामल हुन्छ । चामल चिसो पारी बोरामा राखे एकैदिनमा कीरा पर्छ । कीरा पनि प्राण हो । त्यसैले यस दिन चामल नखानू, पाप लाग्छ भनिएको हो । पाप भन्नु प्रदूषण हो– तनको, धनको र मनको । ती सबै शुद्धीकरणका लागि राज्यको सेवामा समर्पित हुनुपर्छ । लोकसेवा वा अन्य परीक्षा पास भएर जानेहरु राज्यको सेवा दिने गर्छन्, सेवा नै धर्म हो । धर्म कमाउन मठमन्दिर नै जानुपर्ने होइन, असल नियतको सेवा, चोखो कर्म नै धर्म हो ।

भाद्रले लिएको सत्ता भाद्रले नै खोस्ने हो कि शंका हँुदैै छ । आउने चुनाव नजिक छ, स्थानीय चुनावमा जाने एजेन्डा के होला ? विकास ठप्प, पूँजीगत खर्च ठप्प, रोजगारी ठप्प, उत्पादन ठप्प, नागरिकता प्रमाणपत्रले हुने सबै काम ठप्प । विदेशी सप्mटवेयरले बन्ने एनआईडी त्यो पनि वृद्धभत्ता रिन्यु नगर्ने, नसक्नेहरु धेरै भइसकेका छन् । राहत र आहतको बाढी, राहतका नाममा असुली धेरै, जनता बढी ठगिने भइरहेका छन् । कोरोनाले ठगिए, पश्चिमको भूकम्प, केन्द्रको भूकम्प, वर्षैपिच्छेको बाढी–पहिरो, नाकाबन्दी, धेरै असह्य पीडाका बीच नेपालीहरु त्रस्त छन् र पोको बोकेर धेरै बाहिर कुदिसकेका छन् । रहनेहरुलाई पीडा धेरै छ । पीडामा मलहम लगाउने सरकारलाई भ्याट सरकार, कर सरकार, चन्दा असुल्ने सरकार भन्नुपरेको छ । सेवा अचाक्ली महँगो छ ।

राहतको खोला बग्दै छ । खोलाले मान्छे बगाएजस्तै राहतले कसैलाई नबगाओस् । गाँस काटेर दिइएको राहतको गलत प्रयोग भई योभन्दा भीषण संकट देश र देशवासीले बेहोर्नुपर्ने हुनसक्छ । शवबाट सुन लुछ्ने, बैंकका बाकस फोर्ने, ग्यास सिलिन्डर खोलाबाट घर पु¥याउने शैली पनि देखियो । पाए दुवै हातले खाने शैली राम्रो होइन । मर्नेहरुकै नाममा सद्गतमा त्यो खर्चिनु राम्रो हुन्छ । अरुको जुठो सोहोर्नेलाई बढी पाप लाग्छ । पाप–धर्मको कुरा गर्दा, नैतिक शिक्षाको पाठ्यक्रम हटाइयो । इमानदार जनशक्ति तयार गर्ने संस्कृत शिक्षा हटाइयो । विज्ञानभन्दा ज्ञानको बढी महत्व थियो र छ, तर विज्ञान–विज्ञान भनिरहँदा विज्ञानले अहिले दर्दनाक परिवेश सिर्जना गरेर हरहर महादेव बचाऊ भन्नुपरेको छ ।

पलान्चोककी देवी वा दोलखाका भीमसेनलाई किन पसिना आउँछ ? बालेनले लगाएको कपडामा किन टिप्पणी भइरहेको छ र मुस्ताङ उनी किन गएका हुन, संसद् छलेर ? भन्ने पनि आम जिज्ञासा भइरहेको छ । यसो भनौँ, शासकले गरेका हरेक कर्मका फल शासितले भोग्नै पर्छ, जहिले पनि । धर्मकर्म एकातिर छोडेर गतिलो शासन दिन्छु भन्नु महाभूल हुन्छ । यस्तो भूल अतीतमा पनि धेरै भए । असल शासकका गुरुहरु धेरै हुन्छन् । शिर बिग्रे पुच्छरसम्म बिग्रन्छ, शिरदेखि माझ सफा भएपछि मात्र छेउ–कुनो सफा हुन्छ । त्यसैले माथिदेखि सफा हुनुपर्छ । शासकदेखि कर्मचारी अनि दुनियाँ नै सफा हुनु जरुरी छ । यसका लागि तिनका गुरुहरुबाट सफा निःस्वार्थ सल्लाह हुनुपर्छ । निजामती दिवसको सार्थकता पनि यसैमा छ ।