काठमाडौँ।
भोटेकोशीमा आएको विनाशकारी बाढीले घर, सडक, पुल र संरचना मात्र बगाएन, कैयौँ परिवारका प्रियजनसमेत बेपत्ता बनायो । बाढीको भेल थामिएपछि प्रभावित क्षेत्रमा एउटा प्रश्न सबैभन्दा ठूलो बन्यो, माटो, ढुंगा र भग्नावशेषभित्र हराएका आफ्ना मान्छे कहाँ छन् ?
मानिसको आँखाले देख्न नसक्ने, उद्धार उपकरण सहजै पुग्न नसक्ने र गहिरो भग्नावशेषभित्र लुकेका जीवन तथा अवशेष खोज्ने जिम्मेवारीमा सुरक्षाकर्मीहरूसँगै खटिए तालिमप्राप्त केनाइन अर्थात् उद्धार कुकुरहरू । उनीहरू बोल्न सक्दैनन् । हराइरहेको व्यक्तिको नाम भन्न सक्दैनन् । तर मानिसले महसुस गर्न नसकेको गन्ध पछ्याउँदै उनीहरू चुपचाप त्यही ठाउँसम्म पुग्छन्, जहाँ सम्भवतः कुनै परिवारको आशा लुकेको हुन्छ ।
भोटेकोशी बाढीपछिको खोज तथा उद्धार अभियानमा नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपालका तालिमप्राप्त केनाइनले यही मौन तर महत्वपूर्ण भूमिका निर्वाह गरिरहेका छन् । बाढी, पहिरो र भग्नावशेषमा मानिस पुरिएपछि उनको शरीरबाट निस्कने गन्ध पत्ता लगाएर खोजी गर्न विशेष तालिम दिइएका कुकुरहरू प्रभावित क्षेत्रमा परिचालित छन् । भग्नावशेष वा माटोभित्र पुरिएका मानिसको गन्ध पत्ता लगाउन सक्ने भएकाले ठूलो क्षेत्रलाई छोटो समयमा ‘स्क्यान’ गर्न केनाइन उपयोगी हुने नेपाल प्रहरीले जनाएको छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक अबिनारायण काफ्ले केनाइनको प्रयोगले खोज तथा उद्धारलाई छिटो र प्रभावकारी बनाउन सहयोग पुगेको बताउनुहुन्छ । उद्धारकर्मी वा उपकरण पुग्न कठिन भूभागमा समेत कुकुर परिचालन गर्न सकिने भएकाले बाढी तथा पहिरोबाट प्रभावित क्षेत्रमा यसको उपयोगिता अझ बढेको उहाँको भनाइ छ ।
यही क्षमताका कारण भोटेकोशी बाढीपछि रसुवा, नुवाकोट, धादिङ, चितवनलगायत क्षेत्रमा केनाइन टोलीलाई निरन्तर परिचालन गरिएको छ ।
रसुवाको टिमुरे र घट्टेखोलालगायत क्षेत्रमा नेपाल प्रहरी केनाइन कार्यालयबाट खटिएको टोलीले निरन्तर खोजी ग¥यो । जर्मन शेफर्ड जम्बो र बेल्जियन शेफर्ड रक्की पनि यही अभियानका सदस्य थिए ।
बाढीले तहसनहस पारेको भूभागमा उनीहरूलाई हिँडाउनु आफैँमा चुनौतीपूर्ण थियो । चारैतिर चट्टान, हिलो, भग्नावशेष र बाढीले बदलिएको भूगोल । तर ह्यान्डलरको संकेत पाउनेबित्तिकै उनीहरू सम्भावित स्थानतर्फ अघि बढ्थे । त्यही खोजीका क्रममा टिमुरेबाट दुई शव र एउटा शरीरको अंग फेला पार्न सफल भए ।
परिवारका लागि त्यो दृश्य पीडादायी थियो । तर बेपत्ता आफन्तको कुनै अत्तोपत्तो नपाएर अनिश्चित प्रतीक्षामा बसेकाहरूका लागि शव भेटिनु पनि एउटा कठोर सत्यसँगै आउने राहत थियो । कम्तीमा अब आफ्नो मान्छेको अवस्था थाहा पाउन सकिने भयो ।
नुवाकोटका विभिन्न प्रभावित क्षेत्रमा पनि केनाइन टोलीले खोजीलाई निरन्तरता दियो । विदुर, अर्चले, शान्तिबजार, मैलुङ हाइड्रोपावर, ढुंगे, देवीघाट, बेत्रावती, भैंसे र बट्टारलगायत क्षेत्रमा लियो र कालु परिचालित भए । मैलुङ हाइड्रोपावरको कर्मचारी आवासमा उनीहरूको खोजीले एउटा सानो शरीरको अंगसम्म पु¥यायो । बट्टारस्थित सोलार हाउसमा हत्केलाको भाग फेला प¥यो ।
सामान्य अवस्थामा एउटा हत्केलाले कुनै अर्थ नराख्न सक्छ । तर आफ्ना प्रियजनको कुनै चिनोसमेत नपाएका परिवारका लागि त्यो सानो अवशेष पनि पहिचानको एउटा सम्भावित आधार बन्छ । बेपत्ता मानिसको खोजीमा खटिएका उद्धारकर्मीका लागि पनि यस्ता संकेतले अर्को स्थानमा खोजी केन्द्रित गर्न मद्दत गर्छन् ।
चितवनतर्फ पनि नेपाल प्रहरीको जर्मन शेफर्ड दिप्सीसहितको टोली खोजीमा खटियो । नारायणी पुल आसपास, देवघाट क्षेत्र तथा दमौली–गोलघाट क्षेत्रसम्म केनाइन टोली परिचालन गरिएको थियो । खोजीकै क्रममा दमौली गोलघाट क्षेत्रमा दुई शव फेला पार्न सफल भयो । बाढीले मानिसका पदचिह्न मेटिसकेको थियो । भूगोल नै बदलिएको थियो । तर तालिमप्राप्त कुकुरका लागि हराएको गन्ध अझै एउटा सम्भावित संकेत थियो ।
यो अभियानमा सशस्त्र प्रहरी बल नेपालले पनि ठूलो संख्यामा केनाइन परिचालन गरेको छ । सशस्त्र प्रहरी बलमा डग युनिटको स्थापना २०६२ सालमा भएको हो । हाल डग युनिटमा ३० वटा कुकुरको दरबन्दी रहेको छ । अपराध अनुसन्धानदेखि सीमा सुरक्षा र विपद् व्यवस्थापनसम्म विभिन्न जिम्मेवारीमा तालिमप्राप्त कुकुर परिचालन हुँदै आएका छन् ।
भोटेकोशी बाढीपछि एपीएफले रसुवाको टिमुरे, नुवाकोटको देवीघाट, बेत्रावती, त्रिशूली बजार, धादिङमा एक–एक तथा चितवनमा दुईवटा गरी सातवटा केनाइन परिचालन गरेको छ । उनीहरूसँगै १४ जना डग ह्यान्डलर पनि परिचालन भएका छन् । एपीएफका केनाइनले बाढी तथा पहिरोमा पुरिएका १९ वटा शव पत्ता लगाई निकाल्न सहयोग गरेको छ ।
यो तथ्यांक आफैँमा एउटा ठूलो मानवीय कथा हो । ती १९ वटा शव केवल संख्या होइनन् । प्रत्येक शवका पछाडि एउटा परिवार, एउटा प्रतीक्षा र एउटा अधुरो जीवनकथा जोडिएको छ ।
खोजीमा थकाइ लाग्छ, तर आशा रोकिँदैन
केनाइन परिचालन गर्नु सजिलो काम होइन । धेरै ठूलो क्षेत्रमा खोजी गर्नुपर्दा समय लाग्छ । सामान्यतया करिब ३० मिनेट खोजी गरेपछि १५ देखि २० मिनेटसम्म कुकुरलाई आराम दिनुपर्ने हुन्छ ।
दलदले हिलो, रातको अपर्याप्त उज्यालो, अत्यधिक गर्मी वा चिसो, पानी हावा तथा वातावरणीय प्रदूषणले गन्ध पत्ता लगाउने क्षमतामा असर पार्न सक्छ । अझ गहिरो वा बाक्लो माटोभित्र गन्ध पहिचान गर्न कठिन हुन्छ । तालिमप्राप्त कुकुर र दक्ष ह्यान्डलरको संख्या सीमित हुनु पनि अर्को चुनौती भएको सशस्त्र प्रहरुी बलका सहायक प्रवक्ता सशस्त्र प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाले बताउनुभयो ।
तर यी चुनौतीका बीच रसुवामा खटिएका एक ह्यान्डलरका लागि खोजी रोक्ने विकल्प छैन । किनकि बाहिर कसैको परिवार आफ्नो मान्छे फर्किने आशामा बसेको छ । कुकुर थाक्छ, ह्यान्डलर थाक्छ, उद्धारकर्ता थाक्छ, तर बेपत्ता आफन्तको प्रतीक्षा गरिरहेको परिवार थाक्न पाउँदैन । त्यही आशालाई जीवित राख्न केनाइन टोली फेरि भग्नावशेषतर्फ फर्किन्छ ।
मौन उद्धारक, जसले आशालाई जिउँदो राखे
भोटेकोशीको बाढीपछि प्रभावित परिवारले भोगिरहेको पीडा शब्दमा बयान गर्न कठिन छ । कसैको घर छैन, कसैको सम्पत्ति छैन, कसैको आफन्त छैनन् । अझ केही परिवारका लागि सबैभन्दा ठूलो पीडा आफ्ना मान्छेको अवस्था थाहा नहुनु हो । यही अवस्थामा केनाइन टोलीले गरेको खोजी केवल प्राविधिक काम होइन, आशा खोज्ने अभियान पनि बनेको छ ।
कहिलेकाहीँ कुकुरले भग्नावशेषको एउटा कुनामा पुगेर संकेत गर्छ । उद्धारकर्मी त्यही ठाउँमा खन्न थाल्छन् । केही समयपछि शव भेटिन्छ । त्यो क्षण खुसीको हुँदैन,तर अनिश्चितताको अन्त्य हुन्छ । कहिलेकाहीँ जीवन भेटिने आशा हुन्छ, कहिलेकाहीँ मृत्युको सत्य ।
तर दुवै अवस्थामा केनाइनले एउटै काम गर्छ, परिवारलाई प्रतीक्षाको अन्धकारबाट एउटा निश्चित सत्यतर्फ लैजान्छ । मानिसले आवाज सुन्न नसकेको ठाउँमा उनीहरूले गन्ध सुन्छन् । मानिसले देख्न नसकेको ठाउँमा उनीहरूले संकेत भेट्छन् र उद्धारकर्मीहरूलाई त्यही संकेत पछ्याउँदै अगाडि बढ्न बाटो देखाउँछन् ।
भोटेकोशीको बाढीले धेरै कुरा खोस्यो । तर विपत्तिको बीचमा जम्बो, रक्की, लियो, कालु, दिप्सीजस्ता चारखुट्टे उद्धारकहरूले एउटा सन्देश भने छोडेका छन् । आशा कहिलेकाहीँ मानिसको हातमा मात्र हुँदैन, चार खुट्टामा पनि दौडिरहेको हुन्छ ।












प्रतिक्रिया