सगेन्द्र बने छैठौं मिस्टर काठमाडौं


काठमाडौं।

काठमाडौँ बडीबिल्डिङ एन्ड फिटनेस एसोसिएसनको आयोजनामा सम्पन्न छैटौँ मिस्टर काठमाडौं बडीबिल्डिङ तथा फिजिक स्पोट्र्स च्याम्पियनसिप–२०८३ को मुख्य उपाधि डिभाइन फिटनेसका सगेन्द्र सिंहले जितेका छन् ।

शनिबार सम्पन्न प्रतियोगिताको पुरुष बडी बिल्डिङतर्फ ८० केजी तौल समूहमा पहिलो हुँदै ४० वर्षीय सगेन्द्रले मिस्टर काठमाडौंको ओभरअल ट्रफीसहित कुल ५ लाख ४० हजार रुपैयाँ नगद पुरस्कार हात पारे ।

दुई महिनाअघि भुटानमा सम्पन्न दक्षिण एसियाली बडीबिल्डिङ च्याम्पियनसिपमा समेत स्वर्ण जितेका सगेन्द्र आगामी सेप्टेम्बर २२ देखि २८ सम्म थाइल्यान्डमा हुने एसियन बडीबिल्डिङ च्याम्पियनसिपको अन्तिम तयारीमा जुटेका छन् ।

त्यसैगरी, १३औँ दक्षिण एसियाली खेलकुद (साग) कि उसु स्वर्ण पदक विजेता तथा नेपाल पुलिस क्लबकी प्रशिक्षक जुनी राईले महिला फिजिकतर्फ स्वर्ण पदक जितेकी छन् । जसमा सृजना घिसिङ दोस्रो र शान्ता पालिखेल तेस्रो बने ।

देशभरका विभिन्न जिल्ला तथा सहरबाट सहभागी खेलाडीहरूबीच विभिन्न तौल, उचाइ र उमेर समूहमा कडा प्रतिस्पर्धा भएको थियो । पुरुष बडी बिल्डिङतर्फ ५५ केजीमा महेन्द्रबहादुर थापा मगर, ६० केजीमा सुजन थापा, ६५ केजीमा सुरब थापा, ७० केजीमा नवीन श्रेष्ठ, ७५ केजीमा सागर श्रेष्ठ र ८० केजीभन्दा माथि ललित धिमालले आ–आफ्नो समूहमा स्वर्ण पदक हात पारे ।

त्यस्तै, महिला बडीबिल्डिङतर्फ रिपु घर्ती प्रथम भइन् भने मेन्स स्पोट्र्स फिजिकमा ज्ञानेश्वर चौधरी र आशिम सिंह थापा तथा मेन्स एथलेटिक फिजिकमा सुमन राई र शंकर गुरुङ विजेता बने । जुनियरतर्फ सर्वेश सुनार र मास्टर्सतर्फ रमेश अधिकारीले शीर्ष स्थान हासिल गरे ।
प्रतियोगिताका विजेता तथा उपविजेता खेलाडीहरूलाई काठमाडौं महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोल र प्रतिनिधिसभा सदस्य रजनी श्रेष्ठले पुरस्कार प्रदान गरेका थिए ।