काठमाडौं।
लगातार तेस्रो जित निकाल्दै नेपाल जारी एसीसी प्रिमियर कपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
साउदी अरेबियालाई ५ विकेटले हराउँदै नेपालले अन्तिम एक खेल खेल्न अगावै अन्तिम चारमा स्थान बनाएको हो । १ सय ९१ रनको विजयी लक्ष्य नेपालले ४१ ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ९३ रन बनाउँदैं पूरा गरेको हो । यसअघि बहराइन र मलेसियालाई हराएको नेपालले अन्तिम खेलमा मंगलबार हङकङसँग खेल्दैछ ।
समूह ए मा नेपाल ३ खेलमा ६ अंक जोडेर शीर्ष स्थानमा रहेको छ । हङकङ ३ खेलमा ४ अंकसहित दोस्रो स्थानमा छ भने मलेसिया र बहराइनको समान खेलबाट २–२ अंक छ । आज हुने खेलमा मलेसिया र बहराइनको खेलबाट एक टोलीको ४ अंक हुनेछ भने हङकङले अन्तिम चारमा पुग्न नेपालविरुद्ध जितै हात पार्नुपर्नेछ ।
नेपाललाई जित दिलाउन देव खनाल, इशान पाण्डे र गुलशन झाले महत्वपूर्ण भुमिका खेले । ओपनर ब्याटरहरू आशिफ शेख र अर्जुन कुमाल छिटै आउट भएपछि नेपाल संकटमा परेको थियो । अर्जुन १५ रनमा आउट भए भने आशिफ २० रनमा आउट भएका थिए । आशिफलाई गुमाउँदा टोलीको स्कोर ४० थियो ।
यसपछि तेस्रो विकेटका लागि इशान र देवले ७३ रनको साझेदारी गरेर नेपालको स्कोर बढाए । उनीहरूले गरेको साझेदारीले नै नेपालको लागि जितको आधार बनेको थियो ।
यस्तै गुल्सन झाले ४४ रनमा नटआउट रहँदैं टोलीका लागि उच्चतम योगदान दिए । पूर्व कप्तान रोहित पौडेल २४ रनमा नटआउट रहे । साउदीको बलिङमा इस्तियाक अहमद र मोहम्मद अतिफले समान २ विकेट लिएका थिए ।
यसअघि टस जितेर पहिला ब्याटिङ साउदीले ४९.२ ओभरमा सबै विकेट गुमाएर १ सय ९० रन बनाएको थियो । टोलीका लागि अब्दुल वाहिदले अर्धशतक प्रहार गरेका थिए । उनले उच्चतम ७७ रन जोडेका थिए । त्यस्तै मोहम्मद अतिफले ३० र मोहम्मद हिसम शैदले २८ रन बनाए ।
बलिङमा नेपालका लागि कप्तान सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीले समान ३ विकेट लिए । यस्तै, ललित राजवंशीले २ विकेट तथा शेर मल्ल र गुलशनले समान १ विकेट लिएका थिए ।












प्रतिक्रिया