काठमाडौं ।
भोटेकोशी बाढीबाट प्रभावित क्षेत्रमा खोज तथा उद्धार अभियानलाई नेपाली सेनाले निरन्तरता दिएको छ। भाद्र २१ गते साँझ ७ बजेसम्मको विवरणअनुसार विभिन्न प्रभावित क्षेत्रबाट हवाई साधनमार्फत थप १३ जनाको उद्धार गरिएको छ। यससँगै हालसम्म नेपाली सेनाले हवाई माध्यमबाट स्वदेशी ३ हजार ६९८ र विदेशी २७७ गरी ३ हजार ९७५ जनाको उद्धार गरेको छ।
नुवाकोटको विदुर नगरपालिका–५, देवीघाटस्थित तादी नदीमा अवरुद्ध आवागमन पुनःस्थापित गर्न नेपाली सेनाको इन्जिनियरिङ फौजले पुल निर्माणलाई तीव्रता दिएको छ। पुल निर्माणका लागि ५५ जनाको इन्जिनियरिङ टोली परिचालन गरिएको छ।
उता, बाढीबाट प्रभावित जलविद्युत् आयोजनाका सुरुङ तथा पावरहाउस क्षेत्रमा खोज तथा उद्धार अभियान अझै जारी छ।
रसुवागढी जलविद्युत् आयोजनामा नेपाली सेनाको Composite Quick Reaction Team तथा आयोजनाका प्रतिनिधिसहितको टोली पावरहाउस र कन्ट्रोल पोइन्टसम्म पुगेर खोजी कार्य गरेको छ।
त्रिशूली–३ ए जलविद्युत् आयोजनामा पावरहाउस तथा सुरुङ क्षेत्रमा उद्धार उपकरणसहित नेपाली सेनाको टोलीले निरन्तर खोजी गरिरहेको छ। त्यस्तै, त्रिशूली–३ बीमा अडिट–२ बाट प्रवेश गरेको टोली अडिट–१ बाट बाहिरिएको छ। अडिट–२ सुरुङबाट Excavator लैजान सक्ने गरी बाटो सफा गर्ने काम भइरहेको छ। हालसम्म उक्त क्षेत्रमा कुनै व्यक्ति वा शव फेला परेको छैन।
चिलिमे हाइड्रोपावर क्षेत्रमा विदेशी प्राविधिकसहितको संयुक्त टोलीले Mini Excavator र Mud Pump प्रयोग गरी सुरुङभित्र जमेको लेदो हटाइरहेको छ। हेलिकप्टरमार्फत स्याफ्रुबेसीमा झारिएको Excavator लाई सुरुङ क्षेत्रमा लैजाने काम पनि भइरहेको छ।
यसैगरी, माथिल्लो त्रिशूली–१ आयोजनामा विदेशी प्राविधिकसहितको टोलीले Thermal Camera प्रयोग गरी सुरुङभित्र थप खोजी गरिरहेको छ।
जमिनी खोज तथा उद्धारतर्फ मैलुङदेखि स्याफ्रुबेसीसम्म प्रभावित क्षेत्रमा पैदल गस्तीमार्फत खोजी कार्य भइरहेको छ। नेपाली सेनाले त्रिशूली र धुन्चेमा स्थापना गरेका आपत्कालीन उपचार केन्द्र तथा मेडिकल पेट्रोलबाट हालसम्म ३ हजार २९८ जनाले स्वास्थ्य सेवा प्राप्त गरेका छन्।
भोटेकोशी विपद्पछि रसुवाको टिमुरेदेखि नुवाकोट, धादिङ, चितवन र नवलपरासी पूर्वसम्म नेपाली सेनाका ९ हजार ३ सयभन्दा बढी फौज प्रत्यक्ष रूपमा परिचालन गरिएको छ। उनीहरूले घाइते तथा प्रभावितको खोज तथा उद्धार, शव व्यवस्थापनमा सहयोग, राहत सामग्री ढुवानी, अवरुद्ध सडक तथा पुल सञ्चालनमा ल्याउने र आपत्कालीन उपचारलगायतका कार्यमा समन्वयात्मक रूपमा काम गरिरहेका छन्।












प्रतिक्रिया