सम्बन्धविच्छेदको चर्चाबीच गोविन्दाले भने– धेरै कुरा आकाशमा लेखिएका छन्


बलिउड अभिनेता गोविन्दाले शनिबार मुम्बईमा आयोजित दही हाँडी कार्यक्रममा आफ्नो वैवाहिक जीवनबारे भइरहेको चर्चालाई लिएर संकेतपूर्ण प्रतिक्रिया दिएका छन्। उनले वैवाहिक विवादबारे प्रत्यक्ष रूपमा केही नबताए पनि प्रशंसकहरूसँग साथ र समर्थन मागेका छन्।

पछिल्ला केही दिनदेखि गोविन्दा र उनकी पत्नी सुनीता आहुजाको निजी जीवन चर्चामा छ। उनीहरूबीच सम्बन्धविच्छेद हुन लागेको खबरसमेत सार्वजनिक भएको थियो। तर, सुनीताले सम्बन्धविच्छेदको निवेदन फिर्ता लिएपछि यो विषय फेरि चर्चामा आएको हो।

मुम्बईमा आयोजित युथ शक्ति दही हाँडी कार्यक्रममा सहभागी गोविन्दाले आफ्नो वैवाहिक विवाद वा आफूविरुद्ध लागेका आरोपबारे प्रत्यक्ष रूपमा केही बोलेनन्। उनले आफूलाई लिएर भइरहेका चर्चाबारे संकेत गर्दै आफूले ती विषयलाई स्पष्ट पार्न सक्ने आशय व्यक्त गरे।

कार्यक्रममा सम्बोधन गर्दै गोविन्दाले भने, ‘धेरै कुरा आकाशमा लेखिएका छन्। म आमासँग प्रार्थना गर्छु, ती कुराहरू सफा होऊन् र गोविन्दाले त्यसलाई सफा गर्न सकोस्।’

गोविन्दाले आकाशमा लेखिएका कुराभन्नाले के संकेत गरेका हुन् भन्ने स्पष्ट पारेनन्। उनले वैवाहिक जीवनबारे भइरहेको चर्चा वा हालैका कुनै बयानको प्रत्यक्ष उल्लेखसमेत गरेनन्।

यसै क्रममा उनले आफ्ना प्रशंसकहरूसँग निरन्तर साथ र सहयोग गर्न आग्रह गरे। उनले भने, तपाईंहरूको सहयोग चाहिन्छ, साथ चाहिन्छ।

गोविन्दाको यो भनाइ उनकी पत्नी सुनीता आहुजासँगको सम्बन्धलाई लिएर भइरहेको चर्चाबीच आएको हो।