आगामी शुक्रवार रिलिजमा आउने फिल्म अक्षराको ट्रेलर सार्वजनिक गरिएको छ। शुक्रवार राजधानीमा आयोजित कार्यक्रममा ३ मिनेट २४ सेकेण्डको ट्रेलर सार्वजनिक गरिएको हो।

फिल्मका निर्माताले सामाजिक उत्तरदायित्वतर्फ पनि महत्वपूर्ण घोषणा गरेका छन्। निर्माताको भागमा आउने रकमको १० प्रतिशत रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्माण पक्षले घोषणा गरेको हो।
फिल्मको ट्रेलरले अभिभावकले छोरीको इच्छा र चाहनाविपरीत खान्दानी परिवारको केटासँग जबर्जस्ती विवाह गरिदिएपछि उत्पन्न हुने पारिवारिक समस्या र त्यसले समाजमा पार्ने प्रभावलाई प्रस्तुत गरेको छ। छोरीको जीवनसाथी रोज्ने अधिकारदेखि पारिवारिक दबाब र त्यसबाट सिर्जना हुने द्वन्द्वसम्मलाई ट्रेलरले मार्मिक ढंगले उठाएको छ। विनयराज पौडेलको निर्देशनमा बनेको फिल्ममा सुशील सिटौला र न्यान्सी खड्का मुख्य भूमिकामा छन्। सुशील पोखरेल, अंशु महर्जन, पुष्कर राउत, रिस्ता अधिकारी, उत्तम केसी, गीता अधिकारी, वीरेन्द्र कुशवाह, सृजना अधिकारी, मोहन अधिकारी, सुमन ज्योति न्यौपाने (ल्याग्री दादा), सृष्टि खड्का, बालकलाकार रोनक खड्का, प्रीसा ढुंगाना लगायतको अभिनय रहेको छ।
क्षित बाबु प्रोडक्सन हाउसको ब्यानरमा सोनी थापा ढुंगानाद्वारा प्रस्तुत तथा उग्रसेन ढुंगाना र सुग्रसेन ढुंगानाद्वारा निर्मित फिल्ममा मूल कथा उग्रसेन ढुंगाना, पटकथा र संवाद अभिमन्यु निरवी र निर्देशक पौडेल, शब्द रचना सुरेन्द्र राना, संगीत कर्णराज गिरी, गायक अञ्जु पन्त, समीक्षा अधिकारी, रचना रिमाल र एसडी योगी, छाया“कन दिपेन बस्न्यात र सम्पादन गौतम खड्काको रहेको छ। नृत्य रामजी लामिछाने र द्वन्द्व निर्देशन शंकर महर्जनको रहेको छ।
सुरज थापाकाजी र सुमन ज्योति न्यौपाने कार्यकारी निर्माता रहेको फिल्म नेसनल सिने ग्रुप नेपालका तर्फबाट दीपक दंगालले वितरण गर्दैछन्।
यसैबीच कृष्ण अष्टमीको अवसर पारेर अक्षरा टिमले काठमाडौंको बौद्धमा रथयात्रा गरेको छ। रथयात्रामा फिल्मका मुख्य कलाकार सुशील सिटौला, पुष्कर राउत, निर्देशक विनयराज पौडेललगायत सहभागी थिए।












प्रतिक्रिया