प्रभावित क्षेत्र पुगेर बाढीपीडितको उपचारमा

आफन्त गुमाएकी अभिनेत्री रजनी


रसुवा बाढीमा आफ्नै परिवारका सदस्य तथा आफन्त गुमाएकी अभिनेत्री रजनी केसी पीडितको उपचार र राहतमा सक्रिय भएकी छन्।
उनले जन्मथलो नुवाकोटको विदुर नगरपालिका–टारमा स्वास्थ्य शिविर सञ्चालन गर्दै बाढीपीडितलाई निःशुल्क स्वास्थ्य सेवा तथा औषधी वितरण गरेकी छन्। काठमाडौंबाट डा. सुदीप पण्डितसहितको स्वास्थ्यकर्मीको टोली लिएर नुवाकोट पुगेकी रजनीले सञ्चालन गरेको शिविरमा करिब २ सय ५० जना बिरामीले स्वास्थ्य सेवा लिएको जनाइएको छ।

शिविर पिपल डेन्टल कलेज एण्ड हस्पिटल प्रालिसँगको सहकार्यमा आयोजना गरिएको हो। फार्मेसिस्टसमेत रहेकी रजनी बाढी आएको दिनदेखि नै उद्धार, राहत संकलन तथा वितरणमा सक्रिय भएकी हुन्। स्वास्थ्य शिविरसँगै उनले पीडित परिवारलाई खाद्य सामग्री, लुगा तथा सरसफाइका सामग्री वितरण गरेकी छन्।

बालबालिकाका लागि कापी, पेन्सिल, किताब, ड्रइङ बुकसँगै मनोवैज्ञानिक राहतका लागि खेल सामग्रीसमेत उपलब्ध गराइएको उनले बताइन्। नुवाकोटको टुप्चेकी स्थायी बासिन्दा रजनीले भदौ १० गते आएको विनाशकारी बाढीमा आप्mनै मावली हजुरआमा, माइजू, भाइ, बुहारीलगायत थुप्रै आफन्त गुमाएकी छन्। उनकै पहलमा केही बाढीपीडितको उद्धारसमेत सम्भव भएको थियो।

फिल्म परदेशीबाट चर्चा कमाएकी रजनीको यही दशैंमा छ माया छपक्कै २ प्रदर्शनमा आउँदैछ। उनी अभिनयसँगै फार्मेसी, योग–ध्यान प्रशिक्षण, व्यवसाय तथा सामाजिक सेवामा पनि सक्रिय छन्।