चमत्कारको आशाबीच खोजी जारी

सयौँ आयोजनाकर्मी अझै बेपत्ता


नुवाकोट ।

भोटेकोशी बाढीको ११औँ दिनमा पनि प्रभावित क्षेत्रमा खोज तथा उद्धार कार्य रोकिएको छैन । भोटेकोशी बेसिन भएर बग्ने नदी आसपासका जलविद्युत् आयोजनामा कार्यरत कर्मचारीको अवस्था अझै यकिन हुन नसक्दा उद्धारमा खटिएका सुरक्षा निकायमाथि दबाब बढ्दै गएको छ ।
कठिन भूगोल, सीमित साधनस्रोत र प्रतिकूल मौसमका बीच नेपाली सेना, सशस्त्र प्रहरी बल,नेपाल प्रहरीलगायतका विज्ञ टोली खोज तथा उद्धारमा निरन्तर खटिएका छन् । बाढीले तहसनहस पारेका संरचना, सुरुङ, बाढीले पुरिएका क्षेत्र र नदी आसपासमा खोजी जारी रहँदा उद्धारकर्ताले आफ्नो सुरक्षासमेत जोखिममा राखेर काम गरिरहेका छन् ।

पछिल्ला दिनमा सुरुङबाट जीवित व्यक्तिको उद्धार हुन थालेपछि भने उद्धारमा खटिएका टोलीमाथि थप दबाब परेको छ । ‘अझै कसैलाई जीवितै उद्धार गर्न सकिन्छ कि’ भन्ने आशाले खोजीलाई तीव्र बनाएको छ । तर यही आशाले कतिपय ठाउँमा वास्तविक अवस्थाभन्दा बढी अपेक्षा सिर्जना गर्ने जोखिमसमेत बढाएको उद्धारमा संलग्न अधिकारीहरू बताउँछन् ।
भोटेकोशी बाढीपछि ‘करिब ५०० देखि ९०० जना सुरुङभित्र फसेका’ भन्ने विवरण सार्वजनिक हुँदै आएको छ । तर उद्धार तथा खोजीमा संलग्न

अधिकारीहरूका अनुसार यो विवरणलाई सच्याउन आवश्यक छ ।
उल्लिखित सङ्ख्या सुरुङभित्रै रहेका वा उद्धारको प्रतीक्षामा बसेका व्यक्तिको सङ्ख्या होइन । ती विभिन्न जलविद्युत् आयोजनाका सम्पर्कविहीन तथा अझै यकिन हुन नसकेका कर्मचारीको सङ्ख्या हो । बाढीको भीषण बहावमा उनीहरू बगेको हुन सक्ने आशङ्का पनि उत्तिकै बलियो छ ।

त्रिशूली–३ ‘ए’ ले देखाएको वास्तविकता
त्रिशूली–३ ‘ए’ आयोजनामा देखिएको अवस्थाले पनि यही तथ्यलाई पुष्टि गर्छ । आयोजनाका ४० जनाभन्दा बढी कर्मचारी बेपत्ता भएकामा हालसम्म दुई जनालाई जीवित उद्धार गरिएको छ भने एक जनाको शव फेला परेको छ ।

बाँकी कर्मचारीहरू सुरुङभित्रै जीवित अवस्थामा रहेको पुष्टि भएको छैन । उनीहरू बाढीको तीव्र बहावमा बगेका हुन सक्ने आशङ्का गरिएको छ । त्यसैले प्रत्येक बेपत्ता व्यक्तिलाई ‘सुरुङभित्र फसेको’ भनेर प्रस्तुत गर्दा परिवारमा अनावश्यक आशा सिर्जना हुनसक्छ । यद्यपि, उद्धार टोलीले सम्भावना रहेसम्म खोजी भने जारी राखेको छ । एउटा जीवन बचाउन सकिन्छ भने त्यसका लागि अन्तिम समयसम्म प्रयासमा उद्धारकर्मीहरू लागेका छन् ।

कठिन भूगोलमा ज्यानको बाजी
बाढी प्रभावित क्षेत्रमा उद्धारमा खटिएका सुरक्षाकर्मीका लागि अहिलेको अवस्था सामान्य खोजी अभियानभन्दा निकै चुनौतीपूर्ण छ । पहाडी भूगोल, चट्टान, माटो र बाढीले अवरुद्ध गरेको संरचना, नदीको जोखिम तथा मौसमको अनिश्चितताले प्रत्येक कदमलाई जोखिमपूर्ण बनाएको छ ।
स्रोतसाधन सीमित भए पनि उद्धारकर्मीले कामलाई निरन्तरता दिएका छन् । कार्यक्षेत्रमा रहेका सुरक्षा निकायबीच समन्वय र एकता रहे पनि भौगोलिक कठिनाइ तथा प्रतिकूल परिस्थितिका कारण उद्धार सहज हुन नसकेको एक उद्धारमा खटिएका सुरक्षाकर्मीले नेपाल समाचारपत्रलाई बताए ।

उनका अनुसार उद्धारकर्तामाथि राज्यको अपेक्षा र परिवारको आशा दुवैको दबाब छ । तर त्यसका बाबजुद उनीहरू हरेस नखाई काममा जुटिरहेका छन् । ‘खानपान र आरामभन्दा उद्धारलाई प्राथमिकता दिएका छौँ । सकिन्छ भने एउटा जीवन भए पनि बचाउनुपर्छ भन्ने भावनाले काम गरिरहेका छौँ’ –ती सुरक्षाकर्मीले भने ।

बाढीपछि ११ दिन बितिसक्दा पनि जीवित उद्धार सम्भव भएको घटनाले उद्धार टोलीमा नयाँ ऊर्जा थपेको छ । यसले ‘सबै सम्भावना समाप्त भइसकेको छैन’ भन्ने सन्देश दिएको छ । तर उद्धारकर्ताहरूका लागि यो आशासँगै ठूलो जिम्मेवारी पनि हो । सम्भावित जीवित व्यक्तिको खोजी गर्ने क्रममा आफ्नै टोलीको सुरक्षालाई समेत ध्यान दिनुपर्ने अवस्था छ ।

भोटेकोशी विपद्ले एउटै प्रकृतिको क्षति मात्र निम्त्याएको छैन । बाढी, संरचना ध्वस्त हुनु, जलविद्युत् आयोजनामा क्षति र ठूलो सङ्ख्यामा मानिस सम्पर्कविहीन हुनुजस्ता सङ्कट एकपछि अर्को थपिएका छन् । यही कारण अहिलेको खोज तथा उद्धारलाई ‘एकपछि अर्को गर्दै निम्तिएको विपद्को शृङ्खला’ का रूपमा पनि हेरिएको छ ।

आशा र यथार्थबीच उद्धार
११औँ दिनसम्म आइपुग्दा उद्धार अभियानको सबैभन्दा ठूलो चुनौती आशा र यथार्थबीच सन्तुलन कायम गर्नु बनेको छ । परिवार आफ्ना आफन्त जीवितै फर्कने आशामा छन् । उद्धारकर्ता पनि सम्भावना रहेसम्म खोजी रोक्न चाहँदैनन् । तर सञ्चार माध्यम र राज्यका आधिकारिक सूचनामा भने पुष्टि भएको तथ्य र अनुमानबीच स्पष्ट भिन्नता राख्नुपर्ने आवश्यकता छ ।
सुरुङमा कति व्यक्ति फसेका छन् भन्ने होइन, कति कर्मचारी अझै सम्पर्कविहीन छन् र उनीहरूको अवस्था कहाँसम्म पत्ता लागेको छ भन्ने तथ्य अबको प्राथमिक सूचना बन्नुपर्ने देखिन्छ । जीवित उद्धारका केही घटनाले चमत्कारको सम्भावना देखाएका छन् । तर प्रत्येक बेपत्ता व्यक्तिको अवस्थाबारे पुष्टि नभएसम्म उनीहरूलाई सुरुङभित्रै जीवित रहेको अनुमान गर्नु उचित हुँदैन । यही यथार्थबीच नेपाली सेना र अन्य सुरक्षा निकायका उद्धारकर्मी भने सम्भावनाको अन्तिम सीमासम्म पुगेर खोजी जारी राखिरहेका छन् ।