आशा मारेको ११औँ दिन भग्नावशेषबाट आयो ‘बचाऊ’ आवाज

काजकिरिया गरेको तेस्रो दिनमा ६५ वर्षीया श्रेष्ठको उद्धार


नुवाकोट ।

नुवाकोटको बेत्रावतीमा त्रिशूलीको बाढीले घर पुरिएपछि आठ दिनसम्म खोज्दा पनि नभेटिएकी ६५ वर्षीया चण्डिका श्रेष्ठ लाई परिवारले मृत ठानी कुश बनाएर दाहसंस्कारसमेत गरिसकेको थियो । काजकिरिया गरेको तेस्रो दिन भने परिवारले पत्याउनै नसक्ने खबर पायो—चण्डिका जीवितै भेटिनुभयो ।

बाढीले बगाएर त्रिशूलीको फेदीतिर पु¥याएको चारतले घरको चौथो तलाको सानो भागबाट शनिवार दिउँसो ‘बचाऊ’ भन्ने आवाज आएपछि सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले चण्डिकालाई जीवितै उद्धार गरेको हो ।

हिलोमा पुरिएको अवस्थामा रहेकी चण्डिकाले आवाज दिएपछि उद्धार टोलीले झ्याल देखिएको भाग फुटाएर शनिवार दिउँसो साढे १ बजेतिर उहाँलाई बाहिर निकालेको थियो । उद्धारपछि उहाँलाई उपचारका लागि अस्पताल लगिएको छ ।

तर, चण्डिका जीवितै भेटिनु परिवारका लागि चमत्कारभन्दा कम थिएन । उहाँका सम्धी रमेशमान श्रेष्ठका अनुसार आठ दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारले ‘अब सम्भावना छैन’ भन्दै कुश बनाएर दाहसंस्कार गरी काजकिरियासमेत सुरु गरिसकेको थियो । ‘घर नै बगाएर त्यति तल पु¥याएपछि उहाँ जीवित हुनुहुन्छ भन्ने आशै रहेन’, श्रेष्ठले भन्नुभयो– ‘त्यसपछि दुई–तीन दिनसम्म खोज्दा पनि नभेटिएपछि परिवारले सल्लाह गरेर कुश बनाएर दाहसंस्कार ग¥यो र काजकिरिया सुरु ग¥यो ।’

बाढी आएको दिनदेखि नै परिवारका सदस्यले बेत्रावती क्षेत्रमा चण्डिकाको खोजी थालेका थिए । उहाँका ज्वाइँ गाडी र मोटरसाइकल लिएर खोजीमा निस्किए पनि ठाउँठाउँमा बाटो बिग्रिएको, बाढीले ल्याएको लेदो र गेग्रानले दलदल बनेका कारण घरसम्म पुग्न कठिन भएको थियो ।
उद्धारमा खटिएका सुरक्षाकर्मीलाई समेत सुरुका दिनमा घटनास्थलसम्म पुग्न कठिन भएको श्रेष्ठले बताउनुभयो ।

पछि चण्डिकाको घर नै बाढीले बगाएर त्रिशूलीको फेदीतिर पु¥याएको अवस्थामा भेटिएपछि परिवारले उहाँ जीवितै रहेको आशासमेत मारिसकेको थियो ।
‘पछि बेत्रावतीमा लास गन्हाएर जान सक्ने अवस्था छैन भन्ने पनि सुनेँ । त्यही पनि ज्वाइँ लगातार खोज्न गइरहनुभएको थियो । नपाएपछि निराश भएर फर्किनुभयो’, श्रेष्ठले भन्नुभयो– ‘दुई–तीन दिनपछि घरका मान्छेहरू सल्लाह गरेर कुश बनाएर भए पनि दाहसंस्कार गरौँ भन्नुभयो र त्यहीअनुसार ग¥यौँ ।’

वडा कार्यालयको प्रक्रिया र तत्कालीन परिस्थितिका कारण परिवारले कुश बनाएर दाहसंस्कार गर्ने निर्णय गरेको थियो । तर, दाहसंस्कार र काजकिरिया गरिसकेपछि चण्डिका जीवितै भेटिनुभयो । बाढीले बगाएको चण्डिकाको घर करिब सय मिटर तलसम्म पुगेको छ । चारतले घरको माथिल्लो तलाको केही भाग मात्रै देखिने गरी ढुङ्गा, माटो र लेदोले पुरिएको अवस्थामा छ । त्यही भग्नावशेषको सानो भागबाट शनिवार आवाज आएपछि उद्धार टोलीले खोजी थालेको थियो ।

उद्धार टोलीका अनुसार बाढी आएर घर बगाउँदा चण्डिका बेहोस भएको र लामो समयपछि मात्रै होस आएको हुन सक्ने देखिएको छ । होस आएपछि उहाँले ‘बचाऊ, बचाऊ’ भनेर आवाज दिनुभएको थियो । त्यही आवाज सुनेपछि सुरक्षाकर्मीले झ्याल देखिएको भाग फुटाएर उहाँलाई बाहिर निकालेका थिए ।

चण्डिका जीवितै भेटिएको खबर पाएलगत्तै उहाँका छोरीले फोन र फेसबुकमार्फत परिवारलाई जानकारी गराउनुभएको थियो । खबर पाउनेबित्तिकै श्रेष्ठ अस्पताल पुग्नुभयो । तर, चिकित्सकले ७२ घण्टासम्म बिरामीलाई भेट्न नदिने बताएपछि उहाँ बाहिरैबाट सम्धिनीलाई हेरेर पर्खिरहनुभएको छ ।

अस्पताल परिसरमा चण्डिकाका नाति पनि छन् । उनी लगातार रोइरहेका छन् । ‘नाति रोएर हैरान पारेको छ, केही खाएको पनि छैन’, श्रेष्ठले भन्नुभयो– ‘फोटोमा देखेपछि ‘मेरी आमा चाहियो’ भन्दै जिद्दी ग¥यो र यहाँ लिएर आएको हुँ ।’ अघिल्लो दिन मात्रै नातिले दिनभर भगवान्को भजन गाएको स्मरण गर्दै श्रेष्ठले चण्डिका जीवितै भेटिनुलाई विश्वास गर्नै कठिन भएको बताउनुभयो । ‘यो संसारमा भगवान् साँच्चै रहेछ जस्तो लाग्यो’ –उहाँले भावुक हुँदै भन्नुभयो ।