पशुपति, देवघाट, त्रिवेणीदेखि नारायणघाटसम्म आँसुको भेल, अस्पतालका भित्तामा हराएका आफन्तको खोजी

न सास भेटियो, न लास : नौ दिनपछि कुशको शव बनाएर अन्त्येष्टि

0
Shares

भोटेकोशीको उर्लँदो बाढीले ऐया पनि भन्न नदिई बेपत्ता बनाएका नागरिकहरुका  धेरै परिवार नौ दिनका दिन कुशको शव  बनाएर नदी किनारदेखि अन्य स्थानमा आफ्नो धर्म संस्कृति अनुसार अन्त्यष्ठि गर्न बाध्य भए  । 

नौ दिनसम्म न सास न लास केही नभेटिँदा  असैह्य पीडा र तनावमा छटपटिएको परिवारले  नौ दिनका बिहीवार पशुपति, नारायणघाट, त्रिवेणी , देवघाट , रिडी लगायत अन्य स्थानमा कुशको शव बनाएर दाहसंस्कार गर्दा सम्बन्धित परिवार आफन्त मात्र रोएनन अरु जति पनि नागरिकहरु उपस्थित थिए उनीहरुले मनलाई थाम्नै सकेका थिएनन् । भावबिह्ल भएर थाम्न नसक्ने कैयौँ परिवार बेहोस भएका थिए ।  

कतिपय  परिवार कुशको लास बनाउँदै गर्दा बेहोस भएर ढलेका थिए भने कतिपय परिवार घाटमा दागबत्ती दिदै गर्दा ढलेका थिए । जसको परिवारका सदस्य बेपत्ता भएका छन उनको परिवार मात्र  होइन घाट जाने अन्य केहीको अवस्था पनि नाजुक हुन पुगेको थियो । कतिपयलाई पानी छम्केर  वा कतिपयलाई पानी ख्वाई उठाउन सकिएको थियो भने कतिपयलाई अस्पताल नै लैजानुपरेको थियो । पशुपतिको घाटवाट दर्जन बढिलाई अस्पताल नै पु¥याउनुपरेको थियो । बाबुआमा वा कुनै अभिभावक नभएका  तर परिवारमा सानो पांच बर्षको वालक मात्र बांचेको अवस्था पनि छ । सानो बाबु नानुलाई बोकेर  कुशको शवमा दागबत्ती दिन लगाउँदाको दृश्य निकै कहाली लाग्दो र पीडादायी थियो । त्यो दृश्यले सबैलाई भाबबिह्वल बनाएको थियो । 

नौ दिनसम्म लास पनि नभेटिएपछि र भेटिने पनि संभावना नदेखिएपछि अत्यन्तै पीडाकाबीच  इञ्जिनियर २३ बर्षीय छोरा आभाषको अन्त्यष्ठि गर्न वाध्य भएको गणेश न्यौपाने भक्कानिदै भन्दै थिए । रसुवा हाइड्रोपावर कार्यालयमा दिनभरिको कामको प्लान  संवन्धी बैठक गर्दै गर्दा बाढीले ऐया पनि भन्न नदिएको छोरा आभाष जस्ता धेरै छोरा छोरीलाई कुश बनाएर बिदाई गर्दा समेत कसैको मनले मानेको जस्तो देखिदैनथ्यो तर नमानी नहुने स्थिति दैवले पा¥यो । कसैका छोरा छोरी , कसैको बाबु आमा कसैका आफन्त त कसैको  सिंगो परिवार नै छैन । सिंगो परिवार  गुमाउने सयौं नागरिक जसको खोजी गर्ने पनि कोही छैन । खोज्न आउने हुन्छन् कि भनी अस्पतालको बाहिर तश्वीर टांगेर सहज बनाउन त खोजिएको छ तर कोही आएका छैनन् । 

जसको परिवारका एक दुई जना बेपत्ता भए उनीहरुका परिवारले नौ दिनका दिन बिहीवार देवघाट, रिडी, नारायणघाट, पशुपति लगायतका तीर्थस्थलहरुमा दाहसंस्कार गरे । कैलाश मानसरोवरवाट फर्किदै गर्दा नेपाल र चीनको सीमानामा बाढीले बेपत्ता भएकी सुमी अधिकारीको  कुशको शव जस्ताको तस्तै बनाएर   रुपन्देही भलवारीवाट  देवघाट दाहसंस्कार  गर्न लगियो ।  अष्ट्रेलियावाट मानसरोवर पुगेर फर्केकी सुमी अधिकारीले आफना श्रीमान नवराज पाण्डेलाई भदौ १० गते बिहान ८ः३० बजेतिर म्यासेज गरेर इमिरिगेशन क्रस गर्न लागेको खबर गरेकी थिइन तर त्यसपछि १५ मिनेटमै न उनले पुनः म्यासेज गरिन् न अष्ट्रेलियावाट आफ्नो प्यारा श्रीमानले पटक पटक कहाँ पुग्यो भनी गरेको म्यासेजको रिप्लाई नै गरिन् । चार बर्षको सानो  छोरा ,  ६ बर्षको छोरीले मामु कहिले आउनु हुन्छ भन्न थालिसकेका थिए ती अबोध  बेवीहरुको  जवाफ फर्काउन त के  तिनीहरुको अनुहार पनि हेर्न नसकी नबराज श्रीमती सुमीलाई भेटाउन सकिन्छ कि भन्ने आशा बोकेर तत्काल  भान्जा संभवलाई साथमा लिइ नेपाल फर्किए । 

  नेपाल फर्किनासाथ नवराज, संभव, दिदी शारदा , भान्जा सक्षमलाई साथमा लिएर अस्पतालहरु मात्र होइन   रसुवा देखि त्रिवेणी सम्मका नदि किनार पुगे तर सुमीलाई भेटाउन सकेनन र अन्ततः नौ दिनका दिन देवघाटबाट कुशको सुमी बनाएर बिदा गरे । केएन पाण्डे, नवराज पाण्डे, गणेश न्यौपाने, कल्पना कण्डेल न्यौपानेको परिवार पीडा भोग्ने केबल प्रतिनिधि पात्र मात्र  हुन । यो  पीडा र असैह्यका कारण  कुशको शव बनाएर दाहसंस्कार गर्नेहरु बिहीवार धेरै थिए । नौ दिन सम्म खोजी गर्नेहरु सयौ थिए तर लास पनि नभेटिएपछि बिहीवार कुशको शव बनाएर दाहसंस्कार गर्नेहरुको संख्या ढेडसय भन्दा बढि भएको दावी गरिएको छ । 
जिन्दगी पनि कस्तो ? परिवार भित्रको प्यारो छोरा, छोरी बाबु आमा जसलाई भोटेकोशीवाट आएको उर्लँदो वाढीले एक शब्द पनि बोल्न दिएन । ०८३ भदौ १० गते बिहान करीब पौने नौ बजेतिर आएको बाढीमा परेका हजारौ नागरिक मध्ये केही सयको मात्र लास भेटियो अन्य हजारौको लास भेटिएन र अझै भेटिएको छैन ।  ९ दिन सम्म परिवारले सास वा लास भेटिन्छ कि भनेर पर्खिरहे तर  न  त सास भेटियो त न लास नै । त्यो  ९ दिन सम्मको पीडा र तनाब यस्तो थियो त्यसको कुनै कल्पना नै गर्न सकिएन । 

  रसुवा देखि बिदुर सम्मका  नदी  क्षेत्रका बस्ती बजार वगरमा परिणत भएको अबलोकन गर्दा यस्तो लाग्छ नेपालले के गल्ती गरेको थियो र यस्तो पत्याउनै नसकिने कहाली लाग्दो बिनाश भोग्नुप¥यो ? भौतिक क्षतिको कुनै लेखाजोखा नै छैन भने मानवीय क्षतिको पीडाले सिगो देश नेपाल रोएको छ । नेपालीहरुका मन बिछिप्त भएको छ । यति हुँदा  पनि जीवित मानवले सहनै परेको छ । सबै भन्दा सहनै नसक्ने पीडा जसका परिवारमा कोही बाबा आमा हुनुहुन्छ तर छोरा छोरी छैनन् भने कसैको  परिवारमा साना साना बाबु नानी मात्र बाचेका छन् तर  बाबा आमा वा अभिभावक कोही पनि  छैनन् त्यस्तो परिवार सबै भन्दा बढी बिछिप्त अबस्थामा छ । नौ दिन सम्म त्यो परिवारमा कसैले केही खानेकुरा मुखमा हाल्न सकेको अवस्था थिएन । यसरी नौ दिन सम्म बिछिप्त भएर पीडै पीडामा समय कटाएको परिवारले छातीमा निकै ठूलो ढुंगा जस्तो थाम्नै नसक्ने गहौं भारीकावीच निर्णय गर्न नमान्दा नमान्दै पनि निर्णय गर्न बाध्य  भयो  र कुशको लास बनाएर आफ्नो संस्कृति धर्म अनुसार दाहसंस्कार गरे ।  

 नेपालमा भोटेकोशीबाट आएको बाढीले पु¥याएको मानवीय र भौतिक क्षतिको बिबरण अझै  पनि एकीन हुन बाँकी  छ तर लाशको खात बढ्दै गएको छ भने बाढीमा परेर हराउनेको  संख्या दैनिक १० हजार भन्दा कम नभएको आंकलन गरिएको छ ।  सिंगो देशका लागि इतिहासमै सबै भन्दा दर्दनाक क्षणमा यति खेर सम्पूर्ण नेपाली छन । जलवायु परिवर्तनका कारण तिब्बतमाथिको हिंउको ठूलो पहाड नै खसेपछि भोटेकोशी एक सय मिटर माथि सम्म उर्लेर आउदा  रसुवाको टिमुरे स्याप्रुवेसीलाई समुन्द्रको ठूलो माछाले एकै गासमा मानबलाई कर्लप्पै निले जसरी निल्यो । त्यो भेलले नुवाकोटको त्रिशूली बजारलाई पनि सत्यानाश बनायो । दुइ दर्जन बढी सडक मार्गका पुल बगे । गाइ बस्तु,भेडा वाख्रा, लत्ता कपडा भांडाकुडा गरगहना बाहेक भौतिक क्षति नै १० खर्ब बढी भएको अनुमान गरिएको छ ।  करीव १० हजार नागरिकहरु त्यो उर्लँदो बाढीमा परेर अहिले बेपत्ता छन् । झण्डै सात सय मेघावाटको हाइड्रोपावर ध्वंश भएका छन । 

 चीनको सीमानाको इमिरिगेशन भवन देखि स्याप्रुबेंसी , टिमुरे, त्रिशूली जस्ता  बजार सम्पूर्ण रुपमा बगरमा परिणत मात्र भएनन् बजारका नागरिकहरुले बाढीको भेलमा परेर ऐया पनि भन्न पाएनन् । अहिले पनि सुरक्षा निकायले ज्यानको वाजी थापेर उद्धार कार्यलाई जारी राखेको छ । नेपाली सेना , नेपाल प्रहरी र सशस्त्र प्रहरीले उद्धारका लागि निर्वाह गरेको भूमिका निकै प्रशंसनीय छ । सिगो सरकार पनि त्यही रुपमा लागेको छ । अब उद्धार गरिएका १० हजार भन्दा बढी नागरिकलाई खानपान र बसोवासको राम्रो व्यवस्था गर्नुपर्ने खाँचो छ । थुप्रै बिधार्थीहरुको शिक्षाका लागि बिशेष व्यवस्था गर्नुपर्ने छ भने  तनावमा रहेका विद्यार्थी र नागरिकहरुलाई काउन्सिलिङको खाँचो बढ्दै गएको छ ।