एनभिएल उद्घाटन खेलमा सगरमाथा स्म्यासर्सको विजयी सुरुवात


काठमाडौं ।  

नेपाल भलिबल लिग (एनभिएल) को ऐतिहासिक उद्घाटन खेलमा सगरमाथा स्म्यासर्सले जितसहित सुखद सुरुवात गरेको छ। 

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा सम्पन्न प्रतिस्पर्धात्मक खेलमा सगरमाथाले मधेश वारियर्सलाई ३–१ को सेटमा पराजित गर्दै महत्वपूर्ण अङ्क बटुल्यो । सुरुवाती दुवै सेट समान २५–२१ र २५–२१ को अन्तरले सहजै आफ्नो पक्षमा पार्दै सगरमाथाले खेलमा २–० को बलियो अग्रता बनाएको थियो । तेस्रो सेटमा भने मधेश वारियर्सले पुनरागमनको सङ्केत दिँदै २५–२३ को रोमाञ्चक जित दर्ता गर्‍यो, तर चौथो सेटमा सगरमाथाले पूर्ण दबदबा कायम राख्दै २५–१५ ले सेट जितेर खेल आफ्नो नाममा पक्का गर्‍यो ।

इतिहासकै सर्वाधिक पुरस्कार राशिको फ्रेन्चाइज लिग

केडिया ग्रुपको आयोजनामा सुरु भएको यो प्रतियोगिता नेपाली पुरुष भलिबल इतिहासकै पहिलो फ्रेन्चाइज लिग हो, जसमा कुल ६ वटा टोलीले प्रतिस्पर्धा गरिरहेका छन् । भदौ २५ गतेसम्म सञ्चालन हुने यस लिगको विजेताले नेपाली भलिबल क्षेत्रकै सर्वाधिक नगद पुरस्कार २० लाख रुपैयाँ प्राप्त गर्नेछ । सिंगल राउन्ड रोबिनका आधारमा खेलाइएको यस प्रतियोगिताको लिग चरणमा शीर्ष स्थान हासिल गर्ने टोली सोझै फाइनलमा पुग्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीहरूले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन् ।