हेटौंडा ।
रसुवाको भोटेकोशीमा आएको बाढीका कारण मुख्य राजमार्गहरु अवरुद्ध भएपछि पूर्वपश्चिम राजमार्ग र त्रिभुवन राजपथमा यात्रुको चाप अधिक बढेको बेला घण्टौंसम्म बाटोमा भोकै यात्रा गर्न बाध्यहरुका लागि हेटौंडाका सामाजिक संघसंस्थाहरुले मानवीय कार्य सुरु गरेका छन् । राजमार्गहरु अवरुद्ध भएपछि वैकल्पिक मार्ग हुँदै काठमाडौं जाने यात्रु तथा चालकको चाप बढेसँगै हेटौंडामा निःशुल्क भोजन सेवा सुरु गरिएको हो । नागरिक समाजको अग्रसरतामा विपद्मा खाना खुवाउने कार्य थालिएको छ ।
दैनिक करिब २ सय यात्रुलाई भोजन वितरण गर्दै उनीहरुले विपद्को समयमा सेवा, सहयोग र मानवीय प्रतिबद्धताको उत्कृष्ट उदाहरण प्रस्तुत गरेका छन् । बाटो अबरुद्ध भएपछि यात्रुलाई संघसंस्थाहरुको पालो मिलाएर निःशुल्क खाना बितरण शुरु गरेका छन् । नागरिक समाज मकवानपुर, मारवाडी सेवा समाजलगायत स्थानीय संस्थाहरुले आलोपालो दैनिकरुपमा निःशुल्क खाना खुवाउने व्यवस्था मिलाएका छन् ।
नागरिक समाज मकवानपुरको आयोजनामा हेटौंडास्थित भाटभटेनीअगाडि विहान ११ बजेदेखि सेवा सुरु गरिएको हो । लामो दुरीको यात्रा, सडक अवरोध तथा यात्राका विभिन्न समस्याका कारण प्रभावित यात्रुहरुलाई स्वच्छ र निःशुल्क भोजन उपलब्ध गराइएको गैरसरकारी संस्था मकवानपुर अध्यक्ष रमिला सापकोटाले जानकारी दिनुभयो ।
दैनिक दुई चरणमा खाना वितरण गरिँदै आएको छ । विहान ११ बजेदेखि दिउँसो २ बजेसम्म र अपराह्न ४ बजेदेखि साँझ ७ बजेसम्म खाना उपलब्ध गराइनेछ । अभियानमार्फत दैनिक करिब ४ सयदेखि ५ सय जनासम्मलाई भोजन गराउने लक्ष्य राखिएको छ ।
उहाँका अनुसार सेवा कार्यक्रममा यात्रु, महिला, बालबालिका, ज्येष्ठ नागरिकलगायतलाई प्राथमिकतामा राखिएको छ । अध्यक्ष सापकोटाले सडक अवरुद्ध भएकाले त्रिभुवन राजपथ हुँदै काठमाडौं जाने यात्रुलाई बाटोमा खाना पाइननसक्ने भएकाले हेटौंडामा खान खुवाएर पठाउने काम शुरु गरिएको बताउनुभयो ।
पैसा हुँदा पनि खान नपाउने परिस्थिति रहेकाले सहजताका लागि कदम चालिएको उहाँले बताउनुभयो । लामो दुरीका बसका यात्रु, एम्बुलेन्स तथा ढुवानीका सवारीसाधनचालक र बाढीप्रभावित क्षेत्रबाट आएका विपन्न यात्रु प्राथमिकतामा छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका र जिल्ला प्रशासन कार्यालय मकवानपुरले सहकार्य गरेका छन् । सेवा लिन आवश्यक यात्रुहरुलाई उपस्थित हुन तथा अन्यलाई समेत जानकारी गराउन आयोजकले आग्रह गरेको छ ।
यस वर्षको मनसुनजन्य विपद् (बाढी र पहिरो) का बेला बागमती प्रदेशको राजधानी हेटौंडा, उद्धार र राहत वितरणको प्रमुख हब बनेको छ । विशेषगरी राजधानी काठमाडौं जोड्ने छोटो दुरीका सडकखण्डहरु पहिरोका कारण अवरुद्ध हुँदा हेटौंडाले रणनीतिक र व्यवस्थापकीयरुपमा महत्वपूर्ण भूमिका खेल्दै आएको छ । धादिङको कृष्णभीरमा नदीले सडकको तल्लो भाग कटान गरेपछि सडक भासिएर यातायात अवरुद्ध भएपछि त्रिभुवन राजपथ र अन्य वैकल्पिक सडकमा सवारीसाधनको चाप बढेको छ । नारायणगढ हुँदै काठमाडौं जोड्ने मुख्य सडक बन्द भएपछि काठमाडौं आवतजावत गर्ने सवारीसाधन हेटौंडा हुँदै वैकल्पिक मार्गतर्फ मोडिएका छन् । मुख्य सडकको भार वैकल्पिक सडकमा थपिँदा सीमित क्षमताका सडकमा सवारीको चाप बढेको हो ।
मुग्लिङ हुँदै काठमाडौं आवतजावत गर्ने सवारीसाधन हेटौंडा हुँदै सञ्चालन हुन थालेपछि हेटौंडा–भीमफेदी–काठमाडौं सडकमा चाप बढेको छ । सामान्य अवस्थामा स्थानीय तथा सीमित संख्यामा चल्ने सवारीका लागि प्रयोग हुने सडकमा हाल लामो दुरीका यात्रुबाहक तथा मालबाहक सवारीसमेत थपिएका छन् । साँघुरा सडकमा क्षमताभन्दा बढी सवारीसाधन सञ्चालन हुँदा विभिन्न स्थानमा जाम र आवागमनमा ढिलाइ हुने गरेको छ । जिल्ला ट्राफिक कार्यालय मकवानपुरका अनुसार मुख्य राजमार्गको अवरोधका कारण वैकल्पिक सडकमा सवारीको संख्या उल्लेख्य बढेको छ । सडकको अवस्था र सवारीको चाप हेरेर आवश्यकताअनुसार सवारी व्यवस्थापन गरिएको ट्राफिकले जनाएको छ ।
बाढीले अभिभावकविहीन बालबालिकालाई आवाससहित शिक्षा
हेटौंडा । बागमती प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित अभिभावक विहीन भएका बालबालिकालाई आवास सुबिधासहित अध्ययनको अवसर दिने भएको छ । हेटौंडामा बसेको मन्त्रिपरिषद् बैठकले बाढीप्रभावित अभिभावकविहीन बालबालिकाका लागि आवाससहित कक्षा–१२ सम्म निःशुल्क अध्ययन गराउने निर्णय गरेको हो ।
मन्त्रिपरिषद् बैठकको निर्णय सुनाउँदै प्रदेश सरकारका प्रवक्ता भरत केसीले रसुवा, नुवाकोट, धादिङ र चितवनलगायत क्षेत्रका बाढीप्रभावित र अभिभावक गुमाएका बालबालिकालाई प्रदेश सरकारले जिम्मा लिने निर्णय गरेको बताउनुभयो । बाढीका कारण कति बालबालिकाले अभिभावक गुमाएका छन् भन्ने तथ्यांक निकालेर उनीहरुलाई आवाससहित शिक्षा प्रदान गर्ने निर्णय गरिएको उहाँको भनाइ छ ।












प्रतिक्रिया