प्रलयकारी रसुवा बाढीले ठूलो जनधनको क्षति गरेको छ । कतिपय परिवार घरबारविहीन भएका छन्, कतिपयले आफन्त गुमाएका छन् । कसैको घर बगेको छ, कसैको व्यवसाय, रोजगारी र वर्षौँको मेहनतले बनाएको सम्पत्ति क्षणभरमै माटोमा मिसिएको छ । प्राकृतिक विपत्तिले नेपाली समाजलाई फेरि एकपटक गहिरो चोट दिएको छ । तर विपत्तिले पीडा मात्रै दिएको छैन, नेपाली समाजको अर्को सुन्दर पक्ष पनि उजागर गरेको छ । संकटमा नेपालीजन फेरि एकपटक एक–अर्काको साथमा उभिएका छन् । सरकार उद्धार तथा राहतमा जुटेको छ ।
विभिन्न संघसंस्था, कलाकार, व्यवसायी, सामाजिक अभियन्ता र सर्वसाधारण प्रभावितको घाउमा मलहम लगाउन अघि बढेका छन् । देशभित्र मात्रै होइन, विदेशमा रहेका नेपालीहरूले समेत प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रकम जम्मा गरेर आफ्नो ऐक्यबद्धता मात्रै प्रस्तुत गरेका छैनन्, पीडितको घाउमा मलहम लगाउने प्रयास पनि गरेका छन् । कसैले राहत सामग्री प्रभावित क्षेत्रमा पठाएका छन्, कसैले आफैँ पुगेर वितरण गरेका छन् । कसैले आफ्नो क्षमताअनुसार आर्थिक सहयोग गरेका छन् । कसैले श्रम दिएका छन् । सहयोगको स्वरूप फरक होला, तर उद्देश्य एउटै छ– पीडामा परेका नेपालीका घाउमा मलहम लगाइदिनु ।
यही क्रममा सामाजिक सञ्जालमा एउटा बहस पनि शुरु भएको छ । आफूले गरेको आर्थिक वा जिन्सी सहयोग सार्वजनिक गर्नेहरूलाई कतिपयले सहयोग देखाउने विषय होइन भन्दै आलोचना गरेका छन् । अर्काथरीले यदि सहयोग सार्वजनिक गर्नु गलत हो भन्ने लाग्छ भने आलोचना गर्नेहरूले पनि प्रभावितका लागि आफूले सकेको सहयोग गरेर देखाउनुपर्ने तर्क गरिरहेका छन् । यस विषयमा हामीले एउटा कुरा बुझ्न आवश्यक छ– सहयोगको मूल्य केवल त्यसको रकम वा परिमाणले निर्धारण हुँदैन, त्यसले जन्माउने प्रेरणाले पनि निर्धारण गर्छ । कसैले आफूले गरेको सहयोग सार्वजनिक गर्दा त्यसको उद्देश्य अरूलाई देखाउनु मात्र नहुन सक्छ ।
त्यसले अरूलाई पनि सहयोगका लागि प्रेरित गर्न सक्छ । एउटा व्यक्तिले गरेको सहयोग देखेर अर्को व्यक्ति प्रभावित क्षेत्रमा राहत पठाउन प्रेरित हुन सक्छ । एउटा मानिसले गरेको आर्थिक सहयोगलाई प्रेरणा मानेर अर्को मानिसले पनि रकम कोषमा जम्मा गरिदिन सक्छ । एउटा संस्थाले अघि सारेको अभियानले सयौँलाई जोड्न सक्छ । त्यसैले विपत्तिको समयमा सार्वजनिक भएको हरेक सहयोगलाई प्रदर्शनको चस्माबाट मात्र हेर्नु उचित र सही हुँदैन ।
हो, सहयोग मानवताको विषय हो, प्रचारको माध्यम होइन । पीडितको दुःखलाई आफ्नो लोकप्रियता बढाउने अवसरका रूपमा प्रयोग गर्नु संवेदनशील विषय हो । तर सहयोग गर्ने हरेक व्यक्तिको नियतलाई एउटै तराजुमा राखेर शंका गर्नु पनि न्यायोचित हुँदैन । सहयोग देखाइएको छ कि देखाइएको छैन भन्ने बहसभन्दा महत्वपूर्ण कुरा पीडितसम्म सहयोग पुगेको छ कि छैन भन्ने हो ।
रसुवाबाट बाढीका रुपमा आएको विपत्ति त्यसबाट प्रभावित क्षेत्रका बासिन्दाहरुको मात्रै समस्या होइन । आज एउटा परिवारको घर बगेको छ भने भोलि विपत्तिको अर्को रूपले हामीमध्ये कसैको घरमा पनि ढोका ढकढक्याउन सक्छ । त्यसैले यो पीडा प्रभावित परिवारको मात्रै होइन, सिंगो देशको पीडा हो । यो क्षति केही व्यक्तिको मात्रै होइन, राष्ट्रकै क्षति हो । तर राहत संकलन र वितरणमा देखिएका कमजोरीप्रति पनि अब गम्भीर हुनै पर्छ । राहत सामग्री एकै ठाउँमा थुप्रिएको, कतिपय सामग्री होल्डिङ सेन्टरमै लामो समयदेखि रोकिएको जस्ता गुनासा सार्वजनिक भइरहेका छन् । यदि त्यसो हो भने यो झन् दुःखद् पक्ष हो ।
एकातिर प्रभावित परिवार आवश्यक सामग्रीको प्रतीक्षामा छन्, अर्कातिर संकलित राहत गोदाममा थन्किनु कुनै पनि हालतमा स्वीकार्य हुन सक्दैन । राहत संकलन गर्नु जति महत्वपूर्ण छ, त्यसलाई आवश्यकता पहिचान गरेर सही ठाउँमा, सही समयमा र समानुपातिक ढंगले पु¥याउनु त्यत्तिकै महत्वपूर्ण छ । कुन बस्तीमा के आवश्यक छ, कसले कति पाएको छ र कसले अझै पाएको छैन भन्ने स्पष्ट अभिलेख राखेर राहत वितरण गर्नुपर्छ । पहुँच भएका ठाउँमा मात्रै राहत थुपार्ने होइन, दुर्गम र बढी प्रभावित परिवारसम्म पनि समान प्राथमिकताका साथ पुग्नुपर्छ ।
अहिले नेपाली समाजले देखाएको स्वतःस्फूर्त सहयोगलाई समान्य सहयोग मात्र होइन, राष्ट्रिय शक्तिका रूपमा बुझ्नुपर्छ । संकटमा राज्य एक्लैले सबै गर्न सक्दैन । नागरिक समाज, निजी क्षेत्र, कलाकार, सामाजिक संस्था र आम नागरिकको सहभागिताले नै विपत्तिविरुद्धको लडाइँ बलियो बनाउँछ । त्यसैले अहिले आवश्यक कुरा एक–अर्काको सहयोगमा प्रश्न उठाउनेभन्दा सहयोगको हात अझै लामो बनाउनु हो । कसैले केही हजार रुपैयाँ सहयोग गरेको छ भने त्यसलाई सानो नठानौँ । कसैले एक बोरा चामल दिएको छ भने त्यसलाई सामान्य नमानौँ । कसैले आफ्नो समय दिएको छ भने त्यसको मूल्य बुझौँ । र, कसैले ठूलो रकम सहयोग गरेको छ भने त्यसलाई पनि शंकाको नजरले मात्रै नहेरौँ । किनकि विपत्तिको समयमा सबैभन्दा ठूलो कुरा रकम होइन, मन हो ।
आज एक नेपालीले अर्को नेपालीको हात समातेको छ । यही हातेमालोले पीडित परिवारलाई फेरि उठ्ने साहस दिनेछ । त्यसैले रसुवा बाढीको पीडालाई सामाजिक सञ्जालको बहसमा सीमित नगरौँ । सहयोगलाई आलोचनाको विषय होइन, अझ ठूलो सहयोग जन्माउने प्रेरणाको विषय बनाऔँ । राहत थुप्रिन नदिऔँ, राहत सही ठाउँमा पु¥याऔँ । सहयोगलाई प्रचारको विवादमा होइन, परिणामको कसौटीमा हेरौँ । अनि विपत्तिको यो घडीमा देशले देखाएको मानवीय एकतालाई दीर्घकालसम्म सम्झनलायक उदाहरण बनाऔँ । किनकि विपत्तिले नेपालीलाई चोट दिएको छ, तर यही विपत्तिको बीचमा देखिएको नेपाली मनले नेपाल अझै बलियो छ भन्ने सन्देश पनि दिएको छ ।












प्रतिक्रिया