प्रारम्भिक व्यापारिक सुस्तता र रसुवाको बाढीपहिरोको असरलाई चिर्दै अभिनेत्री नीता ढुंगानाद्वारा निर्देशित फिल्म पार्वतीले घरेलु बक्स अफिसमा बलियो पुनरागमन गरेको छ।
प्रदर्शनको पहिलो र दोस्रो दिन अपेक्षाकृत न्यून दर्शक उपस्थिति रहे पनि तेस्रो दिनदेखि दर्शकको चाप बढेस“गै फिल्मको व्यापारमा उल्लेख्य सुधार आएको हो। सुरुवाती दिनमा न्यून शो पाएको पार्वतीले दर्शकबाट प्राप्त सकारात्मक प्रतिक्रियाका कारण अहिले देशभरका हलमा १ सय १० भन्दा बढी शो पाएको निर्माण पक्षले जनाएको छ। विशेषगरी दर्शकबाट आएको सकारात्मक माउथ पब्लिसिटी फिल्मको व्यापार उकासिनुको प्रमुख कारण बनेको बताइएको छ।
अटिजम प्रभावित दिदीप्रति भाइले देखाउने अगाध प्रेम, पारिवारिक सम्बन्ध र संघर्षको भावुक कथावस्तु फिल्मको मुख्य आकर्षण बनेको छ। फिल्म हेरेर हलबाट बाहिरिने क्रममा दर्शक भावुक बनेका दृश्यले पनि यसको कथावस्तुप्रतिको दर्शकीय प्रतिक्रियालाई देखाएको निर्माण पक्षको दाबी छ। दर्शक चाप बढेस“गै अहिले उत्साहजनक अवस्था बनेको निर्देशक तथा अभिनेत्री नीता ढुंगानाले बताएकी छन्। फिल्मको निर्माण टिम कलाकारसहित पश्चिम नेपालका विभिन्न सहरमा दर्शकस“ग प्रत्यक्ष साक्षात्कारका लागि पुगेको छ। कैलाली, कञ्चनपुरलगायतका हलमा पुगेको टिमले दर्शकबाट फिल्मप्रति राम्रो प्रतिक्रिया पाइरहेको जनाएको छ।
हरिहर अधिकारीको निर्माण रहेको फिल्ममा नीतास“गै अशोक दर्जी, दीपाश्री निरौला, सिरु विष्ट, राधिका क“डेल, राज पंगेनी शर्मा, राजेन्द्र नेपाली, आशा पौडेललगायतले अभिनय गरेका छन्। फिल्म आज शुक्रवारबाट दोस्रो सातामा प्रवेश गरेको छ।












प्रतिक्रिया