काठमाडौं ।
भोटेकोसी बाढीबाट प्रभावित नागरिकको राहत तथा पुनःस्थापनाका लागि एसटीसी ग्रुपले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५० लाख १ हजार रुपैयाँ सहयोग गरेको छ।
ग्रुपले उक्त सहयोग रकम आज अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेको हो।
प्राकृतिक विपद्बाट प्रभावित नागरिकको तत्काल राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्याउने उद्देश्यले उक्त रकम प्रदान गरिएको एसटीसी ग्रुपले जनाएको छ।
एसटीसी ग्रुपको आधिकारिक वितरकका रूपमा काम गर्दै आएको भारतीय भेरोक इन्टरनेशनल कम्पनीले समेत बाढीपीडितका लागि १० लाख रुपैयाँ सहयोग गरेको छ। ग्रुप र भेरोक इन्टरनेशनलको सहयोगसहित कुल ५० लाख १ हजार रुपैयाँ प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा हस्तान्तरण गरिएको हो।
भोटेकोसी क्षेत्रमा आएको बाढीले जनजीवन, भौतिक संरचना तथा स्थानीय अर्थतन्त्रमा ठूलो क्षति पुर्याएकाले विपद्को समयमा निजी क्षेत्रले समेत जिम्मेवार भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता महसुस गरी सहयोग गरिएको ग्रुपले जनाएको छ।
एसटीसी नेपालका प्रबन्ध निर्देशक सुरेन्द्रकुमार उप्रेतीले विपद्को समयमा प्रभावित नागरिकको साथमा उभिनु सबैको साझा दायित्व भएको बताए।
“भोटेकोसी क्षेत्रमा आएको बाढीले धेरै परिवारको जनजीवन प्रभावित बनाएको छ। यस्तो कठिन परिस्थितिमा सरकारको राहत तथा उद्धार प्रयासमा निजी क्षेत्रले पनि आफ्नो जिम्मेवारी पूरा गर्नुपर्छ भन्ने विश्वासका साथ हामीले सहयोग गर्ने निर्णय गरेका हौं,” उप्रेतीले भने, “हाम्रो सानो सहयोगले प्रभावित परिवारको राहत तथा पुनःस्थापनामा केही योगदान पुग्ने विश्वास लिएका छौं।”
एसटीसी ग्रुप नेपालमा अटोमोबाइल कम्पोनेन्ट, लुब्रिकेन्ट तथा टायरलगायतका उत्पादनको आधिकारिक बिक्री तथा वितरण गर्दै आएको व्यावसायिक समूह हो। अटोमोबाइल क्षेत्रमा लामो समयदेखि सक्रिय ग्रुपले नेपालमै ब्याट्री उत्पादनको क्षेत्रमा समेत काम गर्दै आएको छ।
ग्रुपले सरकार, निजी क्षेत्र तथा आम नागरिकबीचको सहकार्यबाट विपद्बाट प्रभावित क्षेत्रको राहत, पुनःस्थापना तथा पुनर्निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।












प्रतिक्रिया