नेपालप्रति भावुक भइन् गोविन्दाकी पत्नी सुनिता, बाढीपीडितलाई सहयोग गर्ने तयारी


काठमाडौं ।

नेपालमा आएको विनाशकारी बाढीपछि बलिउड अभिनेता गोविन्दाकी पत्नी सुनिता आहुजाले नेपालप्रति गहिरो दुःख व्यक्त गरेकी छन्।

नेपालसँग पारिवारिक नाता रहेकी सुनिताले विपद्बाट प्रभावित नेपालीका लागि आफूले सक्दो सहयोग गर्न चाहेको बताएकी छन्। उनले बलिउडका कलाकार तथा फिल्म क्षेत्रका अन्य व्यक्तिलाई पनि नेपालका बाढीपीडितको सहयोगमा हातेमालो गर्न अपिल गरेकी छन्।

सुनिताकी आमा र हजुरआमा काठमाडौंका हुन्। भारतमा जन्मिए पनि नेपालसँग आफ्नो भावनात्मक सम्बन्ध रहेको बताउँदै उनले हरेक वर्ष छोरीसँग नयाँ वर्ष मनाउन नेपाल आउने गरेको उल्लेख गरेकी छन्।

पशुपतिनाथसँगको आफ्नो आस्था सम्झिँदै उनले नयाँ वर्षको सुरुवात नेपाल आएर पशुपतिनाथको दर्शन र आशीर्वादबाट गर्ने गरेको बताएकी छन्।

बाढीको खबरले आफू निकै दुःखी भएको बताउँदै सुनिताले राहतका लागि सहयोग गर्ने उपयुक्त र विश्वसनीय माध्यमको खोजी गरिरहेको जानकारी दिएकी छन्। आफ्नो सहयोग वास्तविक पीडितसम्म पुग्ने सुनिश्चित भएपछि सहयोग अघि बढाउने उनको भनाइ छ।

नेपालमा विपत्ति पर्दा आफ्नो पारिवारिक सम्बन्धसमेत जोडिएको देशका नागरिकको पीडालाई बेवास्ता गर्न नसक्ने बताउँदै उनले बलिउडलाई पनि सहयोगका लागि अघि आउन आग्रह गरेकी छन्।