रचना रिमालले अस्ट्रेलियाका १० वटै तीज कार्यक्रम रद्द गरिन्, स्वदेश फर्किँदै


काठमाडौं ।

गायिका रचना रिमालले नेपालमा आएको विनाशकारी बाढीका कारण अस्ट्रेलियामा तय भएका आफ्ना १० वटै तीज कार्यक्रम रद्द गरेकी छन्।

राष्ट्र शोकमा रहेका बेला उत्सव मनाउन मनले नमानेको भन्दै उनले कार्यक्रम रद्द गरेर स्वदेश फर्किने निर्णय गरेकी हुन्।

रचनाले सामाजिक सञ्जालमा लेखेकी छन्, ‘यो कुनै जिल्लाको पीडा होइन, सिंगो देशको पीडा हो। फेरि भेट्नेछौँ, फेरि गाउनेछौँ, फेरि नाच्नेछौँ। तर अहिले होइन।’

उनले थपेकी छन्, ‘अहिले हाम्रो देशलाई हाम्रो उत्सवभन्दा हाम्रो साथ चाहिएको छ। अहिले हाम्रो गीतभन्दा ठूलो उद्धारको आवाज छ।’

देश दुःखमा हुँदा विदेशको तीज कार्यक्रम छाडेर स्वदेश फर्किने रचनाको निर्णयले उनको देशप्रतिको भावनालाई पनि देखाएको छ।