जापानी इन्सेफलाइटिसको बढ्दो जोखिम


नेपालमा एकपछि अर्को गर्दै रोगको जोखिम बढ्दो छ । पछिल्लो समय जापानी इन्सेफलाइटिस (जेई) को संक्रमण पूर्वबाट पश्चिमतर्फ फैलिँदै गएको तथ्यांकले नेपालमा जनस्वास्थ्यको अर्को गम्भीर चुनौती सतहमा ल्याएको छ । गत भदौको ९ गतेसम्म २६ जिल्लाका ६२ स्थानीय तहमा ८५ जनामा प्रयोगशाला प्रमाणित संक्रमण देखिनु र २१ जनाको मृत्यु हुनु सामान्य मौसमी स्वास्थ्य समस्या मात्र होइन । अझ चिन्ताजनक पक्ष त के छ भने, संक्रमितमध्ये ८६ प्रतिशतले जेईविरुद्धको खोप नलगाएको पाइएको छ । मृतकमध्ये ८१ प्रतिशत ५० वर्षभन्दा माथिका छन् । नेपालमा जेई नयाँ रोग होइन । दशकौँदेखि यसको संक्रमण देखिँदै आएको छ । तर रोगबारे पर्याप्त जानकारी, खोपको पहुँच र जोखिम क्षेत्रको पहिचान हुँदाहुँदै पनि नागरिकको ज्यान गइरहनु हाम्रो स्वास्थ्य प्रणालीको कमजोरी हो ।

हुन त सरकारले नियमित खोप कार्यक्रममा १२ महिनाको उमेरमा जेईविरुद्ध एक मात्रा खोप दिने व्यवस्था गरेको छ । खोप छुटेका बालबालिकालाई पाँच वर्षको उमेरसम्म खोप दिन सकिने व्यवस्था पनि छ । तर तथ्यांकले खोप कार्यक्रमको पहुँच मात्र पर्याप्त नभएको देखाएको छ । खोप नलिएका वयष्कमा समेत संक्रमण र मृत्यु देखिएको अवस्थामा जोखिम समूहलाई लक्षित गर्दै थप रणनीति आवश्यक छ । विशेष गरी ५० वर्षभन्दा माथिका नागरिक, कृषक, धानखेतीमा संलग्न परिवार तथा जोखिमयुक्त बस्तीमा बसोबास गर्ने नागरिकलाई जेईबाट जोगाउने विशेष अभियान सञ्चालन गर्नुपर्छ । स्थानीय तहलाई जिम्मेवार बनाएर जोखिम क्षेत्र पहिचान, लामखुट्टे नियन्त्रण, सरसफाइ, जनचेतना र शंकास्पद बिरामीको शीघ्र परीक्षणलाई एकीकृत रूपमा अघि बढाउनुपर्छ ।

प्रदेशगत तथ्यांकले पनि समस्या गम्भीर बन्दै गएको देखाउँछ । कोशी प्रदेशमा मात्रै २४ संक्रमितमध्ये १० जनाको मृत्यु भएको छ । मधेसमा १९ संक्रमितमध्ये ६ जनाको मृत्यु भएको छ । बागमती, लुम्बिनी र सुदूरपश्चिममा समेत संक्रमण र मृत्यु देखिएको छ । यसको अर्थ जेई कुनै एक क्षेत्रको समस्या रहेन, यो राष्ट्रिय जनस्वास्थ्यकै चुनौती बनिसकेको छ । यसबीच स्वास्थ्य निकायले केवल संक्रमितको संख्या सार्वजनिक गरेर जिम्मेवारी पूरा भएको ठान्नुहुँदैन । कुन उमेर समूहमा खोप छुट्यो, कुन स्थानीय तहमा जोखिम बढी छ, कहाँ लामखुट्टे नियन्त्रण कमजोर छ र कहाँ उपचारमा ढिलाइ भइरहेको छ भन्ने आधारमा तत्काल कार्ययोजना बनाउनुपर्छ ।

जेईबाट जोगिने सबैभन्दा प्रभावकारी उपाय खोप हो । त्यससँगै लामखुटट्ेको टोकाइबाट बच्ने, घरवरिपरि पानी जम्न नदिने र जोखिमयुक्त क्षेत्रमा विशेष सावधानी अपनाउने विषयमा नागरिकलाई सचेत बनाउनुपर्छ । २१ जनाको मृत्यु भइसकेपछि मात्र गम्भीर बन्नु सरकारका लागि महँगो पाठ हुनेछ । अझै समय छ– खोप छुटेकालाई खोप, जोखिममा रहेकालाई सुरक्षा र सम्भावित संक्रमणलाई तत्काल पहिचान गर्ने व्यवस्था मिलाऔँ । रोग फैलिसकेपछि उपचारमा खर्च गर्नुभन्दा समयमै रोकथाममा लगानी गर्नु राज्य र नागरिक दुवैका लागि बुद्धिमानी हुनेछ । जापानी इन्सेफलाइटिसविरुद्धको लडाइँमा अब ढिलाइ गर्ने छुट सरकारलाई छैन ।