–चट्याङ, हावाहुरी र हिमपात हुने चेतावनी
–मौसम विज्ञान महाशाखा भन्छ, केही दिन बाली नकाट्नू
काठमाडौँ ।
असोजको वर्षात् रोकिएको डेढ साता बित्न नपाउँदै फेरि देशभर वर्षा सुरु भएको छ । यो क्रम शनिवारसम्म जारी रहनेछ । जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिवारसम्म वर्षा हुने सम्भावना रहेको जानकारी दिनुभयो ।
उहाँका अनुसार बिहान र बेलुकी असिनापानी र हुरीबतास चल्नेसम्मको घटना हुन सक्नेछ । तर धेरै भारी वर्षा नहुने उहाँले बताउनुभयो । ‘देशभर मध्यमखालको वर्षाको सम्भावना छ’ –लामिछानेले भन्नुभयो । केही दिनअघि महाशाखाले तत्काल पानी पर्ने अवस्था नभएको जनाएको थियो । त्यसको करिब एक सातापछि अझै ३–४ दिन पानी पर्ने जनाएको हो ।
मौसमविद् लामिछानेले अझै केही दिन बाली नकाट्न आग्रह गर्दै भन्नुभयो– ‘पानी पर्ने सम्भावना बढी छ, बाली नकाट्नुहोला ।’ उहाँले बागमती, गण्डकी, लुम्बिनी प्रदेशको तराई र सुदूरपश्चिमको पहाडी भागमा चट्याङ र हावाहुरी चल्ने सम्भावना रहेको जानकारी दिनुभयो ।
हिजो राजधानीमा असिनासहित वर्षा भएको छ । सोमवार दिउँसोदेखि पानी पर्ने र रोकिने क्रम जारी रहेको थियो । सोमवार उपत्यकामा रातभरजसो पानी परेको थियो । मंगलवार दिउँसो लुम्बिनी, कर्णाली, गण्डकी, बागमतीलगायतका प्रदेशमा वर्षा भएको थियो ।
काठमाडौँका बागबजार, त्रिपुरेश्वर, वानेश्वर, कलंकी, कालीमाटीलगायत स्थानमा मेघगर्जनसहित असिनापानी परेको थियो । थप पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । ‘दिउँसो काठमाडौँ, काभ्रे, सिन्धुपाल्चोक, दोलखालगायत कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही जिल्लाहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित पानी परिरहेको र थप पानी पर्ने सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनुहोला’ –महाशाखाले भनेको छ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीका साथै मनसुनी वायुको समेत प्रभाव रहेको महाशाखाले जनाएको छ ।
त्रिभुवन विश्वविद्यालयका मौसमविद् प्राडा. दीपक अर्यालले अझै केही दिन पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना रहेको बताउनुभयो । उहाँले भन्नुभयो– ‘हावाहुरी आउन सक्छ, बिजुलीका पोल ढल्न सक्छन्, होस गर्नुहोला ।’ उहाँका अनुसार यो वर्षालगत्तै बढी जाडो हुने छ । उहाँले अहिलेको वर्षा बालीका लागि राम्रो भएको दाबी गर्नुभयो ।
महाशाखाले देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने जनाएको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्ने सम्भावना रहेको छ । हिमाली भू–भागको थोरै स्थानमा र पहाडी भू–भागको केही स्थानमा मेघगर्जन र चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका केही स्थानमा तथा मधेशलगायत कोशी, वागमती, गण्डकी प्रदेशको तराई भू–भागका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको जनाएको छ ।
महाशाखाले आज दिउँसो लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाडी र तराई भू–भाग, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ । बुधवार राती कोशी प्रदेशलगायत देशका हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्नेछ । देशको हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।
चारदिने वर्षामा देशको धेरै भागमा चट्याङ र हावाहुरी चल्ने सम्भावना रहेको मौसमविद् लामिछानेले बताउनुभयो । उहाँले भन्नुभयो– ‘यो वर्षामा हिमाली र केही पहाडी भेगमा हिउँ पर्न सक्छ ।’ भोलि बिहीवार देशको हिमाली र पहाडी भू–भागमा साधारणतया बादल लाग्ने जनाएको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका तराई भू–भागमा साधारणतया बादल तथा बाँकी तराई भू–भागमा आंशिक बादल लाग्नेछ ।
कोशी र बागमती प्रदेशका हिमाली भू–भागका थोरै स्थानमा तथा गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको जनाएको छ । महाशाखाले जारी गरेको बुलेटिनमा सबै प्रदेशमा वर्षाको सम्भावना देखाएको छ । ‘अबको ४ दिनसम्म सामान्यदेखि मध्यम वर्षा हुने सम्भावना रहेको छ’ –मौसमविद् लामिछानेले भन्नुभयो ।











प्रतिक्रिया