समाज र संस्कृतिको कथा बोकेर

जिरी पुग्दै रत्यौली


नेपाली समाज, सम्बन्ध र संस्कृतिको कथा पर्दामा ल्याउने तयारीमा रहेको फिल्म रत्यौलीको छायाकन सुरु भएको छ।
मुस्कान ढकालको लेखन तथा निर्देशनमा बन्न लागेको फिल्मको मंगलवार बिहान पशुपति क्षेत्रमा पूजा गर्दै छायाकन शुभारम्भ गरिएको हो। छायाकनको सुरुवात काठमाडौंमा हुनेछ। दुई दिन काठमाडौंमा फिल्मका दृश्य खिचेपछि निर्माण टिम दोलखाको जिरीतर्फ जानेछ। त्यसपछि करिब एक महिनासम्म जिरी आसपासका विभिन्न स्थानमा फिल्म खिचिने निर्माणपक्षले जनाएको छ।

रत्यौलीले नेपाली समाजको सामाजिक सम्बन्ध र सांस्कृतिक परिवेशलाई कथाको आधार बनाएको छ। यही विषयलाई पर्दामा उतार्न काठमाडौंस“गै जिरीको परिवेशलाई फिल्ममा प्रयोग गर्न लागिएको हो।फिल्ममा विजय बराल, पूजा शर्मा, लक्ष्मी बर्देवा, अर्जुन देवसन, सम्रान्त थापा, निर्भिक भण्डारी, अल्बिन श्रेष्ठ, कायरा कार्की, सुनिल तामाङ, माया थामी, सन्ध्या नेपाल, संगीता थापा मगर, सानू पाण्डेय, एभोन राज उप्रेती, कल्पना थापालगायत कलाकारको अभिनय गर्नेछन्।

नाइटेङ्गल इन्टरटेनमेन्ट प्रालि र पूजा शर्मा प्रोडक्सनको संयुक्त ब्यानरमा पूजा शर्माले प्रस्तुत र सुरज आचार्यले निर्माण गर्ने फिल्ममा अर्जुन पोखरेल र सुरेश अधिकारीको संगीत तथा हरि हुमागार्इं र उत्तम हुमागाईंको डीओपी रहनेछ। निर्माणको सुरुवातसँगै फिल्मको प्रदर्शन मिति पनि तय भइसकेको छ। फिल्म आगामी फागुन २१ गतेदेखि रिलिजमा आउनेछ।