हात्तीको कथामार्फत समाजका सीमामाथि प्रश्न उठाउँदै तिनीहरू


हात्तीलाई पूजा गर्ने समाजले त्यही हात्तीलाई जंगलको सीमाभित्र राख्छ। यही विरोधाभासलाई आधार बनाएर सिमान्तकृत समुदायमाथि समाजले निर्माण गरेका सीमा र नियन्त्रणको कथा फिल्म तिनीहरू ः एलिफेन्ट्स इन द फगले प्रस्तुत गरेको छ।

शुक्रवारदेखि रिलिजमा आउन लागेको फिल्म नेपाली सिनेमामा हात्तीलाई कथाको महत्वपूर्ण पात्र र बिम्बका रूपमा प्रयोग गर्ने पहिलो फिल्म भएको निर्माणपक्षको दाबी छ। यद्यपि फिल्म पूरै हात्तीको कथामा मात्र केन्द्रित भने छैन। फिल्ममा हात्ती मूल कथास“ग जोडिएर आउने महत्वपूर्ण पात्र हो। यसले प्रकृतिमाथि मानिसले बनाएका सीमास“गै महिला तथा सिमान्तकृत समुदायमाथि समाजले निर्माण गरेका अदृश्य सीमालाई समेत प्रतिनिधित्व गर्छ।

निर्माता अनुप पौडेलका अनुसार हात्ती फिल्मको पात्र मात्र नभई एउटा शक्तिशाली विम्ब हो।
फिल्मको कथा जंगली हात्तीको आतंकबाट प्रभावित बस्तीमा बसोबास गर्ने अल्पसंख्यक समुदायको जीवनस“ग जोडिएको छ। यही परिवेशमा मुख्य पात्र पिरती, उनकी छोरी र उनीहरूको संसारलाई फिल्मले प्रस्तुत गरेको छ। मानिसले आफ्नो वरिपरि बनाएका सीमा र नियन्त्रणलाई हात्तीको कथास“ग जोडिएको फिल्मले प्रकृति, महिला र सिमान्तकृत समुदायमाथि समाजले निर्धारण गरेका सीमामाथि प्रश्न उठाउने निर्माणपक्षको भनाइ छ।

अविनाश विक्रम शाहको निर्देशन रहेको फिल्ममा पटकथा पनि शाहकै छ भने कथा निर्देशब शाह र सन्दीप बादलको हो। कान्ससहित विभिन्न अन्तर्राष्ट्रिय फिल्म फेस्टिभलमा पुगेको फिल्मले कान्समा जुरी च्वाइस अवार्डसमेत जितिसकेको छ।
फिल्ममा गौरी मल्ल, माओत्से गुरुङ, पुष्पा थिङ लामा, दीपिका यादव, जस्मिन विश्वकर्मा, एलिज घिमिरे, महिमा नवबाग, आकांक्षा कार्कीलगायतको अभिनय छ।

नेपालसहित फ्रान्स, जर्मनी, ब्राजिल र नर्वेका निर्माण संस्थाको सहकार्यमा फिल्म निर्माण गरिएको हो। नेपालबाट अनुप पौडेल, फ्रान्सबाट जस्टिन पेचबर्टी र डेमियन मेघेर्बी तथा जर्मनीबाट माइकल हेनरिक्स निर्माता रहेका छन्। फिल्मको नेपाल प्रिमियरबाट उठ्ने अनुमानित ७ लाख र निर्माताहरूको तर्फबाट थप दुई लाख रुपैया“ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्माण टिमले जनाएको छ। अन्तर्राष्ट्रिय सह–निर्माताहरूले पनि भोटेकोसी बाढी प्रभावितका लागि सहयोग जुटाउने निर्देशक शाहले बताएका छन्।