सर्लाही।
बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता माध्यमिक विद्यालयमा प्रधानाध्यापक र विद्यार्थीबीच भएको विवादले उग्ररूप लिएपछि प्रधानाध्यापक कुटिएका छन् । घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।
विद्यालयमा सरसफाइ गराउने विषयलाई लिएर प्रधानाध्यापक वीरेन्द्र झा र विद्यार्थीबीच विवाद भएको थियो । त्यसक्रममा प्रधानाध्यापकले एक छात्रामाथि गालीगलौज तथा दुर्व्यवहार गरेको आरोप सार्वजनिक भएपछि घटना उग्र बनेको विद्यार्थीले बताएका छन् । उक्त आरोपको स्वतन्त्र पुष्टि भने हुन बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय, मलंगवाका अनुसार विद्यार्थी र शिक्षकबीच उक्त विषयमा छलफल भइरहेका बेला प्रधानाध्यापक झामाथि कुटपिट भएको थियो । घटनामा प्रधानाध्यापक झा सामान्य घाइते भएको र उहाँको निजी सवारीसाधनसमेत तोडफोड भएको प्रहरीले जनाएको छ ।
प्रहरीले घटनामा संलग्न रहेको आरोपमा बलरा नगरपालिका–२ का २० वर्षीय अभिषेक कापडलाई पक्राउ गरेको जनाएको छ । घटनामा अन्य व्यक्तिहरूको समेत संलग्नता रहेको हुनसक्ने भएकाले उनीहरूको पहिचान तथा भूमिकाबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता वेदप्रसाद गौतमले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।
घटनासम्बन्धी भिडियो तथा सामग्री सामाजिक सञ्जालमा सार्वजनिक भएपछि प्रहरीले घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।












प्रतिक्रिया