रसुवा । प्रकृतिको अनुपम उपहारले भरिपूर्ण नेपालका अनेकौँ कुना–कन्दरा अझै पनि पर्यटकीय नक्सामा मूलधारमा आउन सकेका छैनन् । तिनै मध्येको एक उदीयमान र मनमोहक गन्तव्य हो– रसुवा जिल्लाको गोसाइँकुण्ड गाउँपालिका वडा नम्बर ६ स्थित नागुङ गाउँपछाडिको प्राकृतिक झरना र ताल ।
अग्लो र विशाल चट्टानी पहराबाट कलकल बग्ने यो आकर्षक झरना र यसको फेदीमा रहेको शान्त ताल यति बेला स्थानीयवासी र रैथाने गोठालाहरूको मात्रै मन भुलाउने माध्यम बनेको छ । धार्मिक तथा ऐतिहासिक पर्यटकीय क्षेत्र गोसाइँकुण्ड मार्गकै आसपास पर्ने यो क्षेत्र प्रचार–प्रसार र पूर्वाधार अभावका कारण लामो समयदेखि ओझेलमा पर्दै आएको छ ।
यहाँको मनमोहक झरना पहाडी चट्टान छिचोल्दै दूधको धाराझैँ बहेको देखिन्छ । यस झरनाको फेदमा रहेको कन्चन तालमा पर्यटकहरु आनन्द लिँदै रमाउन सक्छन् । झरनावरपरको हरियाली, रैथाने वनस्पति र हिमाली चिसो हावापानी यहाँका विविधता हुन् । कोलाहलबाट टाढा, प्रकृतिको काखमा ध्यान र मानसिक शान्ति प्राप्त गर्न चाहनेका लागि यो उत्तम स्थान मानिन्छ ।
यस क्षेत्रलाई थोरै मात्र व्यवस्थित गर्न सके आन्तरिक तथा बाह्य पर्यटकका लागि यो एउटा उत्कृष्ट ‘साइड–ट्रेक’ (सहायक गन्तव्य) बन्न सक्छ । लाङटाङ राष्ट्रिय निकुञ्ज र राष्ट्रिय गौरवको तातोपानी, केरुङ नाका जाने मार्गसँग जोडिएका कारण यस झरना र तालले रसुवाको पर्यटनमा नयाँ आयाम थप्ने देखिन्छ ।
यो प्राकृतिक सम्पदालाई प्रमुख पर्यटकीय हब बनाउन स्थानीय सरकार र सरोकारवाला निकायले ध्यान दिनु जरुरी छ । नागुङ गाउँदेखि झरना र तालसम्म पुग्ने सुरक्षित पदमार्ग र व्यवस्थित रेलिङ निर्माण गरी पूर्वाधार विकास गर्नुपर्ने देखिन्छ । वृत्तचित्र, सामाजिक सञ्जाल र सञ्चारमाध्यममार्फत ओझेलमा परेको यो गन्तव्यको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय प्रवद्र्धन गर्न प्रचार–प्रसार गर्नु जरुरी छ ।
यस्तै पर्यटकको आवागमन बढेसँगै नागुङ गाउँमा होमस्टे सञ्चालन गरी स्थानीयको आर्थिक जीवनस्तरमा सुधार ल्याउने योजना ल्याउन सक्नुपर्छ । जैविक र प्राकृतिक रूपमा धनी गोसाइँकुण्ड गाउँपालिका–६ को यो झरना र ताललाई संरक्षण, संवद्र्धन र सही व्यवस्थापन गर्न सके यो क्षेत्र रसुवाकै एउटा चम्किलो पर्यटकीय केन्द्र बन्न सक्नेमा दुई मत छैन ।












प्रतिक्रिया