रसुवाको भोटेकोशीसहित विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि विभिन्न क्षेत्रका कलाकारले सहयोगको हात अघि बढाएका छन्। बाढीपहिरोमा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जलि अर्पण गर्दै कलाकारहरूले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गर्नुका साथै राहत तथा उद्धारका लागि आर्थिक सहयोगसमेत जुटाउन थालेका छन्।
कतिपय कलाकारले आफूले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरेको रकमको स्क्रिनसट सामाजिक सञ्जालमा सार्वजनिक गर्दै अरूलाई पनि सहयोग गर्न प्रेरित गरिरहेका छन्। कतिपय कलाकारले भने आफूले सहयोग गरेको रकमको विवरण ब्लर गरेर सार्वजनिक गरेका छन्। सहयोगको रकमभन्दा पनि विपद्को समयमा सबैले आफ्नो क्षमताअनुसार सहयोग गर्नुपर्छ भन्ने सन्देश दिन उनीहरूले यस्तो शैली अपनाएका हुन्।
कलाकारहरू सामाजिक सञ्जालमा सहयोगको अपिल गर्नेमात्र नभई आफैं प्रभावित क्षेत्रमा पुगेर राहत सामग्री वितरणमा समेत सक्रिय देखिएका छन्। उनीहरूले बाढीपहिरोबाट प्रभावित परिवारलाई खाद्यान्न, लत्ताकपडालगायतका आवश्यक सामग्री उपलब्ध गराउ“दै राहतमा साथ दिइरहेका छन्। विपद्को समयमा कलाकारहरूले देखाएको यो सक्रियता मनोरञ्जन क्षेत्र सामाजिक उत्तरदायित्वप्रति पनि उत्तिकै संवेदनशील रहेको सन्देशका रूपमा देखिएको छ। गत शुक्रवारबाट रिलीजमा आएको फिल्म पार्वतीको टिमले घोषणाबमोजिम बाढीपीडितको राहतका लागि ११ लाख ३ हजार २ सय ७० रुपैयाँ सहयोग गरेको छ।
फिल्मको घरेलु बक्सअफिसबाट पहिलो दिन प्राप्त निर्माताको हिस्साबापतको उक्त रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो। अर्थ मन्त्रालय पुगेर फिल्मकी निर्देशक नीता ढुंगाना, निर्माता हरिहर अधिकारी, कार्यकारी निर्माता शंकर पाण्डे तथा वितरक करण श्रेष्ठले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई उक्त रकम हस्तान्तरण गरेका हुन्।
पार्वतीले गत शुक्रवार २५ लाख ९३ हजार रुपैया“ ग्रस कलेक्सन गरेको थियो। सोहीमध्ये निर्माताको भागको ११ लाख ३ हजार २ सय ७० रुपैया बाढीपीडितका लागि कोषमा प्रदान गरिएको हो। निर्देशक ढुंगानाले विपत्तिमा परेका नागरिकलाई राहत पुगोस् भन्ने उद्देश्यले फिल्मबाट प्राप्त रकम सरकारी कोषमा जम्मा गरेको बताइन्। उनले फिल्म प्रदर्शनमा रहेसम्म निर्माताको हिस्साबाट ५ प्रतिशत रकम बाढीपीडितका लागि सहयोग गर्ने निर्णयसमेत गरिसकेको जानकारी दिइन्। निर्माता हरिहर अधिकारीले बाढीपीडितका लागि छुट्टै सहयोगसमेत गरिएको बताए। ‘यसबाहेक छुट्टै कोषको क्यूआरमार्फत रकम सहयोग गरेका छौँ’ उनले जानकारी गराए।
फिल्मका अर्का अभिनेता तथा बालगायक अशोक दर्जीले पनि बाढीपीडितका लागि २५ हजार रुपैयाँ सहयोग गरेका छन्।
बाढी पहिरोकै प्रलयकारी घटनाका कारण गीतकार संघ नेपालले आप्mनो वार्षिकोत्सव तथा सांगीतिक कार्यक्रम स्थगित गर्दै विपद् पीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ लाख १५ हजार रुपैयाँ सहयोग रकम जम्मा गरेको छ।












प्रतिक्रिया